बुवा खडानन्द पोख्रेल र आमा साबित्रा पोख्रेलको कोखबाट २०४९ फागुन १८ सुनिलस्मृति गाउँपालिका घोडागाउँ–१ रोल्पामा जन्मिएका डा.शिखर पोखरेलको बाल्यकाल केही दुःख अनि केही सुखसँग बित्यो । अरुले बिताएको बाल्यकाल जस्तो सुखमय भने उनको बाल्यकाल बितेन । बाल्यकालदेखि आमाको प्रेरणाले आयुर्वेद डाक्टर बनेका उनी सुर्खेत स्थित माता मनकामना आयुर्वेद पोलिक्लिनिकका आयुर्वेदिक फिजिसियन हुन् । कुनै बिरामीलाई पैसाको अभावमा उपचार नछुटोस् भनेर आफ्नो तलब कटाएर पनि सेवा दिइरहेका उनै डा.पोखरेलसँग अंगराज परियारले गरेको संघर्ष र सफलताका कुराः
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
मेरो बाल्यकाल र विद्यार्थी जीवन दुःख र संघर्षको छायाँभित्रै बित्यो । अरुले बिताएको बाल्यकाल जस्तो मेरो बाल्यकाल त्यति सहज र सुखमय थिएन । मैले श्री रामेश्वरी माध्यामिक विद्यालय घोडागाउँबाट एक कक्षादेखि १० सम्म पढें । पेशाले बुवा शिक्षक हुनुहुन्थ्यो । तर, रोल्पामा दन्द्धकालको समयमा एक ठाउँबाट अर्को ठाउँ जानु निकै नै चुनौतीपूर्ण थियो । त्रास, भय, र अनिश्चितताले सरकारी विद्यालयमा शिक्षक नै आउन चाहँदैनथे, पढाइ अगाडि बढाउनु नै कठिन थियो । गाउँमा बिजुली बत्ती थिएन, साँझ दियालो बालेर पढ्नुुपथ्र्यो । मंंैले ती दिनहरू सम्झेर हरेक चुनौतीलाई सामना गर्ने हिम्मत जुटाउँछु । मैले जीवनमा अनेकौं गोलचक्करहरू पार गर्दै तितामिठा अनुभवहरू संकलन गरेर अगाडी बढेँ ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जीवनमा के बन्ने भन्ने कुरा कसलाई थाहा हुन्छ र? खासगरी जब म ६ कक्षासम्म पढ्दै थिएँ । त्यसबेला जीवनका ठूला लक्ष्यबारे धेरै सोच्ने ज्ञान थिएन । बाल्यकालमा भविष्यको बाटो पहिल्याउने कुरामा भन्दा पनि वरपरका घटनाहरूबाट सिक्ने कुरा बढी हुन्थ्यो । मेरो लागि, आमाबुवा नै विश्वविद्यालय हुनुहुन्थ्यो—जीवनको पाठशाला उहाँहरूकै व्यवहार र अनुभवबाट सिक्ने अवसर पाएँ । विद्यार्थी जीवनमा मलाई आयुर्वेदिक चिकित्सक बन्ने मन थियो ।
आयुर्वेदिक चिकित्सक बन्ने प्रेरणा कसरी मिल्यो?
