प्रज्वल चुनारा
सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दलले सक्काउने रणनीति खेलेको आरोप लगाएका छन् । राष्ट्रिय दलित आयोगले मंगलबार कर्णालीमा बालबिवाह सम्बन्धी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सुर्खेत आएका परियारले पत्रकार भेटघाटमा यस्तो आरोप लगाएका हुुन् ।
‘रास्वपाको उदयले पुराना राजनीतिक दलहरु डराएका छन् । रास्वपालाई सक्ने प्रयत्न भइरहेको छ । यदी रास्वपा सकिएपछि अब कैयौ वर्षसम्म नयाँ धार खडा हुने छैेनन्,’प्रमुख सचेतक परियारले भने, ‘ त्यो सम्भव पनि छैन, यी पुरानै दलले जनतालाई ठगिरहने छन् । त्यसैले रास्वपा नबने नयाँ पुस्तालाई समेत घाटा हुन्छ । रास्वपालाई बनाउन नयाँ पुुस्ताले साथ दिनुुपर्छ ।’ नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पुराना राजनीतिक दल जनताको पार्टी बन्न नसकेको कारण रास्वपाको उदय भएको उनको दावी छ । पुराना राजनीति दल भ्रष्टाचार, घुसखोरी, नातावाद, कृपावादका फसेका भन्दै अब मुलुक निर्माणको जिम्मा रास्वपाले इमानदार र गम्भीर भएर लिन चाहेको उनले स्पष्ट पारे । ‘मुलुकमा कोही न कोहीले हस्तक्षेप गर्नुपर्ने थियो । त्यो रास्वपाले गरेको छ,’ उनले थपे, ‘घरघरमा गएर नमस्कार गरेर भोट माग्ने नेताहरुले नै जनतालाई डण्डा लगाउने काम गरेका छन् । ती नेताहरुलाई खबरदारी गर्न जनता जाग्नुुपर्छ ।’
पुराना दल जनताको पार्टी बन्न नसक्दा रास्वपाको उदय भएको दावी गरेका छन् । उनले पछिल्लो समय पार्टी सभापति रवि लामिछाने र पार्टीमाथि भएको प्रतिशोध र चौतर्फी हमला भएको बताए । वर्तमान सरकारका कारण चारैतिर राजनैतिक वितृष्णा र निराशा छाएको उनको दावी छ । रास्वपालाई कमजोर बनाउन सकिन्छ मी भनेर राजनीतिक प्रतिसोध लिएर रवि लामिछाने माथि सरकार खनिएको उनको आरोप छ । ‘पार्टी सभापति रवि लामिछानेको मुद्दमा अनुसन्धान जारी छ । निर्णयमा ढिलाइ भएको छ । न्याय मरेको छैन अदालतले सत्य निर्णय गर्नेछ’ उनले भने, ‘यो राजनैतिक प्रतिशोधको मुुद्दा नै हो । यदी सबै मिलेर हामीलाई मुद्दामा हाराएनि इतिहासले यसको उचित मुल्यांकन गर्नेछ ।’
दुई तिहाइको सरकारले जनतामा आशाको दियो बाल्न नसकेको भन्दै सरकारले जनमुखी काम गर्ने नसकेको उनको भनाई छ । फरक प्रसंगमा सचेतक परियारले जनतालाई सेवाको नाममा संसद नै बन्दक बनाएर सरकारले अध्यादेश ल्याउने चेष्टा राम्रो नभएको जिकिर गरे ।
सहकारीको रकम अपचलनमा नजोडिएको तर गोर्खा मिडियामा गएको रकममा लामिछाने संलग्न भएको विषयमा छानबिन हुनुलाई कसरी ? प्रतिशोध साँधिएको भन्ने प्रश्नमा सचेतक परियारले भने, ‘उहाँले सहकारीबाट ऋण लिन त निवेदनलगायतका अन्य विषय जोडिएको हुनुपर्याे नि त ? त्यो कतै देखिँदैन । गोर्खा मिडियामा उहाँ त्यहाँ संग्लन हुँदा पैसा आयो । त्यहाँ आएको पैसामा लामिछानेको जवाफादेहिता रहनुपर्छ भनेर छानबिन समितिको प्रतिवेदनले भनेको यत्ति हो । तर, उहाँमाथि संगठित अपराध, सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइयो, सहकारी ठगी भनियो । यसै कारण हामीले प्रतिशोध भनिरहेका छौं ।’ गृहमन्त्री भइसकेका व्यक्तिमाथि आरोप लाग्नेबित्तिकै सांसद पद निलम्बन गरिनु प्रतिशोध नै भएको सचेतक परियारले बताए ।
खुलानजर । १३ फाल्गुन २०८१, मंगलवार १८:५०