कर्णालीकाे विकासका लागि सबै दल एकजुट हुनुपर्नेमा जाेड


सुर्खेत: कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेकाे छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने १ जना स्वतत्र र ५ राजनीतिक दलका नेताहरूले बैठकमा आ–आफ्ना दलगत धारणा राखेका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रमुख प्रतिपक्षी भनेको रोग, भोक र गरिबी भएको बताए ।
मुख्यमन्त्री शाहीले कर्णालीको प्रतिपक्षलाई मेटाउन सबै एक भएर अघि बढ्नुपर्ने बताए ।
‘हामी विधायक हौं, हाम्रो काम भनेको राम्रा ऐन कानुन बनाउने हो, हामीले राम्रा ऐन कानुन बनाउन सकेनौँ भने हाम्रो प्रदेशलाई समृद्ध बनाउन सक्दैनौँ’, शाहीले भने, ‘प्रदेशसभा सदस्यहरूले कर्णालीबासीका लागि काम गरेका छन् भन्ने कुरा देखाउने गरी अगाडि बढ्न आवश्यक छ ।’
यस्तै, नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा विगतमा सरकारका क्रियाकलापका कारण प्रदेश संरचनाको औचित्यमाथि जनताले प्रश्न उठाइरहेकाले अबको कार्यकालमा सबै गम्भीर भएर विगतको समीक्षा गर्नुपर्ने बताए ।
‘विकास गर्नेभन्दा पनि खाने प्रचलन कर्णालीमा व्याप्त छ । पाँच वर्ष प्रदेश संरचना चलाउँदा पनि कर्णालीका खराव सूचांकहरूमा सुधार अझै आएन, यसको जिम्मेवारी हामी सबैले धेरै थोरै लिनै पर्छ,` उनले भने ।
त्यसैगरी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले संघीयतालाई बचाउनु सबै सांसदहरुकाे दायित्व रहेको बताए ।
‘व्यवस्था बचाउने सन्दर्भमा हामी सांसदहरूकाे महत्त्वपूर्ण भूमिका रहन्छ,`उनले भने, ` तीनै तहका जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी भएपछि नागरिकलाई सहज हुन्छ ।´
राप्रपाकी सन्तोषी शाहीले संघीयता, धर्मनिरपेक्षता र राज संस्था हटाउन गरिएको गलत निर्णयकै कारण देश अस्थिरतातर्फ धकेलिएको दाबी गर्दै नेपालको पहिचानको रूपमा हिन्दु राष्ट्र र अभिभावकका रुपमा राज संस्थाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरिन् । कर्णालीका नागरिकको सेवा र समग्र प्रदेशको विकासका लागि पार्टीको आँखाले नभई एक ढिक्का भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीकी कल्याणी खड्काले हजारौं शहीदहरूको बलिदानका कारण आएको व्यवस्था जनताको पक्षमा हुनुपर्ने बताइन् । समृद्ध कर्णालीका लागि साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने उनकाे सुझाव छ ।
स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले आफू नेपाली कांग्रेसमा हेपिएको भन्दै जनता नेताप्रतिभन्दा पनि नेता जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।
बैठकले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ११ को उप नियम १ बमोजिम सभामुख र उपसभामुखको अनुस्पस्थितमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि ३ जनाको नाम अनुमोदन गरेको छ । जसमा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, माओवादी केन्द्रका भीमप्रकाश शर्मा र नेकपा एमालेबाट जितबहादुर मल्ल रहेका छन् । आगामी प्रदेशसभा बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।