बुवा पशुपती चालिसे र आमा सुमित्रादेबी चालिसेको कोखबाट २०४६ साल श्रावण ५ गते वीरेन्द्रनगर नगरपालिका–१२, नेवारे, सुर्खेतमा जन्मिएका डा.खेम नारायण चालिसे हाल कर्णाली प्रदेश अस्पताल, कालागाउँ मा कन्सल्टेन्ट फिजिसियन को रूपमा कार्यरत छन् ।
उनले चिकित्सा शिक्षातर्फ, एमबिबिएस चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज बाट पूरा गरेका हुन भने एम।डी आन्तरिक चिकित्सा र इन्टर्नल मेडिसिन विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट अध्ययन पूरा गरेका हुन् । उनले दम, रक्तचाप, मधुमेह, मिर्गौला रोग, थाइराइड समस्या जस्ता सर्ने र नसर्ने रोगको उपचार गर्छन् । उनै चालिसेसँग अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल मध्यम बर्गिय परिवारको शान्त परिवारमा बित्यो । हामी पाँच जना दाजुभाइ–दिदीबहिनी छौँ । तीमध्ये १ जना दाजु, ३ जना दिदीहरू हुनुहुन्छ र म घरको कान्छो छोरा हुँ । मेरो बुवा नेपाल सरकारको सुब्बा हुनुहुन्थ्यो । अहिले सेवानिवृत्त हुनुहुन्छ भने मेरी आमा गृहिणी हुनुहुन्छ । म सरकारी विद्यालयमा पढेपनी सानैदेखि पढाईमा अब्बल थिएँ । विद्यालयमा सँधै प्रथम हुन्थे । मैंले आफ्नो प्रारम्भिक शिक्षा श्री हस्तवीर प्राथमिक विद्यालय, चनौटे बाट कक्षा १ देखि कक्षा ५ सम्म पूरा गरेका हुँ । त्यसपछि कक्षा ६ देखि कक्षा एसएलसी सम्म अध्ययन श्री अमर ज्योति माध्यमिक विद्यालय, नेवारे बाट उत्तीर्ण गरें । प्लसटु विज्ञान संकायमा श्री जन उच्च माध्यमिक विद्यालयबाट पुरा गरेको हुँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
त्यो बेला यो बन्नुपर्छ भन्ने थाहा थिएन । बुवाको धार्मिक क्षेत्रमा गहिरो चासो भएकाले उहाँले मलाई धर्मशास्त्री बनाउने चाहना राख्नुहुन्थ्यो । बुवा पूजापाठ, कर्मकाण्ड तथा धर्मग्रन्थको अध्ययनमा सक्रिय हुनुहुन्थ्यो । त्यसैले एसएलसीको नतिजा आउँदासम्म मैले पनि बुवासँगै गीता, रामायण, भजनलगायत धार्मिक ग्रन्थहरूको अध्ययन गरें ।
एसएलसीको परीक्षामा प्रथम नतिजा प्राप्त गरेपछि मैंल श्री जन उच्च माध्यमिक विद्यालय, वीरेन्द्रनगरबाट विज्ञान संकायमा ं२ अध्ययन पूरा गरेँ । त्यही बेलादेखि नै मलाई डाक्टर बन्ने चाहना भयो ।
तर एमबिबिएस अध्ययनका लागि हामीसंग आर्थिक स्रोत थिएन । मैंले बुवाआमासँग छलफल गरेर काठमाडौं गएर एमबिबिएस इन्ट्रास परीक्षाको तयारीमा लागें । बुवाको चाहनाभन्दा फरक बाटो रोजें पनि मैले आफ्नो इच्छाअनुसार इन्ट्रान्स तयारी सुरु गरें ।
यसैबीच, बुवाले आफ्नो कार्यालयका सहकर्मीहरूसँग छोरो एमबिबिएस पढ्न काठमाडौं गएको छ, के सम्भव होला रु भनेर सल्लाह लिनुभएछ । कतिपयले सरकारी विद्यालयमा पढेकालाई इन्ट्रान्समा नाम निकाल्न गाह्रो हुन्छ भन्दै निराश बनाउने कुरा पनि गरेछन् । बुवाले नाम निकाल्न सकिन्छ, भनेर सोध्नुभयो । मैंले त्यहीअनुसार तयारी गरिरहेको छु मेरो इच्छालाई पूरा गर्न दिनुस् भनेर अनुरोध गरें ।
पहिलो प्रयासमै एमबिबिएसमा नाम निस्कियो, तर प्राइभेट कलेजमा । आर्थिक अभावका कारण त्यहाँ पढ्न सम्भव भएन । त्यसपछि छात्रवृत्तिका लागि पुनः तयारी गरें । धेरै मेहनतपछि नाम आयो, तर एक नम्बरको वेटिङ लिस्टमा । हार नमानि फेरि तयारी गरें । अन्ततः नाम निस्कियो र एमबिबिएस पढ्ने अवसर प्राप्त भयो।
चिकित्सक पढाईको यात्रा कस्तो रह्यो ?
