एक महिनादेखि एक्सरे सेवा ठप्प, नागरिक उपचारविहीन !

 

सुर्खेत: दुर्गम जाजरकोटमा स्वास्थ्य सेवा वर्षौंदेखि चुनौतीपूर्ण मानिँदै आएको छ । तर पछिल्लो एक महिनादेखि जिल्ला अस्पतालमा एक्सरे सेवा ठप्प भएपछि स्थानीय बासिन्दाले भोग्नु परेको समस्याले त्यहाँको स्वास्थ्य प्रणाली कति नाजुक र बेवास्तापूर्ण छ भन्ने अर्को उदाहरण बनेको छ । असोज ३ गते एक्सरे मेसिन बिग्रिएपछि अस्पतालले अहिलेसम्म सेवा पुनः सुरु गर्न सकेको छैन । जिल्लाकै मुख्य स्वास्थ्य संस्थामा रहेका साधारण सेवा अवरुद्ध भएपछि उपचारका लागि आएका बिरामीहरू झन् पीडित बन्न पुगेका छन् । अस्पतालका व्यवस्थापक डा। सुनिल पुनका अनुसार मेसिन मर्मतका लागि आवश्यक सामग्री नेपालमा उपलब्ध नहुँदा भारतबाट मगाउनुपर्ने भएकोले ढिलाइ भएको हो । ‘भारतबाट मगाएका छौं । सामग्री केही दिनमा आउनेछ, त्यसपछि सेवा सुचारु हुन्छ,’उनले भने ।गाउँघरबाट उपचारका लागि आएका सर्वसाधारणले भने सेवा अवरुद्ध हुँदा अझै ठूलो जोखिम व्यहोर्नु परेको छ । भेरी नगरपालिका–४ की सरस्वती शर्मा भन्छिन्– ‘साथै एक्सरे नहुने, सामान्य औषधी पनि नपाइने । बाध्य भएर बाहिर निस्कनै पर्ने भएको छ ।’

उनी मात्र होइनन्, दैनिक रूपमा अस्पताल धाउने गरिब, विपन्न, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, जोखिममा परेका समूह सबैजना उपचारका लागि अर्को जिल्लाको भर पर्न बाध्य छन् ।
उता, कारागार र प्रहरी हिरासतमा रहेका थुनुवा र कैदीबन्दीले पनि उस्तै समस्या भोगिरहेका छन् । एक्सरे आवश्यक पर्ने घाउ–चोट भएका थुनुवालाई अस्पतालले सेवा दिन नसक्दा सुरक्षाकर्मीले समेत जोखिम मोलेर बाहिर लैजानुपर्ने अवस्था छ ।

नियतिगत कमजोरी
जाजरकोट अस्पताल ५० शैया क्षमतामा स्तरोन्नति गरिएको करिब एक दशक बितिसक्दा पनि यहाँका नागरिकले आधारभूत सेवा पाउन संघर्ष गर्नुपरेको छ । अस्पतालमा विशेषज्ञ डाक्टर सात जनाको दरबन्दी रहेपनि दुई जना स्थायी र दुई जना करार मार्फत सेवा दिइँदै आएको छ । मेडिकल अधिकृत आठ जनामध्ये आधाभन्दा बढी करारमा भरिएको अस्पतालको संरचना कमजोर व्यवस्थापनको उदाहरण हो । अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार बत्तीको अनियमित आपूर्ति पनि मेसिन बिग्रनुका प्रमुख कारणमध्ये एक हो । ‘नियमित विद्युत् आपूर्तिबिना संवेदनशील मेसिन चलाउँदा पटक–पटक समस्या आउँछ, मर्मत पनि चुनौतीपूर्ण छ,’उनले भने ।
यस विषयमा स्थानीय स्तरको समन्वय र समस्या समाधानमा देखिएको उदासीनताले स्वास्थ्य सेवामा जनताको भनसुन सुनिँदैन । भेरी नगरपालिका–३ की शोभा सिंह भन्छिन्–‘जिल्ला अस्पतालमा रक्तस्राव रोक्ने औषधीसम्म छैन । गरिब र विपन्नले साहुबाट ऋण लिएर नेपालगन्ज, सुर्खेत, काठमाडौं धाउनुपर्ने स्थिति छ ।’
उनका अनुसार स्थानीय तह, अस्पताल व्यवस्थापन समिति र सरोकारवाला निकायको बेवास्ता नै अहिलेको स्वास्थ्य संकटको मुख्य कारण हो ।
जाजरकोटका ग्रामीण गाउँबस्तीका नागरिक एक्सरे सेवा नपाएपछि रुकुम पश्चिमको चौरजहारी, नेपालगन्ज र सुर्खेतका अस्पतालतिर ओइरिन बाध्य छन् । यातायात खर्च, उपचार खर्च र दिनभरको यात्रा, सबै मिलाउँदा गाउँका परिवारको आर्थिक अवस्था झनै कंगाल बन्दै गएको छ । जाजरकोट दुर्गम भौगोलिक क्षेत्र, कम आयस्रोत, सीमित पूर्वाधार र कमजोर सरकारी ध्यानका कारण स्वास्थ्य सेवामा वर्षौंदेखि पछि परेको जिल्ला हो। तर मुख्य अस्पतालमै महिनौँसम्म साधारण सेवासमेत ठप्प हुनु राज्यको दायित्वप्रति प्रश्न उठाउने विषय बनेको छ । विशेषज्ञ डाक्टर अभाव, औषधि अभाव, उपकरण बिग्रने, नियमित विद्युत् सेवा नहुने, स्थानीय तहको समन्वय कमजोर, यी सबै बाध्यताले जाजरकोटको स्वास्थ्य सेवामा समस्या परिरहेको छ ।
अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्दा जनतालाई नजिकै आधुनिक सेवा दिने लक्ष्य थियो । तर सेवामै अभाव बढ्दा नागरिकले धोका मात्र पाउँदै आएका छन् । एक्सरे सेवा कहिले सुचारु हुन्छ भन्ने प्रश्नसँगै दुर्गम क्षेत्रका नागरिकहरू अझै जोखिममा छन।