अन्याय र अत्याचार विरुद्ध जनयुद्धमा हाेमिएकी ‘कमरेड सुरक्षा’

बुवा हर्कबिर विश्वकर्मा र आमा सितली विश्वकर्माको कोखबाट २०३५ साल असार १५ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जन्मेकी उर्मिला विश्वकर्मा डोल्पाबाट कर्णाली प्रदेश सभाका लागि समानुपातिक सांसद छन् । ०७९ माघ ११ गते भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत राज्यमन्त्री भइन्। राष्ट्रिय समीकरण अनुसार काँग्रेस–माओवादी समिकरण भएपछि उनी जलस्रोत तथा उर्जा विकास मन्त्री बनिन् । उनको बाल्यकाल र राजनीतिक जीवन निकै संघर्षमा बित्यो । अन्याय र अत्याचार विरुद्ध जनयुद्ध लडेकी उनलाई पार्टीमा ‘कमरेड सुरक्षा’ का नामले चिनिन्छ । उनै पूर्व मन्त्री विश्वकर्मासँग अंगराज परियारले गरेको संघर्ष र सफलताका कुरा :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल एकदमै दुःखद रुपमा बित्यो । म रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जन्मेकी हुँ । निम्नवर्गीय परिवारमा हुर्किएकी हुनाले पनि सानै उमेरदेखि दुःख संघर्ष गर्नुपर्छ भन्ने कुरा कहिल्यै हटेन । घरपरिवार ठुलो थियो । मेरो बाल्यकाल एकदमै दुःखमा बित्यो । जातिय विभेद सहेर मैले प्रारम्भिक शिक्षा कक्षा एकदेखि सातसम्म हिमालयन माध्यमिक विध्यालय, सातदेखि प्लस टु सम्म आदर्श माध्यमिक विद्यालय जुफाल डोल्पा पढेकी हुँ । आफ्नो गाउँमा स्कुल थिएन । टाढाको स्कुलमा जान पथ्र्यो । अझ दलित समुदायले पढ्नु हुँदैन भन्ने मानसिकता थियो । दलित समुदायको परम्परागत पेशासँग मेरो  परिवार जोडिएको थियो । ‘बालिघरे’ प्रथामा मेरो परिवारले खेतबारीमा काम गरेर घरपरिवार चलाउँदै आएको थियो ।  आर्थिक अवस्था कमजोर भएकाले शिक्षामा निरन्तरता दिन असहज थियो । दलित भएकै कारण विद्यालयमा भोग्नुपरेको सामाजिक विभेद, अवसरको अभाव, अनि समाजको कठोर मानसिकतासँग निरन्तर संघर्ष गर्नुपर्ने भयो ।  २०५१ सालमा डोल्पाको त्रिपुरासुन्दरी गाउँपालकिामा रामलाल विश्वकर्मासँग  मेरो मागी विवाह भयोे । बिहेपछि म कक्षा ८ मा भर्ना भएरर त्यही बेलादेखि माओवादी निकट विद्यार्थी संगठनमा आबद्ध भएँ । केही पढाई अधुरै भएकोले डोल्पाको जुफाल गाउँमा आर्दश उच्च माध्यमिक विद्यालयमा प्लस टुसम्म पढेँ ।

विद्यार्थी जीवनको लक्ष्य के थियो?
मेरो विद्यार्थी जीवनमा कुनै निश्चित लक्ष्य तय भएको थिएन । के बन्ने वा नबन्ने भन्ने नै स्पष्ट थिएन । तर, २०५२ सालको माओवादी जनयुद्ध सुरु भएसँगै समाज सेवाप्रति आकर्षण बढ्दै गयो । समाजमा भएका विभेद, अन्याय, शोषण देख्दा, म एउटा परिवर्तनको हिस्सेदार बन्नुपर्छ भन्ने सोच बलियो बन्दै गयो । शिक्षा मात्र पर्याप्त छैन, व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने महसुस हुन थाल्यो ।

