मर्यादित महिनावारीमा जोड

सुर्खेत : मर्यादित महिनावारी प्रवद्र्धनमा स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधबार सामाजिक विकास मन्त्रालयको आयोजना र बराहताल गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको मर्यादित महिनावारी र छाउपडी प्रथा निवारण सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जोड दिएका हुन् ।
१ देखि १० वटा वडाहरुबाट सहभागी स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा, धामी, जैसी, पण्डित, गुरु र पुजारीहरुले मर्यादित महिनावारीलाई जोड दिँदै छाउपडी प्रथाको न्यसनिकरणमा जोड दिएका छन् ।
कर्यक्तममा बोल्दै सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले मर्यादित महिनावारी बनाउन सबै जनप्रतिनिधि र नागरिकहरुको महत्वपुर्ण भूमिका हुने बताए ।
उनले महिनावारी बारे गरिएका गलत टिप्पणी र साृचाइकै कारण धेरै महिला तथा किशोरीहरुले ज्यान गुमाउनु परेको भन्दै त्यसको अन्त्यको लागि सबैले सोच्नुपर्नेमा जोड दिए ।
यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले महिनावारी बारे सकरात्मक ज्ञान बढाई गाउँ समुदायमा लागु गर्न स्थानीय जनप्रतिनिधिलाई अनुरोध गरे । उनले छाउपडी प्रथा अन्त्यका लागि पालिकाले विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिने बताए ।
सामाजिक विकास मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका महाशाखा प्रमुख अनिता ज्ञवालीले सरोकारवालको आवाज नउठेसम्म मर्यादित हुन नसक्ने बताइन् ।
जनज्योति माध्यामिक विद्यालयका प्रध्यानाध्यापक नारायण सिग्देलले छाउलाई सकरात्मकरुपले ब्याख्या गर्दा–गर्दै नकारात्मक तर्फ गएपछि समाजमा असर परेको बताए । उनले छाउपडी विरुद्ध विद्यालयस्तरमै विभिन्न कार्यक्रमहरु ल्याइएको बताए ।
ज्योतिष परिषद्का केन्द्रीय सदस्य शोभाकर अधिकारी शास्त्रमा महिनावारीका विषयमा केही तथ्यहरुबाटै यसको सन्देश सकरात्मक रहेको बताए ।