
सुर्खेत: कर्णाली प्रदेशका दश जिल्लामा २०७९ फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि, सुरक्षा योजना र प्रशासनिक तयारी तीव्र बन्दै गएको छ। भदौ २३ र २४ मा देशभर भएका जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक उथलपुथलले दलप्रति असन्तुष्टि बढेका बीच कर्णालीमा आगामी निर्वाचन थप संवेदनशील मानिएको छ।
निर्वाचन आयोगले मिति घोषणा गरेसँगै कर्णालीका सबै जिल्लामा मतदान केन्द्रको पहिचान, मतदाता अद्यावधिक, सुरक्षा योजनाको प्रारम्भिक रूपरेखा र दलगत अभियानको चहलपहल सुरु भइसकेको छ। तर कठिन भौगोलिक अवस्था, हिउँदे मौसम, सञ्चार अभाव र जनशक्ति व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखिएको छ।
दुर्गम भूगोल र मौसम प्रमुख चुनौती
कर्णालीका अधिकांश जिल्लामा वर्षेनी देखिने हिमपात, बाटो अवरुद्ध र लामो पैदल यात्रा यस वर्षको निर्वाचनमैदानमा पनि ठूलो चुनौती बनेको छ। मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालिकोटका हिमाली बस्तीहरूमा सवारी–सुविधा र सञ्चार पहुँच कमजोर हुँदा मतदान सामग्री ढुवानी र मतदाता परिचालन कठिन हुने अनुमान प्रशासनले गरेको छ।
मुगु, हुम्ला र जुम्लाका धेरै बासिन्दा हिउँदयाममा भारत वा तल्लो क्षेत्रमा बसाइ सर्ने भएकाले वास्तविक सहभागिता कम हुने खतरा छ। त्यस्तै सुर्खेत, दैलेख र सल्यानका हजारौँ युवा मंसिरपछि भारतको कालापहाड, रत्नागिरीलगायत क्षेत्रमा जाने भएकाले मत दुरुपयोगको आशंका पनि प्रशासन पक्षले जनाएको छ।
सुरक्षा संवेदनशीलता
जेनजी आन्दोलनपछि दल–प्रति अविश्वास बढेको कर्णालीमा युवा परिचालन र विरोध प्रदर्शन निर्वाचन सुरक्षित बनाउने प्रक्रियामा चुनौती बनेका छन्। सुर्खेत लगायतका शहरी क्षेत्रमा र्याली र प्रदर्शनका क्रममा झडप हुन सक्ने सुरक्षा निकायको मूल्यांकन छ।
कतिपय जिल्लामा अवैध हतियार, स्थानीय विवाद, समूहगत दबाब र पुराना राजनीतिक बिर्गलाहरूले पनि निर्वाचन वातावरणलाई तनावपूर्ण बनाउन सक्ने संकेत देखिएको छ। रुकुम पश्चिममा माओवादी विभाजनका कारण आन्तरिक राजनीतिक द्वन्द्व, कालिकोटमा माओवादी आधार क्षेत्रमा सम्भावित झडप र दैलेखमा स्थानीय शक्ति समूहको प्रभावलाई सुरक्षा निकायले ‘उच्च जोखिम’ का रूपमा लिएको छ।
मतदाता शिक्षा र सूचना संकट
दुर्गम क्षेत्रका धेरै मतदाताले मतदान प्रक्रिया, गुप्त मतदान, मताधिकार र सुरक्षित मतदानबारे पर्याप्त जानकारी नपाएको निर्वाचन कार्यालयहरूको निष्कर्ष छ। जुम्ला, मुगु र हुम्लामा गलत सूचना र भ्रमित प्रचारप्रसार फैलिने सम्भावना गर्दा मतदातामा प्रभाव पर्न सक्ने चेतावनी प्रशासनले दिएको छ।
सुर्खेतमा २ वटा निर्वाचन क्षेत्र छन् । २०७९ को तथ्यांक अनुसार यहाँ २ लाख ४४ हजार ७ सय १४ मतदाता छन् । यद्यपी नयाँ संख्या भने पुसमहिना सम्म मात्रै उपलब्ध हुने निर्वाचन कार्यालयले जनाएको छ । भीड व्यवस्थापन, जेनेजी युवाको असन्तुष्टि, घरेलु हतियारको जोखिम, भारततर्फ बसाइँसराइबाट मत खसाउने सम्भावना लगायतका चुनौती छन् ।
दैलेखमा २ निर्वाचन क्षेत्र छन् । यहाँ कठिन भौगोलिक अवस्था, कर्मचारी अभाव, राजनीतिक दबाब र स्थानीय द्वन्द्वबाट झडपको जोखिम छ ।
कालिकोटमा भौगोलिक कठिनाइ तथा माओवादी आधार क्षेत्रमा राजनीतिक झडपको सम्भावना रहेको इन्सेक कर्णाली प्रदेश कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जुम्लामा चिसो, हिमपात, सञ्चार समस्या र शक्तिकेन्द्रहरूको जबरजस्तीबाट मतदाता त्रसित हुनसक्ने अनुमान गरिएको छ।
मुगु, हुम्ला र डोल्पामा अत्यन्तै विकट भूगोल, सञ्चार–विधुत अभाव, बसाइँसराइ, सामग्री ढुवानी र विशेष सुरक्षा योजना आवश्यक भएको प्रतिवेदनमा औल्याइएको छ।
रुकुम पश्चिममा पूर्व माओवादीबीच आन्तरिक प्रतिस्पर्धा तीव्र, जनार्दन शर्मा समूहबीच झडपको जोखिम,
जाजरकोटमा भूकम्पपछिको पुनर्निर्माण कार्यले निर्वाचन व्यवस्थापनमा अतिरिक्त दबाब रहेको जनाइएको छ ।
त्यस्तै सल्यानमा जेष्ठ नागरिक र अपांगता भएका मतदाताको पहुँच चुनौती, मतदाता शिक्षा कमजोर रहेको उल्लेख गरिएको छ ।प्रदेशभरका जिल्ला सुरक्षा समितिहरूले मतदानस्थल र मतदान केन्द्रको जोखिम वर्गीकरण सुरु गरिसकेका छन्। हेलिकोप्टरमार्फत सामग्री ढुवानी, सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा, जेनजी आन्दोलन प्रभावित क्षेत्रको निगरानी, र घरेलु हतियार नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।
प्रतिवेदन अनुसार कर्णालीमा आगामी प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण तर चुनौतीपूर्ण देखिएको छ। इन्सेकका अनुसार विभिन्न जोखिमका बाबजुद समयमै तयारी, प्रभावकारी समन्वय, मतदाता शिक्षाको विस्तार, पर्याप्त सुरक्षा तैनाथी र जिम्मेवार राजनीतिक व्यवहार हुन सके निर्वाचन सफलतापूर्वक सम्पन्न हुने सम्भावना उच्च छ।
निर्वाचन आयोगले मतदान स्थल, मतदान केन्द्र र मतदाता संख्याको अन्तिम विवरण अद्यावधिक गरेपछि कर्णालीका जिल्लागत अवस्थाबारे थप स्पष्ट चित्र तयार हुनेछ। कर्णाली प्रदेशमा १२ वटा प्रतिनिधि सभा र २४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

खुलानजर । १२ मंसिर २०८२, बिहीबार १४:१३