सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले देशको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्था अत्यन्तै गम्भीर रहेको बताएका छन् । मंगलबार सुर्खेत पुगेका उनले पत्रकार सम्मेलनमा बोल्दै राज्य प्रणाली नै कमजोर भएर देश चौतर्फी भ्रष्टाचारको चपेटामा परेको आरोप लगाएका हुन् ।
महासचिव बास्तोलाले सरकार जसको बने पनि नेतृत्वको अभाव रहेको र भ्रष्टाचार नै मूल समस्या बनेको बताए । उनले नेपालमा स्वाधीनता र समानताको कुरा गौण बन्दै गएको भन्दै यसकै कारण जनता आक्रान्त भएको उल्लेख गरे।
युवाशक्ति विदेशिन बाध्य भएका र रोजगारी सिर्जना गर्ने कुनै ठोस नीति नभएका कारण दैनिक हजारौं युवा विदेशिनु परिरहेको बास्तोलाको भनाइ छ ।
पाँच वर्षमा सम्पन्न हुने भनिएका विकास निर्माणका आयोजना अलपत्र भइ निर्माणका कार्यहरू १२–१५ वर्षसम्म पनि पूरा नभएको आक्रोश व्यक्त गरे । यस्तै उनले सरकारी सम्पत्ति लथालिङ्ग भएसंगै नेपालका विमानहरू बिग्रेर थन्किएकोले दैनिक करोडौं रुपैयाँ नोक्सान राज्यले व्यहोर्नु परेको बताए ।
उनले सत्यनिरूपण तथा मेलमिलाप आयोग निष्क्रिय भएकाले आयोगले कुनै प्रभावकारी काम नगरेको र देश लुछाचुडीको अवस्थामा पुगेको दावी गरे।
महासचिव बास्तोलाले नेकपा (बहुमत) को नवौँ महाधिवेशन सम्पन्न भइसकेको जानकारी गराउँदै त्यसमा देशलाई निकास दिन गम्भीर छलफल भएको बताए। उनका अनुसार पार्टीले समाजवादको मार्ग अवलम्बन गर्दै निम्न मागहरू अघि सारेको छ । उनले संयुक्त सरकार निर्माण, समावेशी र स्वाधीन सरकार गठन गर्नुपर्ने, वर्तमान प्रणालीले समस्या सिर्जना गरिरहेको भन्दै संघीय निर्वाचन प्रणाली खारेज गर्नुपर्ने माग गरे । प्रत्येक नागरिकलाई भूमि स्वामित्वको सुनिश्चितता ,जन्मसिद्ध जमिनको अधिकार दिनुपर्ने माग उनकाे छ।
महासचिव बास्तोलाले नेपाललाई समृद्ध बनाउने योजना ल्याउन सरकार असफल भएको आरोप लगाउँदै राजनीतिक परिवर्तन आवश्यक रहेको स्पष्ट पारे। पत्रकार सम्मेलनमा सुर्खेतस्थित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
खुलानजर । २० फाल्गुन २०८१, मंगलवार १३:४४