
सुर्खेत: आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नयाँ नामदर्ता खुला गरेको छ । तर दैलेखमा भने अपेक्षाकृत नयाँ मतदाता थपिएका छैनन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले दैलेखमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त विषयको जानकारी आएको हो ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले सोचेजस्तो मतदाता नआएको बताए । ‘नयाँ मतदाता नाम दर्तामा खुला भएको एक महिना अवधिमा डेढ सय मात्र पुगेको छ, सोचे जस्तो नयाँ मतदाता आएका छैनन्,’ उनले भने, ‘निर्वाचन घोषणापछि अकस्मात नयाँ मतदाता नाम दर्ता खुलेकोले पनि कम मतदाता आएका हुन् ।’
आयोगले नयाँ नाम दर्ता खुलाएको एक महिनामा छिमेकी जिल्ला, जाजरकोटमा १ सय ३७, कालिकोटमा २ सय तीन, सुर्खेतमा ५ सय ७५ र अछाममा ५ सय आठ जना नयाँ मतदाता थपिए पनि तुलनात्मक रुपमा दैलेखमा उत्साह कम देखिएको छ । मतदाता नामालीमा नाम दर्ता गराएहरुले मतदान वाहेक अन्यत्र कतै काम नपर्ने, जिताएर पठाएका जनप्रतिनिधिहरुले विकासका लागि उत्साहपूर्ण काम नगरेको, मनोमानी र पक्षपाती काम गरेको भन्ने निरासाका कारण पनि मतदाताहरु नयाँ नाम दर्ता गराउन इच्छुक नदेखिएको कार्यक्रमका सहभागीहरुले बताए ।
राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, जिल्ला निर्वाचन कार्यालय समेत सरोकारवाला निकायको सहभागिता रहेको छलफल कार्यक्रममा मतदाता स्वयम्मा जागरुकता, स्थानीय तह र राजनीतिक दलहरुको सहजीकरणमा नयाँ मतदाता नाम दर्तामा बृद्धि गराउन पहल गर्ने छलफलको निष्कर्ष निकाले ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष सन्देश श्रेष्ठ, एमालेका यामनारायण उपाध्याय, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य भेषराज थापा, रास्वपाका ऐनबहादुर शाही, नेकपा एसका पृथ्वी केसी, राप्रपाका उपाध्यक्ष रणबहादुर सिंहले राजनीतिक दलहरुले नयाँ मतदाता नामावली दर्ताका लागि थप्न पहल गर्ने बचन दिए ।
नेपाल बारका जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, अधिकारकर्मीहरु सविना बिक, रेशम बिश्वकर्मा, पत्रकारहरु विशाल सुनार, तीर्थ भण्डारी, जेन्जी प्रतिनिधि हिमराज बस्नेत र लोकेश गिरीले समुदायमा मतदाताको महत्व बुझाउन पर्ने आवश्यक औंल्याए ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्यूटर अपरेटर मदन लामिछानेले निर्वाचन आयोगको वेवसाइडमा अनलाइनमा नयाँ मतदाता नाम दर्तामा विवरण भर्ने तरिका, निर्वाचन कार्यालयमा पुगी फोटो खिच्ने र डिजिटल औंठा छाप प्रणाली विषयमा प्रयोगात्मक अभ्यास देखाएका थिए ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष तथा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले कार्यक्रमको सहजीकरण गर्दै कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ता खुला गरेकोले समयमा नाम दर्ता गराउन समुदायका अगुवाहरुले पहल गर्नुपर्ने आग्रह गरे ।
आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर नयाँ मतदाता नामावली दर्तामा अपेक्षाकृत सुस्तता देखिएको छ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मका लागि नाम दर्ता खुला गरे पनि धेरै जिल्लामा नागरिकको चासो न्यून देखिएको छ ।
आयोगका अनुसार अघिल्ला वर्षभन्दा यो पटक उत्साह कम देखिएको छ । विशेष गरी १८–२५ वर्ष उमेर समूहका युवामा नाम दर्ता गर्ने दर घटेको छ । दर्ता प्रणाली अनलाइन हुँदै डिजिटल औंठाछाप र फोटो खिच्नुपर्ने प्रक्रियाले पनि ग्रामीण क्षेत्रमा केही कठिनाइ पु¥याएको आयोगको ठम्याई छ ।
केही ठाउँमा प्रविधिजन्य समस्या र नागरिकमा मतदानप्रति बढ्दो उदासीनता कारण मतदाता दर्ता सुस्त बनेको छ । प्रदेशस्तरमा हेर्दा कर्णालीमा सबैभन्दा कम नयाँ मतदाता थपिएका छन् भने कोशी र बागमती प्रदेशमा तुलनात्मक रूपमा बढी देखिएका छन् । आयोगका तथ्यांक अनुसार, कर्णालीमा एक महिनामा जम्मा २,७ सय नयाँ मतदाता दर्ता भएका छन् ।
राजनीतिक विश्लेषकहरू भने यस अवस्थाको कारण राजनीतिक निराशा र प्रतिनिधिहरुप्रतिको अविश्वास भएको बताउँछन् । ‘जनतामा मतपत्रले मात्र परिवर्तन सम्भव छैन भन्ने सोच बलियो बन्दै गएको छ । हरेक निर्वाचनपछि पनि जनजीवनमा ठोस सुधार नदेखिँदा नयाँ पुस्ता मतदान वा दर्ताप्रति आकर्षित छैनन्,’ नागरिक अगुवा तेजबहादुर रोकाय भन्छन्, ‘सामाजिक सञ्जालमा पनि मतदाता नाम दर्ता अभियानमा सक्रियता कम देखिएको छ ।’ उनका अनुसार आयोगले विभिन्न प्रचार अभियान सञ्चालन गरे पनि विद्यालय, कलेज र स्थानीय तहस्तरमा समन्वय अभावले युवा मतदातासम्म सन्देश नपुगेको देखिन्छ । निर्वाचन आयोगले भने बाँकी दुई हप्ताभित्र स्थानीय तह र नागरिक समाजको सहकार्यमा दर्ता दर बढाउने योजना सार्वजनिक गरेको छ ।

खुलानजर । १५ कार्तिक २०८२, शुक्रबार ०९:२९