लगानी गर्ने वातावरण बनाउनपर्छ : मन्त्री शाह

सुर्खेत : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवबिक्रम शाहले कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको संस्थागत रणनीतिको समिक्षा कार्यशाला तथा स्थानीय र प्रादेशिक आर्थिक विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘पर्यटन र उद्योगका हिसाबले यहाँ धेरै सम्भावना छ । त्यहि सम्भावनालाई देखेर लगानीकर्ताहरु यहाँ आउने हो,’ उनले भने, ‘लगानीकर्ता आउने वातावरण त हामी सबैले मिलाउनपर्यो । त्यसमा निजी क्षेत्रले योजना बनाएर ल्याउनुस हामी सहयोग र समन्वय गर्न तयार छौं ।’ मन्त्री शाहले लगानीकर्तालाई मुद्दा मामिला जस्ता विषयहरुको झमेलामा पारेपछि न लगानीकर्ता यहाँ आउने नत यहाँको विकास हुने बताए । विकासका लागि सबैको विचार सही हुनुपर्ने र एकतावद्ध भएर काम गर्दा सफलता प्राप्त हुने उनको भनाई छ ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कोरोना, आर्थिक मन्दी लगायत समस्याका कारण पछिल्लो समय व्यवसायीहरु मर्कामा परेको बताए । ‘व्यवसायीहरु धेरै समस्यामा छन् । कतिपय सरकारी नीतिका कारण पनि समस्या भएको छ । त्यसमा प्रदेश सरकारले पनि ध्यान दिन जरुरी छ,’ उनले भने, ‘कर, अनुदान लगायतका विषयमा हामीले सरकारबाट सहयोग पाउन सकेका छैनौं ।’

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माले कर्णाली प्रदेशको आन्तरिक आम्दानीको अवस्था कमजोर रहेकोले व्यवसायका क्षेत्रमा लगानी गर्न नसकिएको बताए । उनले कर छुट र अन्य केही अधिकारहरु प्रदेशलाई नभएका कारण काम गर्न असहज भएको बताए । आगामी दिनमा महासंघ र सरकारले गर्न सकिने कामहरुमा सहकार्य गर्ने सचिव शर्माको भनाई छ । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीलाई ढुक्कले व्यापार गर्ने वातावरण बनाउन प्रदेश सरकारलाई अनुरोध गरे ।