राजनीतिमा किन लाग्नुभयो ?
मेरो श्रीमान् शिक्षक भए पनि पहिलादेखि नै माओवादीभित्र काम गरिरहनु भएको थियो  । श्रीमान् माओवादीमा गएका कारण मलाई त्यो बेलाको राज्यसत्ताबाट निकै यातना दिइन्थ्यो । ‘तँलाई मार्दा पनि केही छैन भन्थे ।’ डोल्पाको सदरमुकाम दुनैमा ९ असोज ०५७ मा माओवादीले आक्रमण ग¥यो । १५ दिन मैले पनि जेलमा बस्नु प¥यो । डोल्पाको दुनैमा माओवादी आन्दोलन चर्किएपछि २०५६ मा माओवादीको पार्टी सदस्यता लिएर म पनि नाबालक छोरासँगै युद्धमा होमिएँ । त्यो क्षण हाम्रो जीवनको निर्णायक मोड बन्यो । श्रीमानले जनयुद्धमा थुप्रै मोर्चामा लडाइँ लड्नुभयो । मंगलसेन घटनामा लागेका गोलीका छर्राहरू अझै मेरा शरीरभरी छन् । उहाँ जनयुद्धमा पूर्णकालीन रूपमा लाग्नुभयो । तर मलाई व्यक्तिगत पीडा निकै पर्यो । परिवार पाल्नका लागि निकै कठिन भयो । यति पिडा हुँदापनि मैले दलित महिलाहरूको अवस्था नजिकबाट देखेकी थिएँ । हजारौं दिदीबहिनीहरू दोहोरो शोषण भोगिरहेका थिए, जातीय विभेदले उनीहरूको भविष्य अन्धकारमय थियो । म चुप लागेर बस्न सक्दिनथेँ । २०५८ सालमा, म अन्याय र शोषणविरुद्धको संघर्षमा होमिएँ । डरको सञ्जाल च्यात्दै, सपना र संघर्षको मार्ग समात्दै, मैले विद्रोहको बाटो रोजें ।

त्यो बेलाको पीडालाई अहिले कसरी सम्झिनुहुन्छ  ?
बिहे भएको २ वर्षपछि छोरी र २ वर्षको अन्तरालमा छोरा जन्मियो । यस्तो बेला श्रीमानले गर्भवती श्रीमती छाडेर पूर्णकालीन रूपमा जनयुद्धमा होमिनुभयो । एकदिन मुसलधारे पानी परिरहेको थियो । बिहान ४ बजेको घटना हो । त्यो बेला थुप्रै नेपाली सेनाले सि आकारमा घेरेको हामीलाई पत्तै भएन । त्यो घटनामा हामीले ठुलो क्षति व्यहोर्नुपरेको थियो । आठ जनाको ज्यान गयो । ‘त्यसमा रामलालको श्रीमती खै ? म¥यो कि मरेन भन्थे ।’ मेरो अनुहार देखेनन् । म घाइते भएकी थिएँ । सुरुमै नेपाली सेनाले हानेको गोली मेरो खुट्टामा लाग्यो । तर मलाई थाहै भएन । अर्को पीडा म आफै दलित भएका नाताले नि कैयौँ साथीहरू घरभित्र गएर रोटी खाने कुरामा जनवादका कुरा गरिरहन्थें । के कसैको घरभित्र गएर मान्छेको चित्त दुखाएर जनवाद आउने हो त ? म सोच्थेँ । यद्यपि एउटा क्रान्ति थियो, रोकिने कुरा थिएन । एउटा परिवर्तन हुनुथियो भयो । युद्धकालमा म कमरेड ‘सुरक्षा’ का नामले परिचित थिएँ ।  अहिले पनि धेरैजसोले सुरक्षा भनेर नै चिन्ने गर्छन् । अहिले नाफाको जिन्दगी जिइरहेको बेला  मेरोे शरीर छिया–छिया परेको हुनाले दुखिरहन्छ ।

दलित महिला भएकै कारण राजनीतिमा केही चुनौती भोग्नुभयो ?
पहिलो कुरा त महिलालाई राजनीति गर्नु भनेको एकदमै कठिन यात्रा हो । खासगरी घरपरिवारको हेरचाह र समाजमा रहेको परम्परागत भूमिकाबाट माथि उठेर राजनीति गर्नु एउटा ठूलो संघर्ष हो । विशेष गरी, दलित महिला भएको कारणले त झनै बढी चुनौतीहरूको सामना गर्नुपर्छ । दलितलाई कहिलेकाहीं प्रत्यक्ष रूपमा होइन, समानुपातिक रुपमा मात्रै राजनीतिक स्थान दिनुको कारणले विभेदको महसुस भएको छ । यसले मलाई यस्तो स्थिति अनुभव गरायो कि जहाँ मैले केवल आफ्नो सामथ्र्य र योग्यताको आधारमा अघि बढ्नुपरेको छ । तर समाजका केही वर्गहरूले मलाई केवल मेरो जातिका आधारमा राख्न चाहन्छन् । यस्ता चुनौतीहरूलाई मैले आत्मविश्वासका साथ पार गर्दै राजनीतिमा अगाडी बढिरहेकी छु ।  यही संघर्ष नै मेरो शक्तिको स्रोत बनेको छ ।

