आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया

सुर्खेत: विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा मानवअधिकार रक्षकबिच आत्महत्या रोकथाम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इनसेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा मंगलबार वीरेन्द्रनगरमा अन्तरक्रिया सम्पन्न गरिएको हो । अन्तरक्रिया कार्यक्रममा आत्महत्या रोकथाम लागि गर्न सकिने प्रयास र मानसिक रोगको पहिचानका विषयमा सुर्खेत स्थित २५ जना सहभागीहरुसँग अन्तरक्रिया गरिएको इन्सेक अधिकार २ परियोजनाका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिए । कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले आत्महत्याको मुख्य कारण मानसिक समस्या भएकोले व्यवहारमा सकरात्मक हुनुपर्ने बताए । उनले आत्महत्या रोकथामका लागि मानव अधिकार रक्षकहरुले समुदायमा सचेतना फैलाउन आवश्यक रहेको बताए ।
त्यस्तै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले सामाजिक, आर्थिक र अचेतनाका कारण समाजमा आत्महत्याको दर बढ्दो रहेकोले त्यसको न्यूनिकरणका लागि सरकारी तवरबाट पनि ठोस नीति तथा कार्यक्रम ल्याई सचेतना जगाउनुपर्नेम जोड दिए । उनले अरुको अधिकारको लागि वहस, पैरवी गर्ने मानव अधिकार रक्षकहरु पनि मानसिक समस्याको जोखिममा हुन सक्ने भएकोले त्यसको जोखिम न्यूनिकरण गर्नका लागि यो अन्तरक्रियाको आयोजना गरिएको बताए । कार्यक्रमका सहभागी पत्रकार र मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधिहरुले हात्महत्या न्यूनिकरण गर्नमा सरकार, समुदाय र नागरिक समाज एक ढिक्का भएर लाग्नुपर्ने सुझाव दिएका थिए । मानसिक स्वास्थ्य र आत्महत्या सम्बन्धि प्रस्तुतिकरण सिएमसिका कार्यक्रम संयाेजक लक्ष्मण नाथले गरेका थिए ।