उद्दार र राहतका लागि तयारी अवस्थामा छौं : प्रजिअ सापकोटा

सुर्खेत: शनिबारदेखि देशका विभिन्न जिल्लाहरुमा परेको वर्षा कर्णालीमा पनि निरन्तर बढीरहेको छ ।
वर्षा बढेसँगै सुर्खेत जिल्ला प्रशासन कार्यालयले जोखिम ठाउँमा सतर्क रहन अनुरोध गरेका छन् ।
आइतबार प्रकोप पूर्वतयारी सञ्जाल (डिपीनेट) नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश स्तरीय विपद जोखिम न्यूनिकरण नीति कार्यान्वयन तथा सिकाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।
विपद् प्रतिकार्य र विपदपछिको उद्दार र राहतमा स्थानीय तहहरुको पनि महत्वपुर्ण भूमिका रहेकोले आवश्यक समन्वय सहकार्य गरेर काम गर्न अनुरोध गरे ।
‘हामीले सम्भावित विपद्लाई मध्यनजर गर्दै उद्दार र राहतका लागि हेलिकप्टर र सुरक्षाकर्मी तयारी अवस्थामा राखेका छौं,’प्रजिअ सापकोटाले भने, ‘यो अवस्थामा स्थानीय तहको पनि महत्वपुर्ण भूमिका रहेको हुँदा समन्वय र सहकार्य गरेर अगाडी बढ्न आवश्यक छ ।’
उनका अनुसार जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ, साझघाट, तरंगा, पाक्मा र रानीघाटका गाउँ र पञ्चपुरी नगरपालिको तिखाकुना, वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर २, ३, ९ र १० का विभिन्न स्थानमा जोखिममा रहेका छन् ।
प्रशासनले बबई, भेरी र कर्णाली नदीका तटीय क्षेत्रका नागरिकलाई उच्च सर्तक अपनाउन आग्रह गरिएको छ । यी स्थानका नागरिकहरुलाई सजग हुनका लागि सम्बन्धि वडाका जनप्रतिनिधिहरूलाई तयारी अवस्था रहनका लागि सुचना गरिएको छ ।
कार्यक्रममा कर्णालीमा विपदको अवस्था, तीनै तहका सरकारले गरेका नीति नियम र ऐन कार्यान्वयनको अवस्थाका विषयमा समेत समिक्षा गरिएको डिपीनेटका कार्यवहाक अध्यक्ष राजु थापाले जानकारी दिए ।
त्यस्तै प्रकोप पूर्वतयारी सञ्जाल (डिपीनेट) सोसेक नेपाल दैलेखका हिरासिंह थापाको संयोजकत्वमा ८ सदस्यीय कर्णाली प्रदेशमा संस्थागत समिति गठन गरिएको छ ।
जसको सदस्यमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट, सामाजिक विकास नेपाल सल्यान, समाज जागरण केन्द्र सुर्खेत, भीडिसेफ नेपाल कालिकोट, सुर्य सामाजिक सेवा संघ जुम्ला, रुकुमेली समाज विकास केन्द्र रुकुमपश्चिम र शारदा रुकुमपश्चिम समितिको सदस्य रहेका छन् ।