व्यवसायमा मानव अधिकारको आवश्यकता


सुर्खेत: व्यवसायिक क्षेत्रमा मानव अधिकारको आवश्यकता रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको आयोजनामा ‘व्यवसायीका लागि मानव अधिकार’ विषयक गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष श्रीकृष्ण वैधले स्वास्थ्यलाई हानी पुर्याउने उत्पादनहरूबाट उपभोक्तालाई जोगाउने दायित्व पनि व्यवसायीहरुको भएको बताए । स्थानीय समुदायमा पर्यावरणीय वा सामाजिक असर नपरोस् भनेर व्यवसायले उचित नीति अवलम्बन गरी समुदायका लागि रोजगारी सिर्जना गर्ने, दिगो विकासलाई प्रवद्र्धन गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले श्रमिकहरूलाई उचित तलब, सुरक्षित कार्यस्थल, तथा दासत्वमुक्त श्रमको सुनिश्चितता, कुनै पनि प्रकारको भेदभाव, दुव्र्यवहार वा शोषण रोक्न नीतिगत प्रबन्धहरू व्यवासायिक क्षेत्रमा आवश्यक रहेको बताए । उनले उपभोक्ताको अधिकार अन्तर्गत गुणस्तरीय, सुरक्षित, र उचित मूल्यका सामान तथा सेवा उपलब्ध गराउने जिम्मेवारी व्यवसायमा भए मात्रै मानव अधिकारको रक्षा हुने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले व्यवासायमा उपभोक्ताको हितमा काम गर्न आवश्यक रहेको भन्दै पछिल्लो समय म्याद नाघेका र अखाद्य वस्तुहरुले मानव अधिकारमा गम्भीर प्रभाव पारेको बताए । कुनै पनि व्यवसायले आफ्नो आर्थिक फाइदाका साथसाथै मानव अधिकारलाई प्राथमिकता दिनुु प्रमुख दायित्व रहेको उनको भनाई छ ।
उत्तरदायी आपूर्ति शृंखला, श्रम अधिकार उल्लङ्घन नगरेको सुनिश्चित गर्ने, बालश्रम, जबरजस्ती श्रम वा अन्य मानव अधिकार उल्लङ्घन रोक्ने उपाय अवलम्बन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । त्यस्तै नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको व्यवसायमा मानव अधिकार सम्बन्धी कार्ययोजना २०८१ का विषयमा समेत छलफल गरिएको छ । त्यसमा उद्योग वाणिज्य महासंघ नेपालले आवश्यक गाइडलाइनका विषयमा समेत सुझाव संकलन गरिएको छ ।
गोष्ठीमा व्यवसाय र मानवअधिकारका विविध पक्षहरूमा छलफल भएको छ । कार्यक्रममा विभिन्न सरकारी र गैरसरकारी संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।