त्यो कठिन समयमा औषधि उपचार सहज रूपमा उपलब्ध हुने अवस्था थिएन । जब टाउको दुख्थ्यो, मेरी आमाले निमको पात थिचेर टाउकोमा लगाइदिनुहुन्थ्यो । हात काटिएको बेला दुधे झार लगाइदिनुहुन्थ्यो । म अक्सर सोच्थेँ, यो के लगाइदिनुभएको होला? तर केही समयपछि चोट आफैँ निको हुन्थ्यो । भान्सामा हुने लसुन, मेथी, ज्वानो, अदुवा जस्ता चीजहरूले सामान्य बिरामीहरूलाई सन्चो बनाएको देख्दा मलाई झनै कौतुहलता लाग्थ्यो । त्यसले परम्परागत उपचार पद्धतिप्रति रुचि बढायो । जब मैले आमाबुवासँग सोधेँ यी घरेलु उपचारहरू कहाँ पढाइन्छ? तब उहाँहरूले ‘यो त आयुर्वेद हो, यसको बारेमा अध्ययन गर्न सकिन्छ भन्नुभयो ।’ त्यही दिनदेखि म सोच्न थालें, के म पनि यस विषयमा अध्ययन गरेर मानिसहरूको उपचार गर्न सक्छु? के आयुर्वेद मेरो भविष्य बन्न सक्छ ? सामान्य बाल्यकालीन जिज्ञासाबाट जन्मिएको यो चासो समयसँगै झनै गहिरो बन्दै गयो । जीवनमा आयुर्वेदप्रति झुकाव बढ्न थाल्यो ।
पढाईको यात्रा कस्तो रह्यो ?
२०६५ सालमा एसएलसी पास गरेपछि मैले आफ्नो बाल्यकालदेखि मनमा लागिरहेको आयुर्वेद अध्ययन गर्ने सपनालाई साकार पार्ने निर्णय गरेँ । त्यसैले, पढाइको सिलसिलामा म दाङ झरें । दाङमा जनता विद्यापीठ आयुर्वेद उत्तरमध्यम बिजौरीमा अध्ययन गर्ने अवसर पाएँ । त्यहाँ मैले आयुर्वेदका मौलिक सिद्धान्तहरू बुझ्ने मौका पाएँ ।
जडीबुटीको प्रयोग, प्राकृतिक उपचार पद्धति, र रोग निदानका परम्परागत विधिहरूको बारेमा गहिरो ज्ञान प्राप्त गर्न थालेँ । अध्ययनप्रति मेरो झुकाव झन् बढ्दै गयो, जसले मलाई स्नातक तहसम्म निरन्तर अघि बढ्न प्रेरित गर्यो । मैले केन्द्रीय आयुर्वेद विद्यापीठ, बेलझुन्डी, दाङबाट स्नातक तह पूरा गरेँ । यस यात्रामा मैले आयुर्वेद मात्र होइन, स्वास्थ्य सेवा, मानवीय संवेदना, र प्राकृतिक उपचारको महत्वबारे पनि धेरै कुरा सिक्ने अवसर पाएँ । आयुर्वेद मेरो रुचि मात्र नभएर जीवनको अभिन्न अंश बन्यो ।
जीवनमा सबैभन्दा ठुलो संघर्ष के रह्यो ?
जीवनमा सबैभन्दा ठूलो संघर्ष एउटा सामान्य घरपरिवारको मान्छेले आयुर्वेदिक चिकित्सक बन्नका लागि यो यात्रासम्म आइपुग्दा अनेकन बाधा र संघर्ष पार गर्नुप¥यो । अध्ययन, पारिवारिक जिम्मेवारी, आर्थिक समस्या, समाजको सोचले मलाई हरेक मोडमा परिक्षामा पारिरहे ।
जीवनको अर्को गम्भीर चुनौती विवाहपछि आयो । मैले २०६९ बैसाख १ गते विद्या खड्का संग बिहे गरें । सानै उमेरमा विवाह गरेकाले समाजमा यसले केही गर्न सक्दैन भन्ने जस्ता नकारात्मक दृष्टिकोणले गर्दा मनमा चोट पु¥यायो । अनेकौं संघर्षले गर्दा चिकित्सक पास गरेरै देखाएपछि अहिले समयसँगै समाजको दृष्टिकोण पनि बदलिंदै गएको छ ।
आयुर्वेदिक विधिबाट ठुला रोगको उपचार कसरी सम्भव छ ?
