जसपाले नेपालगन्ज पनि खाेजेपछि गठबन्धनमा बल्झियाे विवाद

काठमाडाैं – आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिबकरिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ । मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेकाे हाे ।

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेकाे छैन । यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरकाे सिट दिने विषयमा छलफल भएकाे थियाे ।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबी गरेको हो । ११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खाेजेकाे हाे ।

६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक-एक मेयर पाउने गरी सहमति जुटिसकेकाे बताइएकाे छ ।