बर्नरसहितको सुधारिएको चुलो निर्माण तालिम पञ्चपुरीमा सुरु


सुर्खेत: पञ्चपुरी नगरपालिकामा बर्नरसहितको आधुनिक सुधारिएको दुईमुखे चुलो निर्माणसम्बन्धी नौंदिने सीप विकास तालिम साेमबारबाट सुरु भएको छ। आवाज संस्था र TDH/MISEREOR/KZE को साझेदारीमा सञ्चालित ‘नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवाहरूमा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना’अन्तर्गत तालिम सञ्चालन गरिएको हो।
बाबियाचौरस्थित डेविड होटलमा आयोजित कार्यक्रममा तालिमको उद्घाटन गरिएको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर राेकायाले जानकारी दिए । पञ्चपुरी नगरपालिका–१ देखि ११ वडासम्मका समूहबाट छनोट भएका ३३ जना महिला तालिममा सहभागी छन्। दलित, एकल महिला, घरेलु हिंसाबाट प्रभावित तथा आर्थिक रूपमा विपन्न महिलालाई प्राथमिकतामा राखेर सहभागी छनोट गरिएको आयोजकले जनाएको छ।
आवाज संस्था सुर्खेतका सञ्चालक समिति सदस्य मोतीप्रसाद सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारी प्रमुख अतिथि थिए। कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारी, वडा नम्बरका अध्यक्ष नगेन्द्रबहादुर शाही, वडा नम्बर ८ का अध्यक्ष दीपककुमार थापा, वडा नम्बर ९ का अध्यक्ष पूर्णप्रसाद घिमिरे, नगरपालिकाका विपद् शाखा प्रमुख तथा प्रशिक्षकहरूको सहभागिता थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले सीपमूलक तालिमले महिलाको आत्मविश्वास, नेतृत्व क्षमता र आर्थिक आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। सुधारिएको दुईमुखे चुलोले दाउराको खपत घटाउनुका साथै भान्सामा हुने धुवाँ कम गरी स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुर्‍याउने उनको भनाइ थियो।


नगरपालिकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत आवश्यक सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले तालिमबाट प्राप्त सीपलाई आयआर्जनसँग जोड्न सहभागीलाई आग्रह गरे।
आवाज संस्था सुर्खेतका सञ्चालक समिति सदस्य सापकोटाले स्थानीय स्रोत र सीपको उपयोगमार्फत समुदायमै दिगो रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। पञ्चपुरीमा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रमबारे जानकारी दिँदै उनले सुधारिएको चुलोले समुदायको स्वास्थ्य, वातावरण र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए।
वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम व्यावहारिक र प्रशंसनीय रहेको बताए। खर, माटो र भुसजस्ता स्थानीय सामग्रीको प्रयोग गरी निर्माण गरिने सुधारिएको चुलोको प्रयोगले धुवाँ कम गर्नुका साथै इन्धनको बचत गर्ने भएकाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न उनले सहभागीलाई आग्रह गरे।
उनले नगरपालिकाका सबै वडाको तर्फबाट कार्यक्रमको सफलताको शुभकामना दिँदै अभियानमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटनपछि तालिम पञ्चपुरी नगरपालिका–८ को दुलालथाई र माझिगाउँमा व्यावहारिक अभ्याससहित सञ्चालन भइरहेको छ। नौ दिनसम्म सञ्चालन हुने तालिममा सहभागीले बर्नरसहितको आधुनिक सुधारिएको दुईमुखे चुलो निर्माणको व्यावहारिक सीप सिक्नेछन्।
आयोजकका अनुसार तालिमपछि सहभागीले आफ्नै समुदायमा सुधारिएको चुलो निर्माणसम्बन्धी सेवा प्रदान गर्न सक्नेछन्। कार्यक्रममार्फत आगामी तीन वर्षमा पञ्चपुरीका करिब २ हजार ५ सय घरधुरीमा सुधारिएको दुईमुखे चुलो निर्माण गर्ने लक्ष्य राखिएको छ।
सुधारिएको चुलोको प्रयोगबाट दाउरा तथा अन्य इन्धनको खपत घटाउनुका साथै भान्साको धुवाँ कम हुने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र वातावरण संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। चुलो निर्माणका लागि आवश्यक खर, माटो र भुसजस्ता स्थानीय सामग्री सम्बन्धित घरधुरीले नै उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।