कर्णालीमा एमालेभित्र किचलाे, तल्लो तहसम्म पुग्याे गुटबन्दी


सुर्खेत: नेकपा एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठक माघ ५ र ६ गते वीरेन्द्रनगरमा बस्ने योजना बन्यो । जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने बैठकमा आन्तरिक संगठन सुधारलगायतका विषयमा छलफल हुने भनिएपनि विवादका कारण उक्त दिन बैठक बस्न सकेन । सोही दिन ओली मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवन उद्घाटन गरेर काठमाण्डौं फर्किए ।
विवादको मूख्य जड थियो, मंसिर ११ गते एमाले महासचिव शंकर पोखरेलले पठाएको पत्र । उक्त पत्रले कर्णालीमा एमालेभित्र चरम असन्तुष्टि चुलियो ।
प्रत्यक्ष निर्वाचनबाट चुनिएका उम्मेदवारलाई जिम्मेवारीबाट हटाउन पार्टी केन्द्रले गरेको निर्णयलाई लिएर कर्णालीमा ऐमाले नेता, कार्यकर्ताबिच नै मनमुटावको सिर्जना भयो ।
कात्तिक २२  मा सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले १० देखि १५ असोजमा सम्पन्न एमाले प्रथम कर्णाली प्रदेश अधिवेशनबाट उपसचिव पदमा निर्वाचित भएका रमेशकुमार शाहीलाई जिम्मेवारीबाट मुक्त गरी पद्मा खड्कालाई बहाल गर्ने निर्णय गरेको थियो ।
प्रदेश अधिवेशनको पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने खड्कालाई उपसचिव पदमा बहाल गर्ने र शाहीलाई प्रदेश कमिटीमा मनोनीत गने महासचिव पोखरेलले प्रदेश कमिटीलाई लेखेको पत्रमा उल्लेख गरिएको थियो । सोही अनुसार माघ ९ गते खड्काले पदभार ग्रहण गरिन् । तर, प्रदेशकोे असर पार्टीको जिल्ला तहसम्म पुगेको छ ।

जिल्लामा किचलाे बढ्दै
प्रदेश अधिवेशनपछि एमालेकाे गुटबन्दीकाे प्रभाव जिल्लामा समेत पर्न थालेकाे छ । बुधबार मात्रै एमाले सुर्खेत जिल्ला कमिटीको आगामी फागुन ४ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको छ । जिल्ला अध्यक्ष अमृत विसीले अधिवेशन तयारीका लागि गठित सम्पूर्ण समिति र उप समितिहरु समेत विघटन गरेको सूचना जारी गरेका छन् ।


