मानव अधिकारकाे क्षेत्रमा इन्सेककाे भूमिका महत्त्वपूर्ण : नगर प्रमुख भण्डारी


सुर्खेत : मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा अनाैपचारिक सेवा केन्द्र इनसेककने भूमिका महत्वपुर्ण रहेकाे पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबिर भण्डारीले बताएका छन् ।उनले याे अभियानमा इन्सेकसँग सहकार्य गर्न नगरपालिका तयार रहेकाे जनाएका छन् ।
बाल अधिकार समूहका सदस्यका लागि पञ्चपुरीमा आयोजित बाल अधिकार शिविरको उदघाटन सत्रमा बोल्दै नगरप्रमुख भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन् ।
सशस्त्र द्वन्द्व र जनआन्दोलनका समयमा इन्सेकले खेलेको भूमिका प्रभावकारी भएको भन्दै नगरप्रमुख भण्डारीले प्रंशसा समेत गरे ।
जनआन्दोलनका समयमा इन्सेकले राज्यले गरेको ज्यादतीका विरुद्ध खबरदारी गरेको भन्दै नगरप्रमुख भण्डारीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र जातीय विभेद विरुद्धको अभियानले समाजमा सामाजिक न्याय स्थापित हुने विश्वास व्यक्त गरे ।
आगामी दिनमा नगरपालिकालाई आवश्यक सुझाव प्रदान गर्न नगरप्रमुख भण्डारीले इन्सेकलाई अनुरोध गरे । नगरप्रमुख भण्डारीले मानव अधिकार, बालअधिकार, महिला अधिकार, विभेद र वातावरण संरक्षण सम्बन्धित विषयमा समाजका हरेक व्यक्ति सचेत रहनुपर्नेमा जाेड दिए ।
उनले सचेतना शिविरमा अधिकारका विषयमा मात्र केन्द्रित नभएर कर्तव्य के हो ? भन्ने विषयमा छलफल चलाउनु पर्ने सुझाव दिए

शिविर उद्घाटन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बाल अधिकार समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गराई अभियान संचालन गर्न सक्षम बनाउने उद्देश्यले बाल अधिकार सचेतना शिविर संचालन गरिएको बताए । समुदायमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला अधिकार र जातीय विभेदका विषयमा बाल अधिकार समूहका सदस्यलाई सचेत पार्दै समस्या समाधानका लागि कार्ययोजना बनाउने संयोजक सुवेदीले जानकारी दिए।
कार्यक्रममा विद्याज्योती माध्यामिक विद्दालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर रावलले इन्सेकले मानव अधिकारका विषयमा समय -समयमा सचेत गराउनु पर्ने आवश्यकता औंल्याए ।
पञ्चपुरी मानव अधिकार समूहका सदस्य धनरुपा विकले बालबालिका भनेका भोलिका नेतृत्वमा जाने नेतृत्वकर्मी भएकाले बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा यस शिविरले सहयोग पुर्याउने बताइन् ।

दुई दिनसम्म संचालन हुने शिविरमा इन्सेक अभियान, बाल अधिकारको एतिहासिक विकासक्रम, बाल अधिकार, बालजिम्मेवारी र अभिभावक र शिक्षकको दायित्व, बालबालिका सम्बन्धी ऐन २०४८, लैंगिक हिंसा, महिला तथा विभेद विरुद्धको अधिकार, वातावरण संरक्षण, भित्ते पत्रिका प्रकाशन, कार्ययोजना निर्माण लगायतका विषयमा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, फोकल पर्सन दुर्गा थापा, कार्यक्रम संयोजक किरण पौडेल, प्रद्यानाध्यापक कृष्णप्रसाद सापकोटा लगायतले सहजीकरण गर्नेछन् ।
बाल अधिकार सचेतना शिविर मङ्सिर २७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश मावि पलैटे र विद्याज्योति मावि बाबियाचौरमा गठन गरिएको बाल अधिकार समूहका २६ जना बालबालिका सचेतना शिविरमा सहभागि भएका छन् । शिविरको उद्घाटन सत्रमा दुबै विद्यायल व्यवस्थापन समितिका अध्यक्ष र प्रद्यानाध्यापकको समेत उपस्थिति रहेको छ।