उपचार सम्भव छ । म पाइल्स , फिस्टुला ,फिसरको उपचार आयुर्वेदिक विधिबाट गर्छु । सबैभन्दा यस्ता रोगहरुको परिभाषा जान्न आवश्यक छ । पाइल्स (अर्श) गुदद्वार वरपर वा भित्रका रक्तनलीहरू सुन्निएर गाँठो बनेको अवस्था हो, जसले मल त्याग गर्दा दुखाइ, रगत आउने, वा असजिलो महसुस गराउँछ ।
फिस्टुला (भगन्दर): गुदद्वार र छालाको बाहिरी भागबीच सानो नलीजस्तो बाटो बन्नु हो, जसबाट पस वा दुर्गन्धयुक्त पदार्थ निस्कन सक्छ ।
फिसर (गुदद्वार चिरा): गुदद्वारको भित्री भागमा सानो चिरा वा घाउ पर्ने अवस्था हो, जसले गर्दा मल त्याग गर्दा तीव्र पीडा र रगत आउन सक्छ ।
यस्ता रोगहरुको समाधानका लागि आधुनिक चिकित्सा प्रणालीमा यी रोगहरूको उपचारका लागि प्रायः शल्यक्रिया (सर्जरी) अपनाइन्छ, तर आयुर्वेदमा बिना अपरेशन पनि प्राकृतिक विधिबाट उपचार सम्भव छ ।
आयुर्वेदिक चिकित्सा पद्धतिमा, यी रोगहरूको उपचारका लागि क्षारसूत्र चिकित्सा, जडीबुटी चिकित्सा, आहार–विहार सुधार, तथा पंचकर्म थेरापी जस्ता प्रभावकारी विधिहरू छन् ।
आयुर्वेदिक उपचारका दीर्घकालीन फाइदा के छन् ?
आयुर्वेदिक उपचार अपनाउँदा दीर्घकालीन रूपमा शरीरलाई प्राकृतिक रूपमा निको पार्ने, रोगको जड हटाउने, पाचन प्रणाली सुधार गर्ने, जीवनशैली सन्तुलित बनाउने, पुनः समस्या नदोहोरीने, र बिना साइड इफेक्ट स्थायी समाधान प्राप्त हुने फाइदा हुन्छ ।
युवा पुस्तालाई आयुर्वेदतर्फ आकर्षित गर्न के गर्नुपर्ला?
युवा पुस्तालाई आयुर्वेदतर्फ आकर्षित गर्न, यसको वैज्ञानिक आधार बुझ्नुपर्ने, आधुनिक जीवनशैलीसँग मिलाएर प्रयोग गर्नुपर्ने, अध्ययन–अनुसन्धानलाई प्रवद्र्धन गर्नुपर्ने, र आयुर्वेदलाई केवल उपचार नभई निरोगी जीवनको मार्गका रूपमा अपनाउनुपर्ने सल्लाह दिन्छु ।
भावी योजना के छन् ?
मेरो भावी कार्ययोजना कर्णाली प्रदेशकै नागरिकलाई निरन्तर सेवा गर्ने छ । आउँदो आठ–नौ वर्ष यहाँका गाउँ–गाउँमा पुगेर आयुर्वेदिक उपचारमार्फत जनस्वास्थ्य सुधारमा योगदान दिन चाहन्छु । अति गरिब, निमुखा, राउटे समुदायका लागि निःशुल्क जाँच तथा उपचार जारी राख्नेछु । कुनै बिरामीलाई पैसाको अभावमा उपचार नछुटोस् भन्ने मेरो लक्ष्य हो । सेवा नै मेरो धर्म हो । अर्को योजना भनेको कर्णालीमा भएका जडिबुटी परम्परागत रुपमा गर्दै आएको अभ्यासरत उपचार पद्धतीहरुको अध्ययन अनुसन्धान गरेर केही नयाँ संकल्प गर्ने सोच राखेको छु । यस क्षेत्रमा पाइने जडिबुटीहरुको अध्ययन गरि यसको खोजमुलक अनुसन्धान गरेर अझ प्रभावकारी रुपले ग्रामीण समुदायक नागरिकलाई निशुल्क उपचार गर्ने योजना छ ।
खुलानजर । ५ चैत्र २०८१, बुधबार ०७:१४