सुर्खेत: पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समुहद्धारा दलित सशक्तिकरण ऐनको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
शुक्रबार इन्सेकद्धारा गठित मानव अधिकार समुहले संयुक्त राष्ट्र संघको वडापत्र तथा नेपालको मुल कानुनको रुपमा रहेको यस संवैधानिक व्यवस्था अनुरुप यस पालिकामा दलित,जातिय छुवाछुत तथा अन्य विभेदका कानुनहरु कार्यान्वयन हुन नसक्दा पालिकामा बसोबास गर्ने दलित समुदायका नागरिकहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनले प्रत्याभुत गरेका हक अधिकार उपभोग गर्नबाट अझैपनि पुर्णरुपमा उपभोग गर्नबाट बञ्चित हुनु परेको भन्दै ज्ञापन पत्र बुझाएको हो ।
समुहले बुझाएको ज्ञापन पत्रमा परम्परागत सोच, धार्मिक मान्यता र कानुनको अज्ञानता र दलित समुदायमा सशक्तिकरणको अभावमा सो समुदाय राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले प्रत्याभुत गरेका हक अधिकार उपभोग गर्न बाट बञ्चित हुनु परेको भन्दै जनताको नजीकको सरकार तथा अभिभावकको रुपमा रहेको पञ्चपुरी नगरपालिकाका जनतालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुनले प्रत्याभुत गरेका दलितका हक अधिकार उपभोगका लागि सुनिश्चित गर्न दलित सशक्तिकरण ऐनको तत्काल खाँचो रहेको औंल्याएको छ ।
पालिकामा बसोबास गर्ने दलितहरुको सबैखाले हक अधिकार सुनिश्चितताको लागि यथासिघ्र दलित सशक्तिकरण ऐन निमार्ण गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनका लागि नगरप्रमुख लालविर भण्डारी र उपप्रमुख मुक्तिदेवी रेग्मी पुरीलाई समुहका संयोजक अमर कार्कीसहितको टोलीले ज्ञापन पत्र बुझाएको छ ।
उक्त पत्र बुझ्दै नगर प्रमुख लाविर भण्डारीले दलित सशक्तिकरण ऐन ल्याएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । यस्तै उपप्रमुख मुक्तिदेवी रेग्मी पुरीले नगर सभामा छलफल गरेर सरोकारवालासँग समन्वय गर्ने बताइन् ।
सबै किसिमको जातिय भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासन्धी १९६५ जारी गरिएको संयुंक्त, राष्ट्र संघको वडापत्रमा उल्लेख भएको छ । नेपालको संविधान मौलिक हक भाग ३ को धारा ४० दलितको हक अन्र्तगत उपधारा १ मा राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशीको सिद्धान्तको आधारमा सहभागी हुने तथा सार्वजनिक सेवा लगायत रोजगारका अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताको लागि कानुन बमोजिम विशेष व्यवस्था गरिने उल्लेख गरिएको छ । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा समुहका सदस्य मोतिप्रसाद सापकोटा, डिल्लीराम घिमिरेसहित इन्सेकका जिल्ला सहजकर्ता ललिता बिकको सहभागिता रहेको थियो ।
खुलानजर । २८ बैशाख २०८१, शुक्रबार २०:२०