सुर्खेत : टंकप्रसाद आचार्य प्रतिष्ठानको आयोजनामा सुर्खेतमा नेपालका विभिन्न राजनीतिक दलका अगुवाहरूको सहभागितामा नेपालकाे प्रजातान्त्रिक आन्दोलनमा टंकप्रसाद आचार्यकाे ऐतिहासिक योगदानबारे छलफल सम्पन्न भएको छ। कार्यक्रममा टंक प्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यलाई नेपालमा प्रजातन्त्रको जरो गाड्ने नेता भन्दै उनको योगदानलाई उचित सम्मान दिनुपर्नेमा जोड दिए। `आचार्यजस्ता व्यक्तित्वले नेपालमा प्रजातन्त्रको मियो बसालेका हुन्,`उनले भने, `उनी केवल राजनीतिक अभियन्ता मात्र होइनन्, सामाजिक न्यायका लागि संघर्ष गर्ने दूरदृष्टि भएका नेता पनि हुन्। अहिलेको समयमा उनका सिद्धान्त र विचारलाई जीवन्त बनाउन सक्नुपर्छ।` छलफलमा सहभागी विभिन्न राजनीतिक दलका अगुवाहरूले टंकप्रसाद आचार्यको प्रजातन्त्र स्थापना र समाज सुधारका क्षेत्रमा खेलेको भूमिका स्मरण गर्दै उनका आदर्शलाई व्यवहारमा लागू गर्नुपर्ने धारणा राखे। कार्यक्रमले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तित्वहरूको स्मरण गर्दै वर्तमान राजनीतिक परिप्रेक्ष्यमा टंकप्रसाद आचार्यका विचारहरूको महत्वलाई पुनःस्थापित गर्ने प्रयास गरेको आयोजकले जनाएकाे छ।
प्रतिष्ठानले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई प्रजातन्त्रका लागि गरिएको संघर्षबारे जानकारी दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा सहभागी नेताहरूले टंकप्रसाद आचार्यले प्रजातान्त्रिक आन्दोलनका लागि खेलेकाे भूमिकालाई उच्च मूल्यांकन गरेका थिए। उनीहरूले टंकप्रसाद आचार्यलाई प्रजातन्त्रकाे संवाहक र समाज सुधारकाे अग्रणी अभियन्ताका रूपमा चर्चा गरे। कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागि टंकप्रसाद आचार्यले व्यहोरेका संघर्ष, उनको नेतृत्व र नेपालमा जनताको हक अधिकारका लागि गरिएको योगदानलाई स्मरण गरिएकाे थियाे।
खुलानजर । १ पुष २०८१, सोमबार १५:४१