मतदानबाट वञ्चित गराइएको भन्दै एमयू मोसुमका विद्यार्थीले दायर गरे अदालतमा रिट


सुर्खेत: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम) का विद्यार्थीले अदालतमा रिट दायर गरेका छन् ।
मंगलबार मोसुममा अध्ययनरत तीन जना विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
उनीहरूले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।
रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका छन् । मोसुममा करिब ४०० विद्यार्थीहरू अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप छ । उनीहरूले अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् ।
रिट दायर भएको र बुधबार मात्रै इजलासमा पेस हुने उच्च अदालत सुर्खेतका सूचना अधिकारी सरोजनिधि वाग्लेले बताए ।
यता विश्व विद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मुसुमलाई स्वतन्त्रता बनाउन निर्देशिका अनुसार उक्त निर्णय भएको बताए ।
‘कसलाई मतदान गर्न दिने नदिे भन्ने विषयको कुरा नै छैन । मुसुम स्वतन्त्ररुपमो एउटा संस्थाभित्रको पनि संस्था हो । उसको निर्देशिकामा नै मतदान गर्न नपाउने कुरा स्पष्ट छ,’उपकुलपति सिंहले भने, ‘सोही अनुसार जानकारी मात्रै गराएको, बाँकी उजुरीको कुरामा कानुन अनुसार अगाडी बढौंला ।’ चैत्र ३ गते स्ववियु निर्वाचनमा मध्यपश्चिम विश्वविद्यालयमा चार हजार २९ जना मतदाता छन् । ६ वटा संघ संगठनले समानुपातिक सुचि पेश गरेका छन् ।