पर्यटकको पर्खाइमा भेरीगंगाको गिद्धेडाँडा

सुर्खेत: एक सय पर्यटकीय गन्तव्यको सूचीमा समेटिएको सुर्खेतको भेरीगंगा नगरपालिका–५, हात्तिखालस्थित गिद्धे डाँडा अझै पनि पर्यटकको प्रतीक्षामै छ । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार विकास नहुँदा यो क्षेत्र ओझेलमा परेको छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७५-०७६ मा गिद्धे डाँडालाई लक्षित गर्दै पर्यटन पूर्वाधार विकासका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट गिद्धे डाँडासम्म पुग्न ९४५ सिँढी निर्माण, डाँडाको टुप्पोमा सिद्धबाबाको मन्दिर तथा पर्यटकका लागि धर्मशाला निर्माण गरिएको थियो । तर, त्यसयता झण्डै सात वर्ष बितिसक्दा पनि संघ र प्रदेश सरकारबाट थप बजेट विनियोजन नहुँदा विकासका काम ठप्प छन् ।
भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालका अनुसार गिद्धे डाँडामा लोपोन्मुख गिद्ध प्रजातिको प्राकृतिक बासस्थान रहेकाले यसको नाम गिद्धे डाँडा राखिएको हो । ‘यो डाँडाबाट उत्तरतर्फका हिमश्रृंखला र दक्षिणतर्फ दाङ, बाँके, बर्दिया, कैलालीसम्मका भू–भाग सहजै अवलोकन गर्न सकिन्छ,’उनले भने, ‘प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाको संगम भएकाले यो क्षेत्र कर्णालीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

ढकालका अनुसार छिन्चुबाट लेखहात्तिखाल हुँदै झण्डै १४ किलोमिटरको दूरी पार गरेपछि गिद्धे डाँडा पुगिन्छ । सडक, खानेपानी, शौचालय, दृश्यावलोकन टावर, सूचना केन्द्र जस्ता आधारभूत पूर्वाधारको अभावका कारण पर्यटक आकर्षित गर्न कठिन भइरहेको उनको भनाइ छ ।भेरीगंगा नगरपालिकाकी उपप्रमुख धनसरा बोहराले गिद्धे डाँडाको धार्मिक महत्वलाई उजागर गर्दै संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताइन् । ‘डाँडाको शिखरमा रहेको सिद्धबाबाको मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ,’ उनले भनिन्, ‘धार्मिक पर्यटनसँगै प्रकृति र संस्कृति जोडेर विकास गर्न सके स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुग्छ ।’ उनका अनुसार नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद गिद्ध संरक्षण, अर्गानिक भिलेज प्रवर्द्धन र स्थानीय समुदायको सहभागितामा पर्यटन विकास गर्ने योजना अघि सारेको छ । ‘तर एक्लो स्थानीय तहको प्रयास पर्याप्त हुँदैनझ उनले भनिन्,  ‘बहुवर्षीय योजना बनाएर संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक छ ।’

गिद्दे डाँडामा पत्रकार महासंघ सुर्खेतको टाेली

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाले नगरपालिकाबाट याे क्षेत्रका लागि बजेट बिनियाेजन गर्ने प्रतिवद्दता व्यक्त गरे ।भेरीगंगा नगरपालिकाका-५ का वडाअध्यक्ष प्रेम सारुले याे क्षेत्रकाे विकास गर्न सके पर्यटन प्रवद्वनमा टेवा पुग्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले गिद्धे डाँडालाई स्थानीय गन्तव्यको रूपमा मात्र नभई कर्णालीकै नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताए । ‘यहाँ लोपोन्मुख गिद्धको बासस्थान हुनु आफैँमा ठूलो पहिचान हो,’उनले भने, ‘यसलाई संरक्षणसँगै प्रचार–प्रसार गर्न सके वातावरणीय पर्यटनको उत्कृष्ट उदाहरण बन्न सक्छ ।’

हात्तीखाल गाउँ

उनले गिद्ध संरक्षण, धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यलाई एउटै प्याकेजमा विकास गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित हुने उल्लेख गरे । ‘मिडियाको भूमिका पनि यहाँ महत्वपूर्ण हुन्छ,’ उनले थपे, ‘सरकारले बजेट दिन्छ कि दिँदैन भन्नेभन्दा पनि यो क्षेत्र किन आवश्यक छ भन्ने कुरा निरन्तर उठिरहनुपर्छ ।’
नेपाल पत्रकार महासंघ सुर्खेतका जिल्ला अध्यक्ष सुशीलराज शर्माले गिद्धे डाँडाको पर्यटन विकास कर्णालीको समग्र पर्यटन रणनीतिसँग जोडिनुपर्ने धारणा राखे । ‘कर्णालीलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यस्ता सम्भावनायुक्त स्थानलाई बेवास्ता गर्नु हुँदैन,’ उनले भने, ‘गिद्धे डाँडा धार्मिक, जैविक र दृश्यावलोकनको त्रिवेणी हो ।’
उनका अनुसार पूर्वाधार विकाससँगै स्थानीय उत्पादन, होमस्टे, अर्गानिक कृषि र सांस्कृतिक कार्यक्रम जोड्न सके दीगो पर्यटन सम्भव छ । ‘पर्यटन केवल संरचना निर्माण मात्र होइन, स्थानीय जीवनशैलीसँग जोडिनुपर्छ,’शर्माले भने ।

खुकुरीकाे धार जस्तै देखिने गिद्दे डाँडा

प्रकृतिको सुन्दर दृश्य, अर्गानिक भिलेजको सम्भावना, लोपोन्मुख गिद्धको बासस्थान र धार्मिक आस्थाले भरिपूर्ण गिद्धे डाँडा आज पनि सरकारी बेवास्ताका कारण पर्यटकको पर्खाइमा छ । यदि समयमै समन्वित पहल हुन सके, गिद्धे डाँडा भेरीगंगामात्र होइन, कर्णालीकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ ।