
सुर्खेत: चौकुने गाउँपालिका–१, तालागाउँ सुर्खेतका स्थानीय नागरिकहरूले मदन भण्डारी राजमार्गको पुरानो २९.२ किलोमिटर लम्बाइको डि.पि.आर अनुसार सोही मार्ग हुँदै राजमार्गको कार्यान्वयन गर्न माग गरेका छन्।
स्थानीय संयोजक दिले बुढाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष बुझाइएको ज्ञापनपत्रमा भनिएको छ कि “मदन भण्डारी राजमार्ग” पूर्वी झापा जिल्लाको शान्तिनगर हुँदै सुर्खेत जिल्लाको बड्डीचौर गुटु,बेतान ,लगाम , धनरास धामिसेन तथा तालागाउँ बेनिघाट हुँदै सुदूरपश्चिम जिल्ला डोटि बाट डढेलधुराको रुकपाल सम्म जोडियको राजमार्ग उपेक्षित रहेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

ज्ञापनमा उल्लेख भएअनुसार, यदि राजमार्ग तालागाउँ–बेनीघाट मार्ग हुँदै निर्माण गरिएमा यो मार्ग कर्णाली तथा सेती नदीको संगम क्षेत्र हुँदै सुर्खेत, डोटी, र अछाम जिल्लाको पर्यटकीय तथा आर्थिक विकासको मेरुदण्ड बन्नेछ। यी तीनवटै जिल्लामा अवस्थित रमणीय स्थलहरू, धार्मिक तीर्थहरू र सांस्कृतिक पहिचानलाई जोड्ने यो राजमार्ग भविष्यमा एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनसक्ने विश्वास स्थानीयवासीको छ। सो अवसरको उचित उपयोग गरिएमा राज्यलाई पनि बहुपक्षीय लाभ पुग्ने स्पष्ट संकेत देखिन्छ।
ज्ञापनमा स्थानीयहरूले यसअघि पटक–पटक तयार गरिएको DPR अनुसार नै काम अघि बढाउन र अन्य वैकल्पिक मार्गका सट्टा पूर्वनिर्धारित मार्गलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूको भनाइमा, हालको वैकल्पिक रुट “धामीसेन वाट पाल्पाघाट” राजमार्ग लैजान खोज्दा पर्यटकीय, आर्थिक र रणनीतिक दृष्टिकोणले राज्यलाई घाटा हुने सम्भावना छ।
स्थानीय स्तरबाट उठाइएको यो आवाजले अब राष्ट्रिय तहको ध्यान खिच्ने संकेत देखिएको छ। यदि राज्यले गम्भीरतापूर्वक विचार गर्यो भने कर्णाली प्रदेशको पर्यटन, व्यापार, र क्षेत्रीय समावेशी विकासमा ठूलो टेवा पुग्नेछ।

जितबहादुर तिरुवा । १ श्रावण २०८२, बुधबार १५:१०