सुर्खेत: २०४८ सालदेखि सुर्खेत क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस पूर्व कार्यवाहक अध्यक्ष पूर्णबहादुर खड्का गत प्रतिनिधिसभा निर्वाचनमा ४२ हजार ६ सय ७ मतसहति छैटौंपल्ट सांसद बने । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७४ सालको चुनावमा हार व्यहोरेका उनी २०६४ सालको संविधानसभामा भने समानुपातिक सांसद थिए ।
उनले लामो समयदेखि जित्दै आएको उक्त क्षेत्रमा कांग्रेसले उनका भाइ विष्णुबहादुरलाई उम्मेदवार बनाएको छ भने पूर्णबहादुरसँग एकपल्ट जित र एकपल्ट हार व्यहोरेको ध्रुवकुमार शाही एमालेका तर्फबाट चुनावी मैदानमा छन् । जसका कारण सुर्खेत–१ को निर्वाचन रोचक बनेको छ ।
२०७४ सालमा शाहीले ३६ हजार ७ सय ५९ मत ल्याएर जित्दा पूर्णबहादुरले ३३ हजार २ सय ७७ मतमा चित्त बुझाए भने गत प्रतिनिधिसभा निर्वाचनमा पूर्णबहादुर विजेता हुँदा शाही ३० हजार ९ सय ८८ मतमै सीमित भए । शाही एमालेका एमाले प्रदेश कमिटी सचिव हुन् । ५५ वर्षीय ध्रुवकुमार शाहीले २०४५ सालमा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा अनेरास्ववियूबाट राजनीति थालेका थिए । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी २७ वर्षको उमेरमा २०५४ सालमा साविक मासहारे गाविसको अध्यक्षमामा निर्वाचित भएका थिए । उनी नेकपा एमालेको दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन् ।
कांग्रेस उम्मेदवार एवं पूर्णबहादुरका भाइ विष्णुले पहिलोपल्ट निर्वाचनमा भाग लिएका हुन् । उनी पार्टीका जिल्ला उपसभापति हुन् भने सुर्खेतका स्थापित व्यववसायी पनि । खड्काले माया नर्सिङ होम र न्यू माया आयल स्टोर सञ्चालन गरिरहेका छन् भने मध्यपश्चिमाञ्चल यातायात व्यवसायी प्रालिको अध्यक्ष छन् । उनले जनपक्षीय कानुन निर्माण, जिल्लाका समस्याबारे सरकारलाई खबरदारी गर्न तथा सुर्खेतको विकास र समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए ।
‘म उहाँ (पूर्णबहादुर०)को भाइ त हुँ नै, राजनीति, व्यवसाय र समाजसेवामा मेरो पनि छुट्टै पहिचान छ, दाइले पूरा गर्न नसकेका चुनावी बाचा पूरा गर्ने गरी निर्वाचनमा होमिएको छु,’ उनले भने, ‘पार्टीको बलियो संगठन र क्रियाशिलताका कारण पनि म सजिलै विजयी हुन्छु ।’ खड्काको समाजसेवी भावना, नेतृत्वदायी भूमिका र गहिरो जनसम्बन्ध जितको आधार भएको कांग्रेस सुर्खेतका सभापति खडकबहादुर पोखरेलले बताए ।
क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट जीतबहादुर रानाले प्रतिस्पर्धा गर्दैछन् । २०४७ देखि राजनीतिमा लागेका उनी पूर्वलडाकु कमाण्डर हुन् । उनी यसअघि माओवादीको सुर्खेत जिल्ला इन्चार्ज थिए । लामो समयदेखिको राजनीतिक त्याग, इमान्दारी र जनताप्रतिको आत्मीय सम्बन्ध आफ्नो जितको आधार रहेको उनले बताए ।
‘अहिलेसम्म जनताकै काममा जनतासँगै सक्रिय छु, मतदाताका समस्यामार्फत सरकारलाई जवाफदेही बनाउने र सुर्खेतको विकास मेरो एजेन्डा हुन्,’ उनले भने, ‘युवालाई रोजगारीमा जोड्ने र जेनजी आन्दोलनको मर्मलाई संस्थागत गर्ने मेरो प्रतिबद्धता छ ।’
जेन–जी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुर्खेत–१ को उम्मेदवार छन् । उनी राप्रपा केन्द्रीय सदस्य हुन् । व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध आफ्नो उम्मेदवारी रहेको उनले बताए । ‘जेनजी आन्दोलनका मुद्दालाई संस्थागत गर्न पनि संसदमा युवा प्रतिनिधित्व आवश्यक छ, युवापुस्ताले चाहेको समृद्धि, विकास र जनअपेक्षा पूरा गर्ने नै मेरो एजेन्डा हो,’ उनले भने, ‘हामी युवाले नै विकृत राजनीतिलाई जनअपेक्षाअनुरूपको बनाउने हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टेकबहादुर सिंह चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका पूर्वजिल्ला उपसभापति सिंह गत मंसिरमा रास्वपा प्रवेश गरेका थिए । प्रचारप्रसार, घरदैलो, मतदाता भेटघाटलगायतलाई तीव्रता दिएको उनले बताए ।
‘पुराना राजनीतिक दलप्रति जनतामा वितृष्णा छ, जनताप्रति उत्तरदायी हुँदै कानुन निर्माण र विकासलाई सँगसँगै लैजाने मेरो एजेण्डा हो,’ उनले भने, ‘सुशासन, जनअपेक्षाअनुसारको विकास, भ्रष्टाचारको अन्त्य र मौलिक हकको पूर्णरूपमा कार्यान्वयन गरी जनतालाई व्यवहारतः सार्वभौम बनाउने मेरो प्रयास रहनेछ ।’
सुर्खेत–१ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख दलहरूको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहौललाई हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले र नेकपाबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको नागरिक अगुवा चन्द्रबहादुर ओली बताउँछन् । पार्टीहरूका एजेण्डा र उम्मेदवारहरूको क्षमता हेरेर सबैभन्दा सक्षम र योग्य व्यक्तिलाई मतदाताले विजयी बनाउनुपर्ने उनको तर्क छ ।
‘अब पार्टीभन्दा पनि उम्मेदवारको क्षमता महत्वपूर्ण छ, उम्मेदवारको झूटा आश्वासनकै कारण जेनजी विद्रोह भयो,’ उनले भने, ‘यही निर्वाचनबाट जेनजी आन्दोलनका मुद्दाहरू संस्थागत गर्नुपर्ने आवश्यक्ता छ, त्यसैले मतदाताहरू थप सचेत भएर मतदान गर्न जरुरी छ, अहिलेको भोटले पछि पछुताउनु नपरोस् ।’ गत प्रदेशसभा निर्वाचनमा १ ९१० बाट कांग्रेसका खड्गबहादुर पोखरेल १८ हजार २ सय ६४ मतसहित र १ ९२० मा नेकपाका कृष्णबहादुर जीसी २१ हजार ७ सय ३४ मतसहित विजयी भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुर्खेत–१ मा १३ जना उम्मेदवार छन् ।
यो क्षेत्रमा वीरेन्द्रनगर–१५ र १६ सहित भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिका तथा सिम्ता र चिन्गाड गाउँपालिका छन् । एमालेले वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता तथा चिन्गाड गाउँपालिका जितेको छ भने गुर्भाकोटमा कांग्रेस विजयी भएको छ ।

खुलानजर । १६ माघ २०८२, बिहीबार ०९:५४