पहुँचयुक्त मतदान शिक्षा तालिम सम्पन्न


सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त मतदान शिक्षा सम्बन्धी एक दिने तालिम शनिबार वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।
सहभागीहरूलाई मतदान प्रक्रिया, मतदाता शिक्षा तथा पहुँचयुक्त मतदानका विषयमा सरल, व्यवहारिक र अपाङ्गमैत्री तरिकाले जानकारी गराइएको थियो । तालिमका स्रोत व्यक्ति सूर्य भट्टराई र रत्ना रानाले मतदान गर्दा ध्यान दिनुपर्ने विषय, मत हाल्ने तरिका, गोपनीयता र मतदाता अधिकारबारे सहजीकरण गरेका थिए ।
तालिमकाे अन्त्यमा नमुना मतदान प्रक्रिया (मक इलेक्सन) अभ्यास समेत गराइएको थियो । अभ्यासका क्रममा सहभागीहरूले आफैं मतपत्र प्रयोग गरी नमुना मतदान प्रक्रियामा सहभागी भएका थिए । उक्त अभ्यासले वास्तविक निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे सहभागीहरूमा आत्मविश्वास बढेको बताइएको छ ।
अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा विभिन्न १० प्रकारका अपाङ्गता भएका २१ जनाको सहभागिता रहेको थियो । तीमध्ये १५ जना अपाङ्गता भएका व्यक्तिलाई आगामी दिनमा समुदायस्तरमा मतदान शिक्षा प्रवाह गर्न परिचालन गरिने जनाइएको छ । कार्यक्रमको अध्यक्षता प्रथमा श्रेष्ठ, सञ्चालन एलिना मर्साङ्गी, स्वागत मन्तव्य तारा पुलामी मगरले गरेकी थिइन् ।