‘शिक्षा स्वास्थ्य र रोजगारी, चौकुनेको विकास हाम्रो जिम्मेवारी’

 

सुर्खेत: सुर्खेतको पश्चिम चौकुने गाउँपालिकामा नेपाली कांग्रेसले ‘शिक्षा, स्वास्थ्य र रोजगारी, चौकुनेको विकास हाम्रो जिम्मेवारी’ भन्ने नारा लिएर घरदैलोमा पुगेको छ । माओवादीसँग पालिकामा गठबन्धन गरेको कांग्रेसले उपाध्यक्ष पदको लागि पार्टीका पालिका सभापति नर बहादुर बान्तोलालाई उम्मेदवार बनाएको छ ।
अध्यक्षमा माओवादीका खड्क वि.क उम्मेदवार छन् । सोमबार पनि कांग्रेस र माओवादीले चौकुने गाउँपालिका -५ मायाँ तालमा अलग–अलग कार्यक्रम गरेपनि अध्यक्ष र उपाध्यक्षले संयुक्तरुपमा आमसभाको सम्बोधन गरेका छन् । वडामा गठबन्धन नगरेका कारण फरक–फरक आमसभा गर्नुपर्ने अवस्था आएको हो ।
गठबन्धनको संयुक्त आमसभा गरेर चौकुनेमा १० वटै वडामा नागरिकको घरदैलोमा पुगेर आफ्ना चुनावी एजेण्डा बताउँदै आएका उपाध्यक्षका उम्मेदवार बान्तोलाले बताए ।
उनका अनुसार नेपाली कांग्रेस र माओवादीमा एक अर्को पार्टीका कार्यकर्ता प्रवेश नगराउने र अन्य पार्टीबाट आएका कार्यकर्तालाई मात्रै पार्टीमा प्रवेश गराउने निर्णय गरिएको छ ।
एकदुई दिनमा नै संयुक्त घोषणा पत्र निकाली ‘शिक्षा, स्वास्थ्य र रोजगारी, चौकुनेको विकास हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ घरदैलोमा पुग्नेगरी गठबन्धनले तयारी थालेको उनको भनाई छ । चौकुनेका १० वटै वडा गरेर अहिले १५ हजार ७३५ मतदाता छन् ।