५० वर्ष पुगेको अवसरका मावि लगामले मनायो स्वर्ण जयन्ती

सुर्खेत: नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चौकुने गाउँपालिका–२ लगामले स्वर्ण जयन्ती मनाएकाे छ । शुक्रबार विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मनाइएको हो ।
स्वर्ण जयन्तीको अवसरमा सुर्खेत क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हृदयराम थानीले विद्यालयलाई आफ्नो क्षेत्रबाट सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै कर्णाली प्रदेश सभा सदस्य जानकी सिंहले पश्चिम क्षेत्रमा उदाहरणीय विद्यालय रहेको प्रशंसा गर्दै प्रदेश सरकारबाट सहयोग गर्ने बताइन् । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले आफु विद्यालयमा पढ्ने बेला भन्दा धेरै परिवर्तन आएको भन्दै खुसी व्यक्त्त गरे ।
उपाध्यक्ष नरबहादुर बान्तोलाले विद्यालयले क्रमस फड्को मादै गएको भन्दै विद्यालयको विकासका लागि पालिकाले केही कसर बाँकी नराख्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह विकले निकै चुनौती र संघर्षका बावजुत स्थापना भएको विद्यालयले ५० औं वर्ष पार गरिरहँदा अझैपनि भौत्तिक संरचना लगायतको अभाव रहेको बताए । उनले यस विद्यालयको विकासका लागि सबैको सहयोगको खाँचो रहेको बताए ।
विद्यालयले दर्गममका बालबालिकाको शिक्षाको विकासका लागि थुप्रै योजना बनाई कार्यान्वयन गरेको प्रध्यानाध्यापक लालबहादुर थापाले बताए । विद्यालयको स्थापनाकालदेखि महत्वपुर्ण भूमिका खेलेका पूर्व प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका पूर्व विद्यार्थी र जग्गादाताका आफन्तलाई सम्मान गरिएको छ ।


२०३० सालमा स्थापना भएको उक्त विद्यालयका पहिलो प्रध्यानाध्यापक स्वर्गीय षडानन्द ढकालका माइलो छोरा यज्ञप्रसाद ढकालले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ५१ हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका छन् । उनले यस कोषमा इच्छुक अभिभावक र शिक्षकहरुलाई समेत जोडिन आग्रह गरेका छन् ।

कार्यकारी सम्पादक सम्मानित
जनचासो खबर दैनिक सुर्खेतका कार्यकारी सम्पादक जगतदल जनाला विक सम्मानित भएका छन् । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययन गरेका विकलाई पत्रकारिता मार्फत समाज रुपान्तरणमा महत्वपुर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको हो । ‘स्वर्ण जयन्ती’का अवसरमा आयोजित कार्यक्रममा कार्यकारी सम्पादक विकले विद्यालयमा पुस्तकालय स्थापनाका लागि ‘किताब अभियान’ चलाउने प्रतिवद्धता समेत गरेका छन् । उनी २०७० सालदेखि पत्रकारितामा सक्रिय छन् ।


कार्यक्रममा चौकुने १, २ र ३ का वडा अध्यक्ष, चौकुने स्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले विद्यालयको विकासका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।