सुर्खेत: पञ्चपुरी नगरपालिका वडा नम्बर ६ ले वडा भित्रका अति विपन्न तथा गरिब परिवारका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेको छ। पञ्चपुरी नगरपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट अनुसार वडा नम्बर ६ अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त सहयोग सामग्री वितरण गरिएको हो।
वडाको वडा स्तरीय योजनाअन्तर्गत जनप्रतिनिधि तथा वडा कर्मचारीबीच विस्तृत छलफल गरी कार्यक्रम तयार पारिएको वडा कार्यालयले जनाएको छ। समूह प्राथमिक विद्यालयका १६ जना, गौरीशंकर प्राथमिक विद्यालयका २० जना, जनज्योति प्राथमिक विद्यालय भावरका १४ जना विद्यार्थीलाई स्टेशनरी सामग्री तथा भगवती प्राथमिक विद्यालय लाटीकाँडाका २४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।
कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष कर्णबहादुर तारामी, वडा सदस्य अनिता विक, मनबहादुर बरै, रत्ना विष्ट, वडा सचिव यमुना लम्साल, वडा कर्मचारी प्रेम सुनारलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा समूह प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रेम विष्ट, गौरीशंकर प्राथमिक विद्यालयकी कमला पाठक, जनज्योति प्राथमिक विद्यालय भावरका बुद्धि सापकोटा र धर्मराज खनाल, तथा भगवती प्राथमिक विद्यालय लाटेगाँडाका धर्मराज सिग्देलसहित स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
वडा कार्यालयले आर्थिक रूपमा कमजोर बालबालिकाको शैक्षिक पहुँच र निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

खुलानजर । ९ पुष २०८२, बुधबार ०८:००