हजुरबुवाको सपना पच्छ्याउँदै विशेषज्ञ चिकित्सक बनेका डा. राम!

बुवा धर्मराज बिष्ट र आमा पदम कुमारी बिष्टको कोखबाट २०४५ साल असोज ५ गते दैलेखको डुङ्गेश्वर–२, लाकुरीमा जन्मिएका डा. राम बिष्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले जनकल्याण माध्यमिक विद्यालय, सेर्माकोटबाट २०६२ सालमा माध्यमिक परीक्षा उत्तीर्ण गरे । एचए नेपालगञ्ज पढाई सक्काएपछि चीनको दाली विश्वविद्यालयबाट एमबिबिएस गरे । नेपाल फर्केर नेपालगञ्ज मेडिकल कलेजमा काम गर्दागर्दै एमडी परीक्षामा करिब पाँच हजार प्रतिस्पर्धीमध्ये सोह्र जनाको कोटामा उनले नाम निकाले । हाल डा. बिष्टले वीरेन्द्रनगरमा महिला स्वास्थ्य क्लिनिक खोलेर सेवा दिँदै आएका छन्। कर्णाली क्षेत्रमा स्त्री तथा प्रसूति स्वास्थ्य सुधारमा योगदान पुर्याइरहेका छन् । उनै डा. विष्टसँग  अंगराज परियारले गरेको संघर्ष र सफलताको कुराकानी :

बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झिनुहुन्छ ?
म २०४५ साल असोज ५ गते दैलेख जिल्लाको डुङ्गेश्वर–२, लाकुरीमा जन्मिएको हुँ । मेरो बुवाआमाले सामान्य खेतीपातिको गर्नुहुन्थ्यो । हामी दुई भाइ र दुई बहिनी छौँ । जसमध्ये म जेठो छोरा हुँ । बाल्यकाल दुःख र अभावमै बित्यो। बिहान बेलुका खेतबारीको कामसँगै पढाइलाई निरन्तरता दिनुपर्थ्याे । मैले गाउँकै जनकल्याण माध्यमिक विद्यालय, सेर्माकोटमा कक्षा १० सम्म अध्ययन गरेको हुँ । २०६२ सालमा एसएलसी पास गरेँ ।

विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जीवनमा मलाई कलाकार बन्ने ठूलो रहर थियो । अभिनय गर्ने, पर्दामा देखिने इच्छा थियो । तर समय, परिस्थितिले गर्दा चिकित्सक बनें ।

चिकित्सक बन्ने प्रेरणा कसरी मिल्यो ?
चिकित्सक बन्ने प्रेरणा हजुरबुवाबाट मिल्यो । मैंले एसएलसी पास गरेको देख्ने हजुरबुवाको ठूलो चाहना थियो । उहाँकै छत्रछायामा बसेर पढ्ने मौका मिल्यो । त्यो बेला गाउँमा बिरामी धेरै हुन्थे । उपचार गर्ने मान्छे भेटिँदैनथ्यो । स्वास्थ्यकर्मीको अभावले धेरैको अकालमा ज्यान गुमाउँथे । हजुरबुवाले डाक्टर बन्, गाउँका मानिस बचाउनुपर्यो नाती भन्दै हौसला दिनुहुन्थ्यो । झन जोस जाँगर चल्थ्यो ।

चिकित्सक पढाइको यात्रा कस्तो रह्यो ?
सरकारी विद्यालयबाट पढेर आएको मान्छेका लागि सुरुमा पढाइ निकै गाह्रो भयो । मलाई हजुरबुवाको नाम राख्नुपर्छ भनेर धेरै मेहनत गरें । गाउँबाट आएको हुँदा बेसिक पनि कमजोर नै थियो । कलेजमा देशभरिका जेहेन्दार विद्यार्थीहरू हुन्थे । मैंले आफूलाई कहिल्यै कमजोर ठान्दिनँ । साथीहरूले एकपटक पढेर बुझ्थे । म चार–पाँच पटक पढ्थेँ । अध्ययनको सुरुवाती दिनहरू निकै कठिन थिए। जैविक विषयका जटिल कुरा बुझ्नुपथ्र्यो । लामो समय पढ्नुपथ्र्यो । एमबिबिएस अध्ययनका लागि चीनको दाली विश्वविद्यालया इन्ट्रान्समा नाम निस्कियो । त्यता पनि राम्रे तरिकाले पास गरें । एमबिबिएस अध्ययनपछि नेपाल फर्किएर नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा दुई वर्ष काम गरें । त्यसपछि एमडीको प्रवेश परीक्षा तयारीमा लागें । करिब पाँच हजार प्रतिस्पर्धीमध्ये त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्त्री तथा प्रसूति रोग विषयका लागि छुट्याइएको १६ जनाको कोटामा नाम निकाल्न सफल भएँ । नेशनल मेडिकल कलेजबाट विशेषज्ञ अध्ययन पूरा गर्दै म स्त्री तथा प्रसूति रोग विशेषज्ञ बनेँ ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ किन रोज्नुभयो ?
मैंले स्त्री तथा प्रसूति रोग विशेषज्ञ बन्ने निर्णय सजिलै गरेको होइन। गाउँघरमा हुर्कँदा महिलाहरूले भोग्नुपरेका पीडा मैले नजिकबाट देखेको थिएँ । विशेषगरी कर्णाली क्षेत्रमा महिलासम्बन्धी रोगका लागि विशेषज्ञ चिकित्सकको ठूलो अभाव छ । यही अभावका कारणले मैले स्त्री तथा प्रसूति रोग विषय रोजेँ ।

