जिवन तिरुवा
सुर्खेत: नेकपा (एमाले) सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल कर्णाली प्रदेशको अधिवेशन यही आउँदो भदौ २१ गते सुर्खेतको बिरेन्द्रनगरमा हुने भएको छ।
आज सम्पन्न अधिवेशन आयोजक समिति बैठकले उक्त निर्णय सर्वसम्मत रुपमा गरेको हो। अधिवेशन नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतको पार्टी कार्यालय हलमा आयोजना गरिनेछ।
यस महत्वपूर्ण निर्णयको जानकारी नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका फाँट इञ्चार्ज युवा नेता ध्रुव थापाले दिनुभयो। उहाँका अनुसार अधिवेशन सफल र सुसंगठित बनाउने उद्देश्यले आवश्यक तयारी तीव्र पारिएको छ।
अधिवेशनमार्फत प्रदेशस्तरीय संगठनलाई अझ सशक्त बनाउने, आदिवासी जनजातिका सवाललाई सशक्तरूपमा उठाउने र राजनीतिक तथा सामाजिक पहिचानलाई सुनिश्चित गर्न रणनीतिमूलक एजेन्डा तय गरिने बताइएको छ।
महासंघले आदिवासी जनजातिको हक, अधिकार, पहिचान र सशक्तीकरणका लागि निरन्तर आवाज उठाउँदै आएको छ। कर्णाली प्रदेशमा पनि संगठनको उपस्थिति मजबुत बनाउन यो अधिवेशन निर्णायक हुने अपेक्षा गरिएको छ।
खुलानजर । १६ जेष्ठ २०८२, बिहीबार १८:२४