मलाई चाँही मनबाटै एमबिबिएस पढ्नुपर्छ भनेर लागेको थिएँ । सरकारी विद्यालयबाट आएको मान्छेले बढी मेहनत गरेर नाम निस्केपछि पढ्न पाउँदा मलाई धेरै खुसी लाग्यो । बढी मेहनेत नगरी एमबिबिएस पढ्न त सजिलो बिलकुलै छैन । गाउँबाट आएका कारण प्रारम्भिक बेस अलि कमजोर नै थियो । कलेजमा त नेपाल टपरहरू हुन्थे । मसँग तुलना गर्दा म आफूलाई कमजोर ठानिनँ, तर थाहा थियो म बढी मेहनत नगरी हुँदैन । उनीहरू एकचोटि पढ्थे, म पाँचचोटि पढ्नुपथ्र्यो ।
अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । किनभने म यता विद्यालय प्रथम भएर पढ्न गएको थिएँ । तर त्यता नेपाल भरका कोही जिल्ला टपर कोही नेपाल टपर आउने रहेछन् । म यिनीहरुको हिसावमा कमजोर भएपनी मैंले कहिल्यै कमजोर फिल गरिँन । साथीहरुले एकैछिन पढ्दा बित्तिकै याद गर्थे । तर मलाई तिनीहरुको लेबलमा जानको लागि एउटा कुरा याद गर्न चार पाँच पटक पढ्नपथ्र्यो । पढाईमा निरन्तर चासो राखेँ ।धेरै चुनौतीपूर्ण रह्यो। एमबिबिएस सजिलै पढिने विषय होइन। पढिरहने बानी भएकाले फाइदा त भयो तर अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए । जीवविज्ञानका जटिल सिद्धान्तहरू बुझ्नुपर्ने, लामो समयसम्म पढ्नुपर्ने, प्रयोगात्मक अभ्यास गर्नुपर्ने हुन्थ्यो । चिकित्सा शिक्षातर्फ मैंले एमबिबिएस अध्ययन चिकित्सा शास्त्र अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज बाट पूरा गरेको हुँ । मैंले आठौँ तहमा नाम निकालेर सरकारी सेवामा कार्यरत थिएँ । पछि एम।डी। अध्ययनका लागि छात्रवृत्तिमा नाम निस्किएपछि मैंले सरकारी जागिर छोडेर एमडी। अध्ययन पूरा गरें । त्यसपछि मैंले एम।डी आन्तरिक चिकित्सा र इन्टर्नल मेडिसिन विषयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल बाट अध्ययन पूरा गरें ।
रक्तचाप किन हुन्छ नि ?
रक्तचाप भनेको मुटुले पम्प गरेको रगतले रक्तनली (नसा) का भित्तामा पार्ने दबाब हो । मुटु धड्किँदा रगत नसा–नसामा बग्छ, यही बग्ने क्रममा नसा भित्तामा पर्ने दबाबलाई रक्तचाप भनिन्छ ।
रक्तचाप बढ्नुका मुख्य कारणहरू वंशानुगत कारणले वा परिवारमा रक्तचापको समस्या भएका व्यक्तिहरूमा यो रोग हुने सम्भावना बढी हुन्छ । दैनिक खानेकुरामा बढी नुनको सेवन गर्दा शरीरमा पानी जम्मा भई रक्तचाप बढ्न सक्छ ।
असन्तुलित जीवनशैलीमा व्यायामको कमी, लामो समयसम्म बसिरहने बानी र शारीरिक निष्क्रियताले रक्तचाप बढाउँछ।
मानसिक तनाव चिन्ता र निद्राको कमीले पनि रक्तचाप बढ्न सक्छ ।
मोटोपन वा शरीरको तौल बढेसँगै मुटुले बढी मेहनत गर्नुपर्ने हुँदा रक्तचाप बढ्ने जोखिम हुन्छ ।
धूम्रपान र मदिरा सेवनमा चुरोट, सुर्तीजन्य पदार्थ तथा अत्यधिक मदिरा सेवनले रक्तनली साँघुरो बनाइ रक्तचाप बढाउँछ ।
उमेर बढ्दै जाँदा रक्तनली कडा हुँदै जान्छन्, जसले रक्तचाप बढ्न सहयोग पु¥याउँछ । अन्य रोगहरू मधुमेह, मिर्गौला रोग, थाइराइड समस्या जस्ता रोगले पनि रक्तचाप बढ्न सक्छ ।
मधुमेह किन हुन्छ ?
