पञ्चपुरीले जग्गाधनी पुर्जाको काम युद्धस्तरमा गर्दै

सुर्खेत: पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पुर्जा वितरणको काम युद्धस्तरमा अगाडी बढाइएको छ । राष्ट्रिय भूमि आयोग सुर्खेतद्धारा नापजाँज गरिएका अव्यवस्थित, सुकुम्बासी, भूमिहिन दलितलाई पुर्जा वितरण गर्नेगरी नगरपालिका र आयोगले युद्धस्तरमा काम सुरु गरेको हो ।
जग्गाधनीलाई पुर्जा वितरण गर्न आयोग र नगरपालिकाका कर्मचारीले रातदिन काम गरेका छन् ।
माघ, फागुन र चैत महिनामा नापाजाँच गरिएका साविक सालकोट र बाबियाचौर भित्रका जग्गाहरुको आइतबारबाट पुर्जा वितरण गर्नेगरी तयारी थालिएको राष्ट्रिय भूमि आयोग पञ्चपुरीका भूमि इकाई संयोजक पुर्णबहादुर रावलले जानकारी दिए ।
उनका अनुसार नापजाँच गरिएका साविक सालकोट ८ ञ, सालकोट ८ झ, बाबियाचौर ४ क र ४ ख का पुर्जा आइतबारदेखि वितरण गरिने छन् ।


पञ्चपुरीमा ५८१ व्यक्तिगत, १४ बाटो, ५ खोल्सी, ५१ खाली, १९७ सडक, २ सेवा केन्द्र, १ पार्टी कार्यालय, १ थान भएको पुर्जाको वितरण तयारी गरेको इकाई संयोजक रावलको भनाई छ ।
पञ्चपुरीमा मात्र ६०० पुर्जा वितरण गर्नेगरी काम भइरहेको राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले जानकारी दिए ।
जग्गाधनीलाई पुर्जा वितरण गर्नका लागि रातदिन काममा लागि परेको पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का वडा कर्मचारी प्रेम सुनारले बताए ।
‘पहिला १० बजेबाट ५ बजेसम्म मात्रै काम गरिन्थ्यो । अहिले रातदिन भनी भूमि सम्बन्धी सेवाग्राहीका कामहरु गरिरहेका छौं । दैनिक एक सय नागरिकको काम कार्यालयमा बसेर नै गरिएको छ । रातमा पनि त्यस्तै काम गरेका छौं ,’कर्मचारी सुनारले भने, ‘अहिले १५ दिन यता दुईघण्टा मात्रै सुत्न पाइएको छ ।’
पुर्जा तिरणकोे काममा कर्मचारी मात्रै होइन, जनप्रतिनिधि पनि उतिकै खटेका छन् ।
पछिल्लो १५ दिन यता रात र दिनमा बराबरी काम गरेको वडा नम्बर ६ का कार्यवहाक वडा अध्यक्ष मनबहादुर बरैले बताए ।
आयोगले समयमा पुर्जा वितरण गरेपछि आफुहरुले विगतदेखि प्रयोग गर्दै आएको जग्गाले मान्यता पाउने भन्दै स्थानीय हर्षित बनेका छन् ।