तीन पालिकाका साढे आठ हजार महिलाले पाए निशुल्क स्वास्थ्य सेवा

सुर्खेत: पूर्वी सुर्खेतको तीन पालिकाका आठ हजार ५१० जना महिलाहरुले निशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका महिलाहरुले निशुल्क महिला स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर ‘स्क्रिनिङ’ मा महिलाहरुले निशुल्क स्वास्थ्य सेवा पाएका हुन् ।

प्रतिनिधि सभा सदस्य तथा पुर्व गृह मन्त्री पुर्णबहादुर खड्काको पहल, नेपाल एपीएफ अस्पतालको आयोजना र लायन्स क्लव अफ काठमाण्डौं तथा मेडी क्वेष्ट ल्याबरोटरी क्लिनिक प्रालिको सहआयोजनामा फागुन ७ गतेदेखि गुर्भाकोटबाट सुरु भएको शिविर आइतबार भेरीगंगामा सम्पन्न गरिएको छ ।
पाँच दिनसम्म गुर्भाकोटमा दुई हजार ८३४जना , चारदिनसम्म लेकवेशीमा दुई हजार २११ र चारदिनसम्म भेरीगंगामा चलेको शिविरमा तीनहजार ४६५ जना महिलाले पाठेघर र स्तनको क्यान्सरको निशुल्क परिक्षण गरेका छन् ।
पहिलो चरणमा उपस्थित महिलाहरुलाई पाठेघर खस्ने, पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरिएको ससस्त्र प्रहरी बल अस्पताल काठमाण्डौंकी पाठेघर क्यान्सर विशेषज्ञ प्रहरी उपरिक्षक डाक्टर सौजन्य कर्माचार्यले बताइन् । उनका अनुसार यस्तो जनचेतनामूलक कक्षामा ८९०६ जना उपस्थित भएका थिए ।

‘हामीले पहिलो चरणमा जुन स्थानीय तहमा शिविर सञ्चालन हुने हो सोही स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम दिएर महिला दिदीबहिनीहरुलाई जनचेतनामूलक कार्यक्रम गरेर चेकजाँच गर्यौ,’डा. कर्माचार्यले भनिन्, ‘करिब ९० प्रतिशत महिलाहरु स्वस्फुर्तरुपमा सेतोपापाठेघर तथा स्तनको क्यान्स जाँच गर्न तयार भए ।’
महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतोपानी बग्ने, योनीको संक्रमण, आङ खस्ने समस्याका महिलाहरुले चेकजाँच गरिएको डा. कर्माचार्यले बताइन् ।
‘जाँच गर्न आएका तीनै पालिकाका तीन हजार महिलामा पाठेघर र यौन सम्बन्धी संक्रमण देखियो, जसमध्ये ५० प्रतिशत महिलाहरुमा आङ खस्ने समस्या देखिएको छ,’डा. कर्माचार्य भन्छिन्, ‘ १२ जनामा क्यान्सको संका गरिएकोले उनीहरुलाई सुशील कोइराला अस्पतालमा रेफर गरेका छौं । दुई जनालाई क्यान्सर देखियो र चार जनामा स्तनको क्यान्सर देखा पर्यो उहाँहरुलाई सम्बन्धीत अस्पतालमा निशुल्क उपचारसहित रेफार गरेका छौं भने सामान्य समस्या भएकालाई प्रदेश अस्पताल सुर्खेतमा पठाएका छौं ।’
आफ्नो जीवनकालमा नजाँचेका ८० प्रतिशत महिलाहरुका समस्या उक्त क्षेत्रमा फेला परेको र बालविवाहले महिलाहरुमा समस्या देखिएको उनको भनाई छ ।

शिविरमा गुर्भाकोले ६७ जना, लेकवेशीले २५ जना र भेरीगंगाले २७ जना स्वास्थ्यकर्मी खटाएको थियो । नेपाली कांग्रेसका सुर्खेत उपसभापति बिष्णु खड्काले यो शिविरले ग्रामिण क्षेत्रका बाहिर गएर चेकजाँज गर्न नसक्ने महिलाहरुलाई सहज भएको बताए ।