बुवा तिर्थप्रसाद दाहाल र आमा गोमा दाहालको कोखबाट २०४९ मंसिर १० गते जन्मिएकी डा. अनिता दाहाल कर्णाली अस्पतालको नवौं तहको बाल रोग विशेषज्ञ एवम् नवजात शिशु विशेषज्ञ हुन् । उनले एमबिबिएस मणिपाल मेडिकल कलेज पोखराबाट गरेकी हुन् भने एमडी पोखरा एकेडेमी अफ हेल्थ साइन्सबाट गरेकी हुन् । बालरोग सम्बन्धी डा. दाहालसँग पाँच वर्षको अनुभव छ । ०७५ सालमा लोकसेवा आयोगले लिएको परिक्षामा आठौं तहमा नाम निस्केपछि उनले पहिलो पोष्टिङ कर्णाली नै रोजिन् । गरिबीले थलिएका र आर्थिक रूपमा कमजोर भएका नागरिकका बालबालिका लागि निःशुल्क उपचार कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छन् । उनै बालरोग विशेषज्ञ डा. दाहालसँग अंगराज परियारले गरेको संघर्ष र सफलताका कुरा :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल रमाइलो थियो । बुवा र आमा दुबैजना शिक्षक हुनुहुन्थ्यो । बुवाले जन नमुना माविमा र आमाले गाग्रेताल स्कुलमा पढाउनुहुन्थ्यो । घरमा हामी दुई दिदी बहिनी र एक भाइ थियौं । म तीन कक्षासम्म बोर्डिङ स्कुलमा पढेँ । पछि माओवादी जनयुद्धका कारण स्कुल बन्द भयो । अनि बुवाले पढाउने सरकारी स्कुलमा भर्ना भएँ ।
सुरुमा सरकारी स्कुलमा घुलमिल हुन गाह्रो भयो । पहिलो त्रैमासिक परीक्षामै फेल भएँ । त्यो मेरो जीवनको टर्निङ्ग प्वाइन्ट बन्यो । त्यसपछि पढाइमा निकै मेहनत गर्न थालेँ । दोस्रो वर्षदेखि कक्षा प्रथम हुन थालेँ । एसएलसीमा पनि जिल्ला टपर भएँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यो बेला मलाई नाच्न धेरै मन पथ्र्यो । बागिना डान्स समूहमा तालिम लिन गएकी थिएँ । प्रशिक्षकले भन्नुभयो, ‘तिमीलाई सिकाउनु नै पर्दैन, तिम्रो नाच त राम्रै छ ।’ त्यो सुनिराख्दा म डान्सर बन्ने सपना देख्थेँ । स्कुलका कार्यक्रममा नाच्दा अनिता राम्रो डान्सर बन्छे भनेर सर म्यामहरूले पनि प्रेरणा दिनुहुन्थ्यो । तर समयसँगै मेरो लक्ष्य मोडियो । बुवा–आमा र दिदीले ‘तिमी त जहिल्यै प्रथम हुन्छौ, डाक्टर बन्नुपर्छ ।’ भन्नुहुन्थ्यो । दिदी मभन्दा एक वर्ष सिनियर हुनुहुन्थ्यो । उहाँले पनि डाक्टर बन्ने भन्नुहुन्थ्यो । उहाँलाई देख्दै म पनि सोही बाटोमा लागेँ ।
डाक्टर बन्ने निर्णयमा कसरी पुग्नुभयो नि ?
एसएलसीपछि दिदी एमबिबिएसको तयारी गर्दै हुनुहुन्थ्यो । मैले पनि प्लस टु पढ्न काठमाडौं गएँ । काठमाडौँ मोडेल कलेजमा साइन्स लिएँ । प्लस टु मा पनि टपर नै भएँ । त्यसपछि मणिपाल मेडिकल कलेज, पोखरामा एक वर्ष तयारी गरेपछि एमबिबिएसमा नाम निस्क्यो । एसएलसीपछि दिदी एमबिबिएसको तयारी गर्दै हुनुहुन्थ्यो । म पनि प्लस टु पढ्न काठमाडौं गएँ । काठमाडौँ मोडेल कलेजमा साइन्स लिएँ । प्लस टु मा पनि टपर नै भएँ । त्यसपछि मणिपाल मेडिकल कलेज, पोखरामा एक वर्ष तयारी गरेपछि एमबिबिएसमा नाम निस्क्यो । एमबिबिएसमा पनि टपर भएर निस्किएँ । एमडी पनि पोखरा एकेडेमी अफ हेल्थ साइन्स बाट गरेकी हुँ ।
डाक्टर पढाईको यात्रा कस्तो रह्यो ?