दलित समुदायबाट मन्त्री बन्दा कस्तो अनुभुति भयो ?
दलित समुदायबाट त्यो पनि महिला मान्छे मन्त्री बन्नु भनेको एउटा ऐतिहासिक र गौरवमयी अनुभव हो । म मन्त्री बन्ने क्रममा फलामको चिउरा चपाउनु सरह भयो । यस्तो पीडा त जनयुद्धको संघर्षका बेला पनि भएन । बढी नै पीडा भयो । जनयुद्धका क्रममा र्मैंले भोग्नु परेको संघर्षशील कहानी निकै दर्दनाक छ । यहाँसम्म आउँदा सारा जिन्दगी सकाएर आएको जिउँदो सहिद भएको महिला हुँ ।
वडा सदस्यसम्म हाम्रो समुदायदायलाई नबनाउने समाजमा संघीयताले फाइदा नै पुर्याएको छ । पार्टीले मलाई पहिला राज्यमन्त्री बनायो । केही समयमै फुल मन्त्री बनायो । जब मैले मन्त्री पद सम्हालें, त्यति बेला मलाई लाग्यो कि यो केवल मेरो व्यक्तिगत सफलता मात्र होइन, यो सबै दलित महिलाको संघर्ष र समर्पणको नतिजा हो । महिलाले राजनीति गर्दा प्रायः उनीहरूको मूल्यांकन पारिवारिक र सांस्कृतिक धरोहरसँग जोडिन्छ । राजनीतिमा उपलब्धि मात्र हेर्नुहुन्न समाज परिवर्तनको लागि होमएको व्यक्तिले संघर्ष गर्दै जाने हो भने ढिलोचाँडो विजय हुने रहेछ भन्ने कुराको अनूभुती भएको छ ।

महिलाका लागि के कस्ता प्रयास गर्नुभयो ?
दलित र सीमान्तकृत वर्गका महिलाहरूको शिक्षा र सामाजिक सशक्तीकरणका लागि मैले जति योजना बनाएको थिएँ । काम गर्न त्यति सम्भव भएन । मैले सकिनेजति गरेका प्रयास महिलाहरूसँग नेतृत्वका कार्यक्रमहरु हुन् । महिला उद्यमशिलता, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा सुधार ल्याउने योजना बनाएकी छु ।

मन्त्री हुँदा के गर्नु भयो नि ?


त्यो सँगै कर्णाली प्रदेशको जलस्रोत र उर्जा मन्त्रालयको मन्त्रीका रूपमा मैले एक घर एक धाराको सरकारले नारा बनाएकी थिएँ । त्यसको आवश्यक बजेट छुट्याएर कार्यान्वयन गर्ने पहल गरियो । म मन्त्री हुँदा मैंले ३५४ दिनमा गरेका गतिविधि सार्वजनिक गरेकी छु  । यो अवधिमा दुई वटा ऐन, एउटा विधेयक, दुई वटा कार्यविधि, तीन वटा निर्देशिका तयार भइ अन्तिम चरणमा रहेका थिए । जलस्रोत तथा ऊर्जाका ४ सय ८२ योजनाका लागि २४ करोड १० लाख आवश्यक पथ्र्यो । तर बजेट थिएन ।
ऐन निर्माणका क्रममा सबैभन्दा महत्वपूर्ण मानिएको विद्युतको सम्बन्धमा बनेको विधेयक संसदमा पास भयो । अर्को खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरोकारवालासँग छलफल अगाडी बढाएँ । मेरो कार्यकालमा एक लाख तीन हजार ३०३ जनसंख्यामा खानेपानीको पहुँच विस्तार गरेँ । यस्तै थप २ हजार २६९ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको र १३ किलोमिटर नदी नियन्त्रणको काम भएको छ ।

अबको योजना के छ ?
अहिले नाफाको जिन्दगी जिइरहेको बेला मेरोे शरीर छिया–छिया परेको हुनाले दुखिरहन्छ । दलित र महिला सशक्तिकरण मेरो मुख्य लक्ष्य हो । सांसद रहुन्जेलसम्म शिक्षामा पहुँच बढाउने, रोजगारी सिर्जना गर्ने र कानुनी सुधारका लागि काम गर्ने योजना छ । राजनीतिक रूपमा अझ सशक्त भई समाज परिवर्तनका लागि काम गर्दै जाने अठोट छ ।