सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञानलाई समेटेर तयार पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ कार्यान्वयनमा ल्याएको हो ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरले पहिलो चरणमा १ कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरुका लागि हामी र हाम्रो वीरेन्द्रनगर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पाठ्क्रममा नगरपालिकासहित जिल्ला परिचय, भौगोलिक अवस्था, नगरको जनजीवन, मौसम तथा महत्वपूर्ण ऐतिहासिक धार्मिक र पर्यटकीय क्षेत्रहरु समावेश छ ।
नगरभित्रका सबै विद्यालयमाहरुमा लागू गर्नेगरी सामुदायिक विद्यालयहरुमा नगरपालिकाले पाठ्यपुस्तक बुधबारदेखि सामुदायिक विद्यालयमा वितरण गर्न शुरु गरेको छ । स्थानीय जानजागृति प्राथमिक विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी गैरेले पाठ्यक्रम लागू भएसँगै विद्यार्थीहरुमा स्थानीय वस्तुस्थितिको स्पष्ट जानकारी हुने र स्थानीय ज्ञानआर्जनमा टेवा पुग्ने बताइन् ।
‘स्थानीय विषय वस्तु सुन्न र पाठ्यक्रममा भएका विषयमा जानकारी लिँदा यसको प्रभावकारीता बढ्छ,’ गैरेले भनिन्, ‘बालबालिकाहरुले बोलीचालीका क्रममा केही सुनेका र देखेका हुन्छ । अझै कितावमै पढ्दा ज्ञान बढ्छ ।’
समुदायभित्र रहेका व्यक्तिको चाडपर्व, धर्म, संस्कार संस्कृति, प्राकृतिक स्रोत साधन, भूगोल, भाषा, भेषभूषा, पेशा लगायतको दायरमा रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार तथा दायित्व स्थानीय तहलाई समेत सुम्पिएकाले पनि कार्यान्वयनको पाटोमा नगरपालिका लागेको नगरप्रमुख ढकालले बताइन् ।
‘लोकतन्त्रका मूल्यमान्यता अबलम्बन गर्न, असल, उदाहरणीय व्यक्तित्व निर्माण गर्न, मौलिक पहिचान र विविधताप्रति गर्व गर्न लागू गरिएको पाठ्यक्रमले सहयोग पु¥याउने अपेक्षा लिएका छौं,’ उनले भनिन्, ‘विगतमा नैतिक शिक्षा पढ्ने गरेका थियौं तर त्यो छुटेको छ । नैतिक शिक्षा समावेश र किताब सँगसँगै व्यवहारिक ज्ञानलाई पनि कसरी अघि बढाउने भन्ने विषयहरु पाठ्यक्रममा राखेका छौं ।’
नगरपालिकाले तयार गरेको पाठ्यक्रममा प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको र यहाँको प्राकृतिक सांस्कृतिक तथा सम्पदाको संरक्षण र संवद्धनलाई महत्व दिएको नगरपालिकाले जनाएको छ । स्थानीय आवश्यकतालाई केन्द्रीत गरी आधारभूत तहमा अध्ययनरत बालबालिकालाई आफ्नो सामाजिक तथा वातावरणीय परिवेशबारे ज्ञान र सीप परिस्कृत हुनेमा नगरपालिका विश्वस्त छ ।
वीरेन्द्रनगर नगरपालिका भित्र सामुदायिक विद्यालय ६० र संस्थागत विद्यालय ८८ ओटा छन् । हाललाई सामुदायिक विद्यालयमा लागु गर्ने र विस्तारै संस्थागत विद्यालयमा पाठ्यक्रम कार्यान्वयन गर्ने गृहकार्यमा रहेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्माले बताए ।
उनले नगरपालिका एक्लैले मात्रै गर्न नसक्ने भन्ने नीजिसँगको सहकार्यमा पाठ्यपुस्तक छापिने बताए । नगरभत्रिका ८ कक्षासम्मका बालबालिकाहरुका लागि स्थानीय पाठ्यक्रम लागू हुने शर्माको भनाई छ ।
शुरुमा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्म लागू गर्ने र विस्तारै बाँकी कक्षाहरुमा पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य नगरपालिकाको रहेको उनले जनाए ।
सावित्रा विक । ८ भाद्र २०७९, बुधबार २१:३३