सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ पुस्तक विमोचन

सुर्खेत: पत्रकार कलेन्द्र सेजुवालको पुस्तक ‘फल्स फ्रन्ट पेज’ को शनिबार काठमाडौंमा बिमोचन गरिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरे ।
‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपालको मात्र होइन, विश्वकै पत्रकारिताले बेलाबखत आफ्नो आधारभूत सिद्धान्तमा खेलवाड गर्ने गरेको उल्लेख छ । अन्तर्राष्ट्रिय पत्रकारिताका चर्चित कमजोरी यस खण्डमा रहेका छन् । यसका साथै नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्नेबारे लेखिएको छ । अनि प्रमुख अखबारका मुख–पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित गलत समाचारका केही दृष्टान्त पनि उल्लेख गरिएको छ ।
‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको ‘उपकथा’ खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनले देशको प्रस्तावित ६ प्रदेशको सीमांकनलाई बदलेर ७ प्रदेश बनाएको उल्लेख छ । आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे यस खण्डमा लेखिएको छ ।
पुस्तकको ‘मूलकथा’ खण्डमा (सीमांकन) ‘आन्दोलनको कसीमा मिडिया’ लाई राखिएको छ । सीमांकन आन्दोलनमा खास गरी सुर्खेती मिडियाको भूमिका कस्तो रह्यो भन्नेबारे यस खण्डमा उल्लेख गरिएको छ । स्थानीय पत्रिकाका पहिलो पृष्ठ (फ्रन्ट पेज) कति असन्तुलित, अधिक पक्षधर र पूर्वाग्रही थिए भन्नेबारे १५ दिनकै समाचार अध्ययन गरी विश्लेषणात्मक रुपमा उल्लेख  छ ।
महासंघका केन्द्रीय कोषाध्यक्षसमेत रहेका सेजुवालद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो । पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड  छन् ।
पुस्तक विमोचन गर्दै उपप्रधानमन्त्री पत्रकारिता सही मार्गमा हिँडेको खण्डमा मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताए । ‘हरेक क्षेत्रजस्तै पत्रकारिता क्षेत्रका पनि आफ्नै मूल्य–मान्यता, सिद्धान्त र आदर्श रहिआएका छन्, जसलाई सही रुपमा व्यवहारमा कार्यान्वयन गर्नु पर्दछ,’ उनले भने, ‘तर बेलाबखत अपवादका रुपमा पत्रकारितामा केही कमजोरी र त्रुटीहरु देखिने गर्दछन् । जो हामी सबैले देख्दै, भोग्दै र महसुस गर्दै आएका छौं ।’ उनले सञ्चार क्षेत्रले सत्य–तथ्य, सन्तुलित र विश्वनीय समाचार प्रदान गर्ने आफ्नो मूलधर्मबाट बिचलित हुन नहुने बताए । उपप्रधानमन्त्री खड्काले  पत्रकारिता क्षेत्रमा देखिएका बिकृति बिसंगतिलाई निर्मूल पार्दै स्वच्छ, सशक्त र विश्वनीय आधार निर्माणमा आफ्ना गतिविधिलाई केन्द्रित गर्नु अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए । ‘फल्स फ्रन्ट पेज’ सुर्खेत आन्दोलन र त्यहाँका सञ्चार माध्यमको भूमिमा केन्द्रित भए पनि पुस्तकले समग्र नेपाली पत्रकारितामा भएका त्रुटीहरु औंल्याएको बताए ।


वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताए । महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए । ‘सुर्खेत आन्दोलनमा मिडिया र राजनीतिका कुरादेखि नेपाली मिडियामा भएका सञ्चारमाध्यमका कमजोरीहरु उल्लेख भएका छन्,’ उनले भने । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय खोज पत्रकारिता संकटमा परेको बताउँदै पत्रकारले खोज तथा अनुसन्धान कार्य गर्नु सकारात्मक भएको बताए ।