मधुमेह मुख्यतया शरीरमा इन्सुलिनको कमी वा इन्सुलिनले राम्रोसँग काम नगर्दा हुन्छ। वंशानुगत कारण, असन्तुलित आहार, मोटोपन, शारीरिक निष्क्रियता, मानसिक तनाव र उमेर बढ्दै जाँदा यसको जोखिम बढ्छ।
मधुमेहको लक्षण कस्तो अवस्थामा देखिन्छ ?
धेरै पटक मधुमेह सुरुवाती अवस्थामा लक्षणबिनै हुन्छ । तर बारम्बार पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने, तौल घट्ने, थकान, आँखाले धमिलो देख्ने, घाउ ढिलो निको हुने जस्ता लक्षण देखिन सक्छन् । यस्ता लक्षण देखिएमा तुरुन्त जाँच गर्नुपर्छ ।
मधुमेह बच्चामा पनि हुन्छ ?
हुन्छ। बच्चामा देखिने मधुमेहलाई टाइप–१ मधुमेह भनिन्छ, जुन इन्सुलिन पूर्ण रूपमा नबन्ने कारणले हुन्छ। यो अचानक देखिन सक्छ र इन्सुलिन जीवनभर आवश्यक पर्न सक्छ । त्यसैले बच्चामा असामान्य लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनुपर्छ ।
कस्ता उमेरका मान्छे बढी उपचारमा आउँछन् ?
हाल ३० वर्ष माथिका व्यक्तिहरूमा मधुमेह र रक्तचाप बढी देखिन्छ। तर पछिल्लो समय जीवनशैली परिवर्तन, जंक फुड, व्यायामको कमीका कारण कम उमेरमै पनि यस्ता रोग देखिन थालेका छन् ।
कर्णालीमै किन सेवा गरिरहनु भएको छ ?
कर्णाली मेरो जन्मथलो हो । यहींको माटोमा खेलेर, आमा बुवाको दुख देखेर हुर्किएको हुँ । अहिले म कर्णाली प्रदेश अस्पताल, कालागाउँ मा कन्सल्टेन्ट फिजिसियन को रूपमा यहीँ सेवा दिन पाउँदा गर्व लाग्छ । मेरो प्रयास यहीँका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने हो।कर्णाली स्वास्थ्य सेवाको दृष्टिले अझै पनि पछाडि परेको क्षेत्र हो। यहाँ दक्ष चिकित्सकको आवश्यकता धेरै छ। आफ्नो जन्मभूमि र पछाडि परेका नागरिकलाई सेवा गर्ने जिम्मेवारीको भावना भएकाले कर्णालीमै बसेर सेवा गरिरहेको छु ।
भावी कार्ययोजना के छ ?
कर्णालीमै रहेर आन्तरिक रोगसम्बन्धी सेवा अझ प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने र युवा चिकित्सकलाई प्रेरित गर्ने योजना छ। साथै, ग्रामीण तहसम्म विशेषज्ञ सेवा पु¥याउने लक्ष्य राखेको छु।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
स्वास्थ्यप्रति सचेत रहनुहोस्। रोग लागेपछि मात्र होइन, लाग्नुअघि नै जाँच र जीवनशैली सुधार आवश्यक छ। कर्णालीका नागरिकलाई सेवा गर्न पाएकोमा म गर्व महसुस गर्छु र आगामी दिनमा अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

अंगराज परियार । २३ पुष २०८२, बुधबार १७:१२