सुर्खेत: आर्थिक अवस्था कमजोर भई कानूनी प्रक्रियामा जान समस्या भोग्दै आएकी लेकवेसी नगरपालिका–६ की आशिका बाँकाबललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले सहयोग गरेको छ ।
हाल वीरेन्दनगर–१२ बस्दै आएकी २२ वर्षीय उनलाई कानूनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरिएको हो ।
४० वर्षीय पति मनिष थापा मगरले आफूलाई पटक पटक शारीरक तथा मानसिक यातना दिदै आएको पीडितको गुनासो छ । कोभिडको समयमा मनिषले जबरजस्ती विवाह गरेपनि पछि घर परिवारसँग मिलेर आफुलाई विभिन्न लाल्छना लगाउन थालेको पीडितको भनाई छ ।
आफूलाई पटकपटक सासुले अपमान गर्नुको साथै सम्बन्ध बिच्छेदको धम्की दिने र खान लाउन नदिएको भन्दै पीडितले जिल्ला अदालत सुर्खेतमा भदौ १ गते अंश र खाना खर्चसहित सम्बन्ध विच्छेदको जाहेरी दिएकी थिइन् ।
उनले माइती पक्षको आर्थिक अवस्था कमजोर भएको र कानूनी ज्ञान नभएकाले न्याय खोज्न समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा साउन ३२ गते निवेदन दिएकी थिइन् ।
सोही निवेदनको आधारमा इन्सेकले तीन हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए ।
पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्रदेश संयोजक सुवेदीको भनाई छ ।
खुलानजर । १४ भाद्र २०८०, बिहीबार १३:५१