सुर्खेत: वीरेन्द्रनगर–१० बुदबुदी टोलस्थित बारीमा मंगलबार दिउँसो सुर्खेतमा एक पुरूषको शव भेटियाे ।
शव भेटिएपछि साँझ ५ बजे स्थानीयले प्रहरीलाई खबर गरे ।खबर पाए लगत्तै घटनास्थल पुगेको सुर्खेत प्रहरीले घाँटी रेटिएको अवस्थामा पुरूषको शव देखेपछि घटनास्थलकाे मुचुल्का तयार गरि आवश्यक अनुसन्धानका लागि कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली बोलायाे ।
शव भेटिएको केही समय राति मात्रै उक्त शवकाे पहिचान खुल्याे । मृत फेला परेका उनी पुरूष वीरेन्द्रनगर नगरपालिका –१० दीपनगर टोलका ४१ वर्षीय ध्रुव शाही हुन् ।
उनको घाँटीको अघिल्लो भागमा धारिलो हतियारले काटिएको भेटिएको थियो। उनको शव भेटिएको नजिकै चक्कु फेला पर्नु, शव भेटिएको ठाउँ नजिकै बस्ती हुनु, घरबाट निस्किएको केही घण्टामै मृत भेटिनुले यो घटना रहस्यमय देखिएको छ। तर, उक्त घटना हत्या कि आत्महत्या भन्नेमा शंका उब्जिएको छ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप अनुसन्धान गरिरहेको छ। तर, त्यसकाे तथ्य अहिलेसम्म पत्ता लागिसकेकाे छैन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार मृत भेटिएका शाही मंगलबार बिहान १० बजेमात्र घरबाट निस्किएका थिए । उनी नजिकै खजुरामा रहेको दिदीको घरमा जान भनेर निस्किएका थिए ।
‘बिहान १० बजेतिर आफ्नो घरबाट निस्किएर दिदीको घरमा गएका रहेछन्, दिदीको घरबाट भने साढे ११ बजे निस्किएका थिए, भन्ने कुरा हामीले परिवारसँग बुझ्याैं,’ डिएसपी शाहीले भने, ‘शव भेटिएको वरिपरि बस्ती छ, नजिकै चक्कु पनि भेटिएकाले झट्ट हेर्दा हत्याजस्तो नदेखिए पनि थप कुरा अनुसन्धानबाटै खुल्नेछ ।’
घटनापछि प्रहरीले मृतकका परिवारसँग सोधपुछ गरेको थियो । परिवारले उनमा मानसिक तनाव भइरहने समस्या भएको र उनले डिप्रेसनकाे औषधी खाने गरेकाे डिएसपी शाहीले बताए ।
परिवारले प्रहरीलाई भनेअनुसार शाही र उनकी श्रीमती मंगलबार बिहान खाना खानुअघि औषधि लिन वीरेन्द्रनगर बजारमा रहेको माया नर्सिङ होममा गएका थिए।
अस्पतालबाट फर्किएपछि खाना खाएर शाही दिदीको घर जान भनेर हिँडेका थिए ।
दिदीको घरबाट निस्किएको समय साढे ११ बजेदेखि शव भेटिँदासम्मको समय उनले कहाँ बिताए भन्ने बारेमा भने खोजी भइरहेको डिएसपी शाहीकाे भनाइ छ ।
मृत भेटिएका शाही सुरूमा नेपाली सेनामा कार्यरत थिए। उनले १३ वर्ष जागिर गरेर छोडेका थिए। त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए।
कतारबाट फर्किएपछि उनले गाडी किनेर चलाएका थिए। उक्त गाडी पनि ३–४ महिनामै बेचेका थिए। त्यसयता अहिले पुनः वैदेशिक रोजगारीका लागि जाने याेजना बनाएका थिए । उनका एक छोरा र एक छोरी छन्। शाहीको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।
खुलानजर । १ चैत्र २०७९, बुधबार १३:५५