अध्यक्ष विसीले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन् ।
नवौँ अधिवेशनको मिती घोषणा गरिएपनि एमालेभित्र पार्टी साझा तरिकाले नचलेको र गुटबन्दी झाँगिदै गएको अवस्थामा अधिवेशन गर्नुको कुनै औचित्य नरहेको अध्यक्ष सिसीले बताए ।
‘स्थगित भएको अधिवेशनका उपयुक्त समयमा स्थगित अधिवेशनको मिति तोकिने छ । पार्टीभित्र गुटबन्दी झाँगिदै गएपछि यो निर्णय गर्न बाध्य भएको हुँ,’उनले भने, ‘जुन कुरा प्रदेश अधिवेशनदेखि हालसम्मका गतिविधिले पनि प्रष्ट देखाएको छ ।  यसलाई पार्टी शुद्धिकरणको अभियानको रुपमा बुझिदिनुहोला ।’
उनले आठौं जिल्ला अधिवेशनपछि आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित तथा वैज्ञानिक तवरले संचालन गर्न नसकिएको बताउँदै गुटबन्दी गरेर नेतृत्वलाई असफल बनाउने प्रयास भएको आरोप लगाएका छन् ।
‘केहि व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरु भएको छ । जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालिएपछि मैले यो निर्णय गर्न बाध्य भएको हुँ,’उनले भने, ‘कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा देखिएको असहजता विभिन्न कार्यक्रम र बैठक बहिस्कार गरिएका छन् । यसले पनि पार्टीभित्र गुटबन्धी घेरिएको स्पष्ट देख्न सकिन्छ ।’
अध्यक्ष विसीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘पार्टीको ऐतिहासिक अभिभारा पुरा गर्ने क्रममा म स्वयं पार्टीको अध्यक्षको हैसियतले विभिन्न सकटहरुमा सहनसिलता, धैर्यता र पार्टी भित्रका असमतिलाई समेत आत्मसाथ गर्दै जिम्मेवार बनि नेकपा एमालेलाई जनताको पार्टी बनाउन हरदम लागिरहेको तथ्य इतिहासले समिक्षा गर्ने छ । हाल पार्टी कमिटी भित्र संस्थागत गुटबन्दी झाङ्गिएकोे, स्थानीय पार्टी कमिटी संस्थागतरुपमा सञ्चालन नभएको, जनवर्गिय संगठनहरु प्रभावकारी नभएको अवस्था छ । यी विषयवस्तुलाई ठोस ढंगले सम्बोधनका लागि आगामी दिनमा कार्ययोजना बनाई अघि बढ्नुुको विकल्प छैन ।’
अधिवेशन स्थगित गरिएको विषयमा आफुहरु अनविज्ञ भएको जिल्ला उपाध्यक्ष कुलमणि देवकोटाले बताए ।
‘उहाँकै अध्यक्षतामा बैठक बसी अधिवेशन गर्ने मिति तोकिएको हो । अहिले आएर उहाँको व्यक्तिगत स्वार्थबारे हामी अनविञ छौं,’उपाध्यक्ष देवकोटाले भने, ‘उहाँले गरेको यो निर्णय संगठनको हित विपरित छ । त्यसले भोलीका दिनमा उहाँलाई नै समस्या पार्नसक्छ ।’
त्यस्तै जिल्ला सचिव कविन्द्रकमार केसीले एकाएक अधिवेशन स्थगित भएको खबर थाहा पाउँदा अचम्मित भएको बताए ।
‘अध्यक्षज्युले मलाई बुधबार माघ १९ गतेको लागि जिल्ला कमिटीको बैठक बोलाउन भन्नुभएको थियो । सोही अनुसार मैले बैठक बोलाएँ’,सचिव केसीले भने, ‘अब के गर्ने ? भन्ने विषयमा कार्यसमिति र पार्टीको माथिल्लो तहले निर्देशन देला ।’
यसअघि बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति तथा समितिका संयोजकहरु समेत तोकिएको थियो ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखनमा स्वयंम अध्यक्ष विसी संयोजक थिए । प्रतिनिधि व्यवस्थापनमा कुलमणी देवकोटा, प्रचार प्रसार उपसमितिमा गंगाराम तिमिल्सना, आर्थिक व्यवस्थापन उपसमितिमा डम्मर तिवारी र भोजन व्यवस्थापनमा पुर्णबहादुर पौडेल संयोजक रहेका थिए । सुर्खेतमा एमालेका १० हजार ५५८ जना संगठिन सदस्य रहेका छन् ।
कर्णालीका १० जिल्ला मध्ये पुसमा मुगु जिल्ला अधिवेशन भइसकेको छ । त्यहाँ पनि पार्टीका माथिल्लो नेतृत्वले एकलाैटी गरेकाे भन्दै अधिकांश नेताहरूले असन्तुष्ट व्यक्त गरेका छन् । त्यस्तै दैलेखले यहि माघ २८ गतेदेखि जिल्ला अधिवेशनकाे मिति तय गरेकाे छ भन्ने अन्य सात जिल्लामा अझै अधिवेशनकाे टुंगो लागेकाे छैन ।