प्रेम सुनार
सुर्खेत: पञ्चपुरी नगरपालिका –६ को वडा कार्यालयले आफ्नो वडाको सेवाक्षेत्र भित्रका नागरिकलाई सेवा दिन घरदैलो कार्यक्रम सुरु गरेको छ । वडामा रहेका स्वास्थ इकाई, संघ संस्था लगायतको टिमले सोमबार वडा नम्बर ६ को खमारी बस्तीमा घरदैलो गरेको हो ।
भौगोलिक विकटताका कारण नागरिकहरु वडा कार्यालयसम्म पुग्न कठिनाई हुने भएको कारण टोलमै पुगेर स्वास्थ्य, शिक्षा, योजना र वडा कार्यालयले दिने सेवाका बारेमा जानकारी दिएको वडा सचिव यमुना लम्सालले जानकारी दिए ।
टोलमै पुगेर जनताका समस्या र आवश्यकताका बारेमा जानकारी लिन र दिन सजिलो भएको वडा सदस्य तथा नगर कार्यपालिका सदस्य अनिता बिकले बताइन् ।
घरदैलो कार्यक्रममा एचाइभी संक्रमितहरुलाइ नियमित औषधि सेवन गर्न आग्रह गर्नुका साथै ८० भन्दा बढि नागरिकलाइहरुलाई परामर्श समेत दिएको छ । टोलीले वडा कार्यालयबाट संचालन गरिएको बिद्यालयको अनुमन समेत गरेको छ । मंगलबार वडा नम्बर ६ को आधारभुत स्वास्थ्य इकाई चतुरेको कार्यालयमा स्वास्थ्य शिविर समेत संचालन हुने भएको छ ।
खुलानजर । १९ मंसिर २०७९, सोमबार १९:४३