सुर्खेतमा गठबन्धन दलका आ-आफ्नै उम्मेदवार : क-कसको पर्‍यो उम्मेदवारी?

सुर्खेत : नेपाली कांग्रेसबाट सुर्खेत वीरेन्द्रनगरको मेयरमा उपेन्द्र खड्का उम्मेदवार बनेका छन्। सोमबार बसेको पार्टीको बैठकले मेयरमा उपेन्द्र खड्कालाई उम्मेदवार बनाएको हो। कांग्रेसबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएकोमा अन्तिममा खड्काको नाम मेयरका लागि पार्टीले उम्मेदवार बनाएको हो। यस्तै, उप–मेयरमा रामकुमारी थापाको नाम टुङ्गाएको हो।

यस्तै विपक्षी दल एमालेबाट वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाल र उप–मेयरमा नीलकण्ठ खनालले उम्मेदवारी दिएका छन्। सोमबार वीरेन्द्रनगर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्।

उनीहरू एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।

ढकाल एमाले केन्द्रीय सदस्य तथा सुर्खेत सह–इन्चार्ज समेत हुन् भने यस अघि वीरेन्द्रनगरको उप–प्रमुख समेत बनेर काम गरिसकेकी हुन्। यस्तै, उप–मेयर खनाल यस अघि वीरेन्द्रनगर नगरपालिका–४ का वडा अध्यक्ष हुन् भने नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष समेत हुन्।

माओवादी केन्द्रबाट मेयरमा राजेन्द्र गिरी र उपमेयर शान्ति ढकाल उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै एकीकृत समाजवादी पार्टीबाट मेयरमा वीरबहादुर रावत र उपमेयरमा धना शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपा मेयरमा मुकुन्दश्याम गिरी र उपमेयरमा लक्ष्मीकुमारी विकले उम्मेदवारी दिएका छन् भने स्वतन्त्रबाट मेयरमा अनिल ढकाल र चिन्तामणि शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन कार्य तालिका अनुसार मनोनयनको अन्तिम दिन गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र एमालेसहित अन्य दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुर्खेतका नौ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिकामा सत्तारुढ दलहरूले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनबाट नगरपालिकाको प्रमुखमा रामबहादुर सिंह र उप–प्रमुखमा प्रतीक्षा विकले उम्मेदवारी दर्ता गराएका छन्, भने एमालेबाट यज्ञप्रसाद ढकाल र उप–प्रमुखमा धनसरा बोहोराको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

गुर्भाकोट नगरपालिकाको प्रमुखमा कांग्रेसबाट हस्त पुन, उप–प्रमुखमा मैना विक तथा एमालेबाट तिलक खत्री प्रमुख र उप–प्रमुखमा सुशीला विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै सिम्ता गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा वीरेन्द्र रावत, उपाध्यक्षमा बालकुमारी पुन तथा एमालेबाट अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्।

लेकवेशी नगरपालिकाको प्रमुखमा कांग्रेसबाट उमेश पौडेल, उपप्रमुखमा लिलमती विक तथा एमालेबाट प्रमुखमा देव राना र विमला खड्लुकको उम्मेदवारी दर्ता भएको छ। चिंगाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट डोरप्रसाद शर्मा, उपाध्यक्षमा मोहनमाया आचार्य, एमालेबाट अध्यक्षमा वोधविक्रम जिसी, उपाध्यक्षमा मिनाकुमारी रोकाय, माओवादीबाट अध्यक्षमा जितबहादुर राना र उपाध्यक्षमा दुर्पटा बफाल पुनमगरको उम्मेदवारी दर्ता भएको छ।

कांग्रेसबाट अध्यक्ष पदमा हरिप्रसाद शर्मा र उपाध्यक्षमा चन्द्रा रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट भीम भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्षमा लक्ष्मी पुनले उम्मेदवारी दर्ता गरेकी छन्। एमालेबाट घनश्याम पाण्डेको उम्मेदवारी दर्ता हुँदा उपाध्यक्षमा दुर्गा विष्टको उम्मेदवारी परेको छ।

माओवादीबाट अध्यक्षमा ईश्वरभक्त सुनार र उपाध्यक्षमा भुमिसरा टमटा उम्मेदवार रहेका छन्। पञ्चपुरीको नगर प्रमुखमा कांग्रेसबाट लालवीर भण्डारी प्रमुख र मुक्तिदेवी पुरीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्। एमालेबाट पञ्चपुरीमा धनबहादुर थापा र दुर्गा रिमाल जैसी प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै माओवादीबाट केशव शाही नगर प्रमुख र उपप्रमुखमा विमला संज्यालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा एमालेबाट हरी अधिकारी र उपाध्यक्षमा निर्मलाकुमारी रानाको मनोनयन दर्ता भएको छ। चौकुनेमा कांग्रेसबाट उपाध्यक्षमा नरबहादुर बास्तोलाको उम्मेदवारी दर्ता भएको छ। चौकुनेमा गठबन्धन दलबिच कुरा नमिल्दा अध्यक्ष पदमा उम्मेदवारी दर्ता हुन सकेको छैन। गठबन्धन गरेर जाने निर्णय भए अनुरूप भागबन्डा मिलाउन कांग्रेसले अध्यक्ष पद छाडेको छ।

अध्यक्ष पद लिने विषयमा माओवादी र समाजवादीमा कुरा नमिल्दा गठबन्धन धरापमा परेको हो। चुनावमा गठबन्धन गरेर जाने की एक्ला एक्लै जाने भन्ने विषयमा कुरा नमिल्दा यो समाचार तयार पार्दासम्म अध्यक्ष पदमा उम्मेदवारी दर्ता भएको छैन।