यो क्षेत्रमा काम गर्दा तपाईंले कुन समस्या बढी देख्नुभयो ?
उपचारका क्रममा सबैभन्दा बढी सेतो पानी बग्ने समस्या बढी छ । त्यो सँगै महिलामा पाठेघरसम्बन्धी समस्या पनि धेरै छ ।

सेतो पानी बग्नुको मुख्य कारण के हो ?
सेतो पानी बग्नु योनी वा पाठेघरमा हुने संक्रमणको कारणले हुन्छ । यसका मुख्य कारण व्यक्तिगत सरसफाइको कमी, महिनावारीको समयमा गडबडी बारम्बार गर्भधारण, कमजोर शरीर अवस्था र कुपोषण, यौनमार्गबाट सर्ने रोगको कारणले बढी देखिन्छ ।

सेतो पानी बग्ने समस्या रोक्न सबैभन्दा पहिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्यो । महिनावारी भएको समयमा सफा कपडा वा प्याड प्रयोग गर्ने , सुरक्षित यौन सम्पर्क गर्ने । लामो समयसम्म भिजेको कपडा नलगाउनु महत्त्वपूर्ण हुन्छ । सबैभन्दा सन्तुलित खानपानको कारणले हुन्छ । यदि समस्या देखा पर्छ भने तुरुन्त स्वास्थ्यकर्मी वा डाक्टरलाई देखाउनु पर्छ। आफैं औषधि प्रयोग गर्नु हानिकारक हुन सक्छ। समयमै उपचार गर्दा यो समस्या सजिलै निको हुन्छ।

पाठेघर खस्ने समस्या किन हुन्छ ?
पाठेघर खस्ने समस्या महिलामा धेरैजसो सुत्केरी पछि, बारम्बार बच्चा जन्माउँदा, गह्रौ भारी बोक्दा वा कमजोर शरीर अवस्थाका कारण देखिन्छ। यो समस्या हुँदा महिलालाई असहजता, तल्लो पेट दुख्नु वा पिसाब रोक्न गाह्रो हुनु जस्ता लक्षण देखिन्छन् ।

कसरी रोक्न सकिन्छ ?
सुत्केरीपछि पर्याप्त आराम गर्नु, भारी काम नगर्नु, शरीर बलियो राख्न पोषणयुक्त खाना खानु, सुरुवाती अवस्थामा व्यायाम र औषधि प्रयोग गर्नु , गम्भीर अवस्थामा डाक्टरको सल्लाहमा शल्यक्रिया गराउनु आवश्यक पर्छ । कर्णाली प्रदेशको महिलामा धेरै सेतो पानी बग्ने, यौनाङ्ग चिलाउने, पाठेघरसम्बन्धी समस्या अत्यधिक मात्रामा छ । हुम्ला, जुम्ला, मुगु, कालीकोट र दैलेखजस्ता जिल्लामा पाठेघर झर्ने तथा अन्य पाठेघरसम्बन्धी रोग धेरै छन् ।

सामाजिक कार्यमा पनि सहभागी हुनुहुन्छ?
मैंले सस्तो लोकप्रियताको लागि मिडियामा कहिलयै आएँन । मैंले चिकित्सा क्षेत्रमा काम गरेको २० बर्ष भयो । सामाजिक सेवामा पनि सक्रिय छु। मैले अहिलेसम्म हजार जनाभन्दा बढी गरिब, विपन्न तथा असहाय बिरामीलाई निशुल्क चेकजाँच गरेको छु। कति बिरामीलाई आफ्नो रगत दिएर शल्यक्रिया समेत सफल गराएको छु । भूकम्पका बेला जाजरकोट अठार दिनसम्म बसेर पीडितहरूको उपचार र सहयोग गरेको अनुभव पनि छ।

भावी योजना के छ ?
मेरो योजना भनेको महिलाहरूलाई रोगबाट मुक्त गराउनको लागि कर्णालीमै रहेर महिलासम्बन्धी रोगको उपचार, जनचेतना अभिवृद्धि र स्वास्थ्य सेवाको पहुँच बढाउने मेरो लक्ष्य छ । कर्णालीमा अझै पनि पर्याप्त मात्रामा विशेषज्ञ चिकित्सक छैनन् । त्यसैले राज्यका जिम्मेवार निकायले चिकित्सकलाई यहाँ टिकाइराख्ने वातावरण बनाइदिनु आवश्यक छ भन्ने मेरो धारणा छ।