रेक्चामा खानेपानी समस्या समाधान गर्न आयोगको आग्रह

सुर्खेत: राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयले सुर्खेतको चोकुने गाउँपालिका–५ रेक्चामा देखिएको दीर्घकालीन खानेपानी समस्याप्रति चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
आयोगको कर्णाली प्रदेश कार्यालय सुर्खेतले बुधबार पठाएको चिठीमा रेक्चाका स्थानीयले लामो समयदेखि आधारभूत खानेपानीको अभाव झेल्दै आएको विषयमा स्थलगत अनुगमन गरेको जनाएको छ । आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ फागुन २९ गते संयुक्त रुपमा गरिएको उक्त अनुगमनका क्रममा स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल समेत गरिएको पत्रमा उल्लेख गरिएको छ ।
अनुगमनबाट प्राप्त जानकारी अनुसार उक्त क्षेत्रमा खानेपानीको समस्या अझै पनि गम्भीर रहेको पाइएको आयोगले जनाएको छ । आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापाद्वारा हस्ताक्षरित पत्रमा स्थानीय तहबाट केही प्रयासहरू भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको निष्कर्ष निकालिएको उल्लेख छ ।
आयोगले चोकुने गाउँपालिका, जनप्रतिनिधि तथा सम्बन्धित सरकारी निकायलाई खानेपानी समस्याको दिगो समाधान गर्न आवश्यक पहल तीव्र बनाउन आग्रह गरेको छ । साथै, नागरिकको आधारभूत मानव अधिकार अन्तर्गत पर्ने स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न ढिलाइ नगर्न सुझाव दिएको छ ।
त्यस्तै आयोगले वडा कार्यालय मार्फत ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई प्रदान गरिने सेवाहरू सहज र प्रभावकारी बनाउन पनि जोड दिएको छ । उक्त विषयमा आयोगले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेश, जिल्ला समन्वय समिति सुर्खेत, चोकुने गाउँपालिका, वडा नम्बर ५ को कार्यालय, कादुरी संस्थालाई समेत बोधार्थ पठाएको छ ।