कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा कुन सांसद कति दिन उपस्थित भए ?

सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक २०७९ पुस १८ मा बस्यो। त्यसयता हालसम्म सभाको १०८ वटा बैठक बसेका प्रदेशसभा सचिवालयले जनाएको छ ।
संघीय संसद्‌मा सांसदहरूको उपस्थिति न्यून हुने गरेको सार्वजनिक भइरहँदा कर्णालीमा भने अधिकांश सांसदहरूको बैठकमा बलियो उपस्थिति देखिएको छ । सबैभन्दा कम उपस्थित भएका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह ६० दिन बैठकमा उपस्थित भएका छन् । जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित उनको स्थायी बसोबास काठमाडौंमा छ । संसद्को अभिलेख हेर्दा उनी मन्त्री हुनुभन्दा अघिका अधिवेशनमा कमै मात्र उपस्थित भएको देखिन्छ । तर, पछिल्लो समय उनी सबै बैठकमा सहभागी भइरहेका छन् । समग्रमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनदेखि नै सांसदहरूको उत्साहजनक सहभागिता रहेको सचिवालयको तथ्यांक छ । जनताको थलोका रूपमा हेरिने संसद्‌मा जनताका प्रतिनिधि सांसदहरूको उपस्थितिलाई चासोका साथ हेरिन्छ । कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ पाँचौं अधिवेशनसम्म सञ्चालनमा आएका १०३ वटा बैठकमा उपस्थित भएकी छन् । बैठकमा शतप्रतिशत उपस्थित हुनेमा मुख्यमन्त्री यामलाल कँडेल छन् ।
उपसभामुख यशोदा न्यौपाने १०१, सांसद इन्द्राकुमारी शाही १००, पूर्वऊर्जामन्त्री उर्मिला विश्वकर्मा ९३, कलबहादुर हमाल ९५ र कल्याणी खड्का ८७ दिन सदनमा उपस्थित भएका छन् । यस्तै, पूर्वमन्त्री कृष्णबहादुर बीसी ८८, पूर्वमन्त्री कृष्णबहादुर जीसी १०५, पूर्वमन्त्री खड्गबहादुर पोखरेल १००, भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री गमता विक १०५ र सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ९७ दिन सदनमा उपस्थित भएका प्रदेशसभा सचिवालयको अभिलेख छ ।
यस्तै, सांसद जानकी सिंह ८२, पूर्वमन्त्री जीतबहादुर मल्ल ९७ र पूर्वमूख्यमन्त्री जीवनबहादुर शाही ६७ दिन उपस्थित भएका छन् । सधैं बैठकमा उपस्थित हुने शाहीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साल एउटा पुरानो मुद्दामा प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएपछि निलम्बनमा परेका थिए । निलम्बन अविधबाहेकका बैठकमा उनी शतप्रतिशत उपस्थित छन् । शाहीले उक्त मुद्दामा विशेष अदालतबाट सफाइ पाइसकेका छन् । यस्तै, पूर्वमन्त्री टेकराज पछाईं १०६, जुम्कित लामा कार्की १०२, तुलसा मल्ल १०१, दक्षिणा शाही ९७, पूर्वमन्त्री दुर्गबहादुर रावत १०४, देवेन्द्रबहादुर शाही ९८, पूर्णबहादुर खत्री ९२ दिन, पूर्वमन्त्री वीरबहादुर शाही ९९, पूर्वमन्त्री भीम प्रकाश शर्मा ८५, पूर्वमन्त्री मंगलबहादुर शाही ९३, पूर्वमन्त्री महेन्द्र केसी ९४, मिलन खड्का रोका १०० दिन संसद् बैठकमा उपस्थित भएका छन् ।
यस्तै, पूर्वमन्त्री रणसिंह परियार १०२, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा ८७, सांसद लक्ष्मी सुनार १०२, वलीमाया बुढा १०१, ऊर्जामन्त्री विजया बुढा १०२, पूर्वमन्त्री विन्दमान विष्ट ९३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह ९४, पूर्वमन्त्री बेदराज सिंह १००, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा ८९, सांसद सन्तोषी शाही ७५ , उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारी ९९ र सांसद हिक्मत बहादुर विष्ट १०५ दिन संसद् बैठकमा हाजिर भएका छन् ।