किन सरिरहन्छ १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति ?

सुर्खेत: कर्णाली प्रदेशमा हुने भनिएको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक–पटक सरेपछि अन्यौलता छाएको छ । पोखरामा भएको नवौं प्रतियोगिताबाट २०७९ कात्तिक ३ गते १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा गर्ने भन्दै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई झण्डा हस्तान्तरण गरेका थिए । राष्ट्रिय खेलकुद परिषदले ०८१ मंसिर २ देखि ९ गतेसम्म प्रतियोगिताको मिति तोक्यो । तर, मंसिर २१ मा बसेको परिषदको बैठकले आवश्यक तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गर्यो ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने उद्देश्यका साथ प्रदेश सरकारले गौरवको सुर्खेत रंगशाला निर्माणको कामलाई गौरवको आयोजनाका रुपमा लियो । सोही अनुसार कामलाई तीब्रता दियो । अन्य जिल्लामा समेत प्रदेश सरकारले खेलकुदका पूर्वाधारहरु बनायो । दोस्रो पटकको मितिमा पनि खेलकुद प्रतियोगिता गर्न नसक्ने भन्दै परिषदले ०८२ जेठ ३ देखि १० गतेको मिति तोक्यो । तर चैत २२ गते मात्रै खेलकुद परिषदले १२ बुँदे वस्तुगत अवस्थाको जानकारी दिँदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सु्चना जारी तोकिएको समयमा प्रतियोगिता गर्न नसक्ने बताएको थियो । अहिलेसम्म कुन खेल कहाँ–कहाँ सम्पन्न गर्ने टुंगो नलाकेको, मुख्य प्रतियोगिता स्थल सुर्खेत रंगशालाको भौतिक पुर्वाधार निर्माण सम्पन्न भैनसकेको, खेलाडी छनौटका विषयमा प्रदेशहरुबाट विवरण प्राप्त नभएको, खेल सामग्रीको टेण्डर नभएको, प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट बिनियोजित बजेटबाट विषयगत रुपमा शिर्षक बाँडफाँड र एलएमविआईएस नभएको, खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको संख्या निर्धारण नभएको, अहिलेकै अवस्थामा प्रतियोगिता सञ्चाल नगर्न सकिने, नसकिने कुरामा कर्णाली सरकार अन्यौलमा रहेको जस्ता कारणले प्रतियोगिता गर्न नसकिने परिषदले उल्लेख गरेको छ । चौधरी मन्त्री भएयता प्रतियोगिताको मिति तेस्रो पटक सरेको छ । जसका कारण यो आर्थिक वर्षमा प्रतियोगिता हुन असम्भव देखिएको छ । मन्त्री चौधरीले फागुन २५ गते सुर्खेतमा प्रतियोगिता सञ्चालक मूल आयोजक समितिको सचिवालय गठन गरी उद्घाटन गरेका थिए । त्यस्तै प्रतियोगिताको लोगो र मस्कट सार्वजनिकसँगै प्रतियोगिता तयारीका लागि विभिन्न ११ उपसमिति बनाएका थिए । उनले तोकिएकै समयमा प्रतियोगिता हुने दावी समेत गरेका थिए ।
प्रतियोगिताका लागि प्रदेशहरुबाट खेलाडीको विवरण उपलब्ध नहुनु रंगशालको केही कामहरु बाँकी रहेका कारण जेठमा प्रतियोगिता हुन नसकेको राष्ट्रिय खेलकुद परिषदकी बोर्ड सदस्य नन्दा बस्यालले बताइन् । ‘मुख्य कुरा त प्रतियोगिताका लागि प्रदेशबाट खेलाडीको विवरण नै आउन सकेको छैन । अर्को कुरा बाहिरबाट रंगशाला बनेपनि भित्रका मसिनो–मसिनो कामहरु निर्माण गर्दै छन् । अहिलेको अवस्था हेर्दा त्यहाँ १०–१२ ओटा गेमहरु मात्रै खेलाउन सकिने अवस्था आयो,’ उनले भनिन्, ‘समय तोक्दा पहिलदा पनि हामीले सोच्नपर्ने हो । जेठमा मौसम पनि अनुकुल भएन ।’ सबै तयारी सकेर नयाँ मितिमा प्रतियोगिता गर्दा कुनै अप्ठारो नहुने सदस्य बस्यालको दावी छ ।
कर्णाली प्रदेश भलिबल संघका अध्यक्ष कृष्ण श्रेष्ठले समयमा खेलकुद प्रतियोगिता नहुनु नै कर्णालीको खेल क्षेत्र पछाडी पर्नु भएको बताए । ‘राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि महत्वपुर्ण अवसर हो । यहि प्रतियोगिताकै कारण खेलकुद पूर्वाधारहरु बनेका छन्,’ उनले भने, ‘तर समयमै प्रतियोगिता नहुँदा कर्णालीको खेल क्षेत्रमा नकरात्मक असर पर्छ ।’ हरेक दुई–दुई वर्षमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नुपर्ने व्यवस्था भएपनि विगतदेखि नै ढिलो गर्ने प्रवृतिका कारण खेल क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको उनको भनाई छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आयोजकले नै बारम्बार सारेपछि प्रतियोगितामा समस्या भएको बताए ।‘हामीले हाम्रो काम गरिरहेका छौं । रंगशाला पनि निर्माण भइसकेको छ । अन्य जिल्लामा समेत खेल पूर्वाधारहरु बनिसकेका छन्,’ मन्त्री भण्डारीले भने, ‘आयोजक खेलकुद परिषदले नै बारम्बार प्रतियोगिता मिति सारेको सार्यै छ । प्रदेश सरकार आयोजना सफल बनाउनलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न तयार छ । आयोजकले पनि समयमा प्रतियागिता बनाउनमा चासो देखाउनपर्यो नि !’