बढी मेहनत नगरी एमबिबिएस पढ्न त सजिलो बिलकुलै छैन । धेरै चुनौतीपूर्ण रह्यो । एमबिबिएस सजिलै पढिने विषय होइन । पढिरहने बानी भएकाले फाइदा त भयो तर अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । जीवविज्ञानका जटिल सिद्धान्तहरू बुझ्नुपर्ने, लामो समयसम्म पढ्नुपर्ने, प्रयोगात्मक अभ्यास गर्नुपर्ने हुन्थ्यो ।
दोस्रो वर्षदेखि क्लिनिकल अभ्यास सुरु भयो । बिरामीहरूसँग काम गर्ने मौका पाएँ । किताबमा पढेको कुरा व्यवहारमा उतार्न सक्ने अवस्था आयो । खासगरी बालबालिकासँगको अन्तरक्रियाले मलाई यो क्षेत्रमा अझ नजिक ल्यायो ।
बालरोगको डाक्टर नै किन रोज्नुभयो ?
मैले हेर्दै आएको कुरा कर्णालीमा धेरै बालबालिका कुपोषित छन् । बिरामी हुँदा समयमै उपचार पाउँदैनन् । स्याहार, पोषण र शिक्षा यी तीनै क्षेत्रमा कमी छ । बालबालिकाको अवस्था सुधार्ने मेरो चाहना बलियो थियो । बालबालिकाको जीवन बचाउनु मात्र होइन, उनीहरूको भविष्य सुरक्षित गर्ने काम पनि बालरोग विशेषज्ञको कर्तव्य हो भन्ने महसुस गरेपछि अस्पतालभन्दा छिटो चिहान पुग्ने बालबालिकाका लागि मैंले पिएडियाट्रिक्स रोजें ।
कर्णाली रोजाइमा कसरी पर्यो ?
म त यही कर्णालीकी छोरी हुँ । यहीँ जन्मिएँ, यहीँ हुर्किएँ । यहाँका पाखा–पखेरा, यहाँका जनताको पीडा,बालबालिकाको स्वास्थ्य अवस्था सबै मेरो आफ्नै जस्तो लाग्छ । ०७५ सालमा लोकसेवा आयोगले लिएको परिक्षामा आठौं तहमा मेरो नाम निस्केपछि मैंले पहिलो पोष्टिङ कर्णाली नै रोजेँ । कर्णालीका धेरै आमाहरूले सन्तान गुमाएको देखेकी छु । बिरामी हुँदा अस्पताल टाढा हुन्छ, औषधी हुँदैन, डाक्टर पुग्दैनन् । यस्तो अवस्थामा म कहाँ जान ु? यहीँ रहेर, आफ्नै माटोमा केही फिर्ता गर्नु पर्ने होइन र ? मलाई लाग्छ, डाक्टर भएर काठमाडौंको आरामदायी कोठामा बस्नुभन्दा कर्णालीमा एक जनाको पनि जीवन जोगाउन सकियो भने त्यो नै ठूलो योगदान हो भन्ने सोचेर जन्मथलो रोजेँ ।
कस्ता रोगका बालबालिका आउँछन् ?
