सय जना क्षमता भएको कारागारमा बस्छन्  ३९० जना कैदी र थुनुवा

सुर्खेत: जिल्ला कारागार सुर्खेतको क्षमता एक सय जनाको हो । ७० पुरुष जना र ३० जना महिलाहरु राख्ने क्षमता भएको यस कारागारमा मंगलबार साँझसम्म तीन सय ९० जना कैदी तथा थुनुवा राखिएको छ । जसमा तीन सय ४७ जना पुरुष छन् भने ४३ जना महिलाहरु राखिएको कारागारका सूचना अधिकारी (नायब सुब्बा) भुवन गौतमले जानकारी दिए ।
उनका अनुसार पुर्पक्षका लागि थुनामा १०७ जना पुरुष र पाँच महिला छन् । त्यस्तै पुरुष कैदी दुई सय ४० र महिला ३८ रहेका छन् । जसमा एक आश्रित बालक र बालिका छन् ।
२०६६ मा माटो र ढंगाबाट बनाइएका पुराना भवनहरु भत्काएर अहिले पक्की भवनमा उनीहरुलाई बसाइएको छ । तर, पनि पछिल्लो समय अपराधको मात्रा बढेकोले उक्त भवनले थेग्न सक्ने स्थिति नरहेको सुचना अधिकारी गौतमले बताए ।
‘पहिलाको भन्दा अहिले एकदमै सहज भएको छ । पहिला त पालमा राख्नुपर्ने अवस्था थियो, नयाँ भवन बनेपनि त्यसैमा सबैलाई व्यवस्थापन गरेका छौं,’उनले भने, ‘यो अहिले बनेको भवन पनि पुरानो ‘इष्टिमेट’ अनुसार भएकोले केही समस्या त भइहाल्छ । फेरि अर्को कुरा पछिल्लो समय अपराधको मात्रा पनि बढ्दो छ । कारागार नभएका र उपचार गर्नुपर्ने बिरामीहरु यहाँ रेफर हुँदा पनि समस्या भएको हो ।’
सुचना अधिकारी गौतमका अनुसार मुगु र हुम्लामा कारागार छैन, जाजरकोटमा महिलाका लागि बन्दी गृह नहुँदा त्यहाँका सबै थुनुवा र कैदीलाई सुर्खेत नै ल्याउनुपर्छ ।
कर्तव्य ज्यानमा पुर्पक्षका लागि १४ जना थुनुवा र २७ कैदी गरी ४१ पुरुष हुँदा एक थुनुवा र १३ कैदी छन् । ज्यान मार्ने उद्योगमा दुई थुनुवा र ६ कैदी छन् । कर्तव्य मार्ने उद्योगमा महिला भने छैनन् । जबरजस्ती करणीमा ३८ पुरुष थुनुवा र ७० कैदी छन् । करणी मा एक जना महिला छन् ।
त्यस्तै जबरजस्ती करणी उद्योगमा दुई पुरुष थुनुवा र दुई कैदी छन् । लागूऔषधमा २० पुरुष थुनुवा र ६१ कैदी छन् । लागूऔषधमै दुई महिला थुनुवा र १२ कैदी छन् । सवारी ज्यानमा तीन्न पुरुष थुनुवा र नौं कैदी छन् ।


सार्वजनिक अपराध र अभद्र व्यवहारमा एक पुरुष थुनुवा छन् । बहुविाह र बालविवाहमा सात थुनुवा पुरुष र १५ कैदी छन् । यस्तै बहुविवाहमा एक महिला थुनुवा र आठ कैदी छन् । वन पैदावरमा एक कैदी पुरुष रहेका छन् । संरक्षित वन्यजन्तु मा दुई पुरुष थुनुवा र सात कैदी छन् । मानव बेचविखन दुई कैदी पुरुष, एक थुनुवा र दुई महिला कैदी छन् । त्यसैगरी किर्ते र सरकारी छापको दुरुपयोगमा तीन पुरुष र दुई महिला कैदीबन्दी छन् ।
ठगी÷लेनदेनमा तीन पुरुष थुनुवा र ६ कैदी छन् । ठगीमै एक महिला कैदी छन् । कुटपीट अंगभंगमा एक पुरुष थुनुवा छन् ।
चोरीमा १५ पुरुष थुनुवा र २७ कैदी छन् । सैनिक अनुशासनमा एक जना पुरुष कैदी छन् । त्यस्तै विविधमा तीन जना पुरुष कैदी छन् ।
हातहतियार खरखजना÷ खोटाचलन र अपहरण तथा शरिर बन्धकमा भने थुनुवा र कैदी छैनन् ।