सुर्खेत रंगशालाको एक प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ । ०७८ मंसिर २० मा शिलान्यास गरिएको रंगशाला एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रूपैयाँमा (भ्याटसहित) ठेक्का आह्वान भएको थियो । त्यसपछि २७ मा नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित ‘एमएसिजिएसएल जोइन्ट भेन्चर’ले प्रदेश सरकारसँग ठेक्का सम्झौता गरी रंगशाला निर्माणको जिम्मा पाएको थियो ।सम्झौतामा ०८१ वैशाख ११ भित्र आयोजना सम्पन्न गर्ने उल्लेख थियो । तर, समयमै काम सकिएन। त्यसपछि पहिलो पटक असोजसम्म र दोस्रोपटक माघसम्म म्याद थप गरिएको थियो । कर्णाली प्रदेश खेलकुद परिषदले प्रदेशभर २४ वटासम्म खेल खेलाउने तयारी गरेको थियो । प्रदेश रंगशालामा मात्रै १२ ओटा खेल खेलाउने तयारी थियो । अन्य खेलहरु सुर्खेतका अन्य स्थानमा, हुम्ला, मुगु, , कालीकोट, दैलेख र रुकुमपश्चिममा खेलाउने तयारी थालिएको थियो ।
पदाधिकारीविहिन परिषद्
१० औं राष्ट्रिय खेलकुदको मुख्य आयोजक खेलकुद परिषद हो । कर्णाली सरकार त्यसको सह–आयोजक रहेको छ । प्रदेश सरकारको राजनीतिक खिचातानीका कारण अहिले खेलकुद विकास परिषद् पदाधिकारीविहिन छ । उपाध्यक्ष र सदस्य–सचिव नियुक्तिमा सत्ता साझेदार दल अल्झिएका छन् । ०७७ पुस ६ गते नियुक्त भएका कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमाल र सदस्य–सचिव विश्वमित्र सञ्ज्यालको चार वर्षे पदावधि सकिएपछि ०८१ पुस ६ मा उनीहरु बिदा भए । पस २६ गते सामाजिक विकास मन्त्रालयले मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई प्रदेश खेलकुद परिषदको सदस्य सचिवको रूपमा दैनिक कामकाज गर्ने जिम्मा दिइएको थियो । तर, परिषदबाट हुने दैनिक कार्यसम्पादनले गति लिन सकेको छैन । पदावधि सकिएको साढे तीन महिनासम्म पनि सरकारले परिषदलाई पूर्णता दिन सकेको छैन ।
मन्त्रालयले परिषद पदाधिकारीविहीन भएको अवस्थामा प्रदेशको खेलकुद विकास ऐन, २०७६ विपरीत मन्त्रालयका शिक्षा अधिकृत उपाध्यायलाई तोकेको भन्दै आलेचना भएको छ । ऐनमा सामाजिक विकास मन्त्रीले परिषद्को सदस्य–सचिवलाई बैठक बोलाउन निर्देशन दिने र बैठकको अध्यक्षता ग्रहण गर्ने बाहेकको कुनै पनि जिम्मेवारी दिएको छैन । सुरुमा परिषदको उपाध्यक्ष र सदस्य–सचिवमा एमाले र माओवादी केन्द्रबीच भागवण्डा भएको थियो । हाल एमाले–कांग्रेसबीच उपाध्यक्ष र सदस्य–सचिव कसले लिने भन्ने विषयमा कुरा नमिल्दा परिषदले पूर्णता पाउन सकेको छैन ।