काठमाडौं :देशैभर भ्यूटावर, विमान नउड्ने विमानस्थल वा मूर्ति स्थापनामा रकम छरछार भइरहँदा ग्रामीण जनजीवनको जीवनमार्ग झोलुंगे पुल भने सरकारी बेवास्ताको शिकार बनेका छन्।पहाडका कुनाकाप्चा जोड्ने झोलुंगे पुल ग्रामीण जनजीवनको अभिन्न मार्ग हो। देशको पहाडी क्षेत्रमा खनिएका मोटरबाटोमा गाडीका पांग्रा गुड्न थाले पनि दुई पहाडबीचको दूरी घटाउने वा खोला तार्ने झोलुंगे पुलको महत्त्व घटेको छैन। बजेट अभाव र सरकारी बेवास्ताको परिणाम देशभरिका ७०० भन्दा बढी झोलुंगे पुल आपत्कालीन जीर्णोद्धारको पर्खाइमा छन्।
यससँगै थप हजारभन्दा बढी झोलुंगे पुललाई मर्मतसम्भारको आवश्यकता छ। तर ती वर्षौंदेखि बेवास्तामा परेका छन्, सरकारले मर्मतसम्भारका लागि रकमको बन्दोबस्त नगरेकाले। नागरिकको जीवनमार्गको जीर्णोद्धार प्राथमिकतामा नपरे पनि देशैभर भ्यूटावर, विमान नउड्ने विमानस्थल तथा मूर्ति स्थापनाको होडबाजी भने कायम छ। शहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागको झोलुंगे पुल शाखाका सिनियर डिभिजनल इन्जिनीयर प्रेम बस्याल झोलुंगे पुलको मर्मतसम्भारमा खर्च गर्न रकमै नभएको बताउँछन्। बस्याल भन्छन्, “बजेट अभावमा गत वर्ष तीन(चार वटा झोलुंगे पुलको मात्रै जीर्णोद्धार गर्न सक्यौं। यो वर्ष झन् बजेट नै छैन भन्ने हामीलाई बताइएको छ। नेपालमा झोलुंगे पुलको संख्या ११ हजार हाराहारीमा पुगिसकेको छ। स्वीश विकास तथा सहयोग एजेन्सीको सहायताको झोलुंगे पुल सहयोग एकाइले बनाएको अभिलेख प्रणालीले देशभरिका कम्तीमा ७०५ झोलुंगे पुल जीर्ण अवस्थामा पुगिसकेको र आपत्कालीन मर्मतसम्भार गरिनुपर्ने देखाएको छ। विदेशी सहायताको यो एकाइ बन्द भएकाले अहिले यो प्रणाली झोलुंगे पुल शाखा अन्तर्गत छ।
खुलानजर । ७ माघ २०८१, सोमबार ११:३२