शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीप प्रज्ज्वलन कार्यक्रम

सुर्खेत: अन्तरािष्ट्रय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार ‘शान्तिका लागि कार्यहरु : विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सहकर्मी समाज, मानव अधिकारका लागि महिला एकल समुह सुर्खेत र द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको आयोजनामा अन्तरक्रिया तथा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले नेपालमा सशस्त्र द्वन्द्वपछि भएको शान्ति सम्झौताले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको बताए । उनले यस्ता कार्यक्रमहरु गैरसरकारी संघ संस्थासँगै सरकारी निकायले पनि हर्षउल्लासका साथ मनाउनुपर्नेमा जोड दिए । त्यस्तै मानव अिधकारका रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले द्वन्द्व अशान्ति मच्चाएको नेपालमा पुराना केही घटनाका पीडितहरुले न्याय नपाएको भन्दै सरकारले त्यस्ता मुद्दामा न्यायपुर्ण निर्णय गर्न अनुरोध गरे ।


मानव अधिकारका लागि महिला एकल समुह सुर्खेतकी अध्यक्ष ममता नगालले यस्ता दिवस पीडितका लागि मात्रै नभई सबैका लागि भएको बताइन् । उनले सरकारले पनि पीडितहरुलाई उचित न्याय दिन जागरुप हुनुपर्ने बताइन् । इन्सेकका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले शान्ति जगाउन समाज र राज्यको भूमिका उत्तिकै रहेको बताए ।
त्यस्तै सहकर्मी समाजकी कार्यक्रम संयोजक नविना गिरीले यस्ता दिवसहरु सबै निकायले जोडदारका साथ मनाउनुपर्ने बताइन् । कार्यक्रममा अन्तरनिर्भर समाज सुर्खेत, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) लगायतका अधिकारवादी संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो ।