कर्णालीबाट २१ भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दायर


सुर्खेत: चालु आर्थिक बर्षको हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट अनुसन्धान भई कर्णाली प्रदेशबाट भ्रष्टाचारका २१ मुद्दा विशेष अदालतमा दायर भएका छन् । शुक्रबार भ्रष्टाचार विरुद्धको अन्तराष्टिÈय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले औपचारिक कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराएको हो ।
गएको आर्थिक बर्षमा कर्णालीबाट १२ मुद्दा विशेष अदालतमा दायर भएकोमा यो बर्ष हालसम्म मुगुबाट ७, कालिकोटबाट ४, सुर्खेतबाट ४, सल्यानबाट ३ साथै दैलेख, जुम्ला र हुम्लाबाट १—१ गरी २१ मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतका उपसचिव भेषराज रिजालले बताए ।
कार्यक्रममा बोल्दै उपसचिव रिजालले लोकतन्त्र र विभिन्न शासन कमजोर हुनु भ्रष्टाचारको मुख्य कारण रहेको बताए । गत सालको रिपोर्टमा दक्षिण एसियामा नेपाल धेरै भ्रष्टाचार हुने मुलुकको सूचिमा ३३ अंकसहित ५ औं स्थानमा रहेको बताउदै उनले सार्वजनिक खरिद, उपभोक्ता समिती, प्रशासनिक कार्य, सामाजिक सुरक्षा, छात्रवृति र प्राकृतिक स्रोत साधन सम्बन्धि मुद्दाहरु धेरै आउने गरको बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि तिवारी प्रविधिमा सुधार ल्याउन सके भष्टाचार न्यूनिकरण हुने बताए ।
अमरज्योति नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर पौडेलले कतिपय कुराहरु सरकारले तयार गर्ने नीति नियम र कानुन अनुसार संघ संस्था र त्यसको नेतृत्व गर्ने व्यक्तिहरुले भ्रष्टाचारको उजुरीमा दुःख पाउने गरेको बताए ।
भ्रष्टाचार न्यूनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जुट्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
यस्तै कार्यालयबाट हालसम्म विस्तृत अनुसन्धान गर्न २२५ उजुरी तोकिएकोमा ४५ उजुरीको अनुसन्धान सम्पन्न गरी आयोगमा पेश भएको र १८० उजुरीमा विस्तृत अनुसन्धान भैरहेको तथा बाँकि रहेका छन् ।