कुपोषण, ज्वरो, न्यूमोनिया, डायरिया, टाइफाइड, ब्रोंकाइटिसजस्ता सामान्य बालरोगदेखि लिएर जन्मजात रोगहरू, न्यूरोलोजिकल डिसअर्डर, एलर्जी, र दीर्घकालीन स्वास्थ्य समस्या भएका बालबालिकाहरू आउँछन् । म उनीहरुको उपचार गर्छु । विशेषगरी कर्णालीमा त समयमै रोग पत्ता नलाग्दा साधारण रोग पनि जटिल बन्छन् । त्यसैले परामर्श, जनचेतना र नियमित परीक्षणका कार्यक्रमहरू पनि हाम्रो ध्यानको केन्द्रमा छन् । तिनीहरूले सामान्य संक्रमणदेखि जटिल अवस्थासम्म बाल्यकालका विभिन्न रोगहरूको निदान र उपचार गर्छु । नवजात शिशु विशेषज्ञको रूपमा, तिनीहरू समयपूर्व र गम्भीर रूपमा बिरामी नवजात शिशुहरूको हेरचाहमा पनि ध्यान केन्द्रित गरेर सघन हेरचाह, निवारक हेरचाह, खोप, वृद्धि अनुगमन, र बच्चाहरूमा दीर्घकालीन अवस्थाबारे मैंले बिरामीहरूको परिवारहरूसँग नजिकबाट काम गर्दै आएकी छु ।
दुवै जना चिकित्सक हुनुहुन्छ कत्तिको सहज छ ?
हो, मेरो श्रीमान् डा. रूपक कँडेल वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँसँगै म व्यवसायिक र पारिवारिक दुवै यात्रामा अगाडि बढेकी छु । हामी दुबैजना बिरामीको सेवामा समर्पित छौं । तर समय व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । बालबच्चा, घर र अस्पताल तीनै क्षेत्रमा सन्तुलन राख्नुपर्छ । एकअर्काको कामको मूल्य बुझ्ने र समर्थन गर्ने संस्कारले नै हामीलाई सँगै अगाडि बढ्न सक्ने बनाएको छ ।
कर्णालीका बालबालिका कहिले बन्लान् स्वस्थ ?
यो दीर्घकालीन प्रक्रिया हो । पोषण, स्वच्छता, शिक्षा र स्वास्थ्य सेवाको पहुँच सँगसँगै बढेन भने समय धेरै लाग्छ । तर यदि सरकार, संघसंस्था र समुदायले मिलेर जिम्मेवारी लिइदिए १० वर्षभित्र उल्लेखनीय सुधार ल्याउन सकिन्छ । यसका लागि हामी चिकित्सकहरूले मात्र होइन, हरेक आमाबुवा, शिक्षक र स्थानीय तहले भूमिका खेल्नुपर्छ । सामुदायिक जनचेतना सबैभन्दा ठूलो औषधी हो ।
कर्णालीका लागि के योजना बनाउनु भएको छ ?
मेरो योजना भनेको ‘कर्णालीका कुनै पनि बच्चा उपचार अभावमा नमारून् ।’ त्यसका लागि मैले केही योजनाहरू अघि सारेकी छु । जस्तै दुर्गम बस्तीमा पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाएकी छु । विद्यालयस्तरमै पोषण परीक्षण र बालस्वास्थ्य जाँचको लागि केही पहल कदमी गर्ने योजना छ । मातृशिशु पोषण तालिम कार्यक्रम र आमाबाबुका लागि अभिभावक शिक्षा दिने योजना बनाएकी छु । साथै, भविष्यमा बालस्वास्थ्यमै केन्द्रित अस्पताल शाखा स्थापना गर्ने योजना पनि छ ।
अन्त्यमा केही छ ?
सपना जुनसुकै होस्, तर समर्पण र निरन्तरताले मात्र त्यसलाई सार्थक बनाउन सकिन्छ । म सानो छँदा डान्सर बन्न चाहन्थेँ । तर समयले डाक्टर बनायो । आज म बालबालिकाको जीवन जोगाउन पाउँदा अझ ठूलो सन्तुष्टि महसुस गर्छु । त्यसैले जुनसुकै पेसा रोज्नुहोस त्यसमा आत्मा हाल्नुहोस् । तपाईंको काम अरूका लागि आशा बन्नेछ भन्न चाहान्छु ।
खुलानजर । १५ जेष्ठ २०८२, बुधबार १४:३१