सुर्खेत: संयुक्त राजनीतिक दलित संघर्ष समितिले कर्णालीमा दलितका मागहरु सम्बोधन नगरे कर्णाली प्रदेश सरकार विरुद्ध थप संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिएको छ ।
मंगलबार संयुक्त रुपमा जारी गरिएको ५ बुँदे मागपत्रमा प्रदेश सरकारले विभिन्न मितिमा दलित समुदायसँग गरेको सम्झौता र सहमति तत्काल सम्बोधन नभए संघर्षका थप कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने चेतावनी दिएको हो । सात प्रदेशमध्ये सबैभन्दा बढी दलितको जनसंख्या भएको कर्णालीलाई प्रदेश सरकारले उपेक्षा नगर्न समितिले अनुरोध गरेको छ ।
श्रमजिवी, मेहनेती, ज्ञान, कलाकौशल, सीप र प्रविधिका धनी दलित समुदाय अहिले पनि चरम गरिबी, अशिक्षा, बेरोजगारी, अभाव एवं प्रतिकुल वातावरणमा जीवन धान्न समस्या रहेको मागपत्रमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री दलित आयआर्जन प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, १५ वर्षदेखि निर्माणाधिन प्रादेशिक दलित छात्रावासको निर्माण सम्पन्न गर्न बजेट व्यवस्थापन गर्नुपर्ने, २०८०-०८१ को वार्षिक विकास कार्यक्रममा दलित समुदायका लागि विनियोजन गरेको रकम न्युन रहेकोले तत्काल थप बजेटको व्यवस्था गर्नुपर्ने, कर्णाली योजना आयोगको प्रथम पञ्चवर्षीय योजना अन्तर्गत दलित मूल प्रवाहिकरणका कार्यक्रमलाई प्राथमिकताका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने मागपत्रमा उल्लेख गरिएको छ । त्यस्तै समितिले नै २०८० जेठ ७ गते प्रदेश सरकार र संसदीय दलका नेताहरुलाई २७ बुद्धे ज्ञापनपत्र बुझाइएको समेत स्मरण गराएको छ । संविधानको मूल मर्म र भावनाअनुसार विभिन्न उद्देश्य हाँसिल गर्न प्रदेश सरकारले दलित समुदायको हकअधिकार सुनिश्चित गर्नुपर्ने अपरिहार्य रहेको दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज बसन्तकुमार विश्वकर्माले बताए । उनकाअनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिपक्षी दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मागपत्र बुझाइएको छ ।
मागपत्रमा विश्वकर्मासहित पाँच दलसंग आवद्ध नेताहरुले हस्ताक्षर गरेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव तेज कुमार वि.के. (तोरण), नेपाल दलित मुक्ति मोर्चाका प्रदेश उपाध्यक्ष हिरा बहादुर सुनार र नेपाल दलित संघका जिल्ला अध्यक्ष भिम वहादुर शाही (परियार) र जातीय समता समाजका प्रतिनिधि हिरालाल नेपालीले हस्ताक्षर गरेका छन् । जसको नाम संयुक्त राजनीतिक दलित संघर्ष समिति राखिएको छ ।
खुलानजर । १२ असार २०८०, मंगलवार १९:२४