इन्सेकद्वारा सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र


सुर्खेत: इन्सेक कर्णाली प्रदेशको टोलीले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेललाई फागुन ४ गते ध्यानाकर्ष पत्र बुझाएको छ ।
इन्सेकद्वारा गठित प्रदेश स्तरीय मानव अधिकार सञ्जालको माघ २६ गते बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य, शिक्षा र वातावरणको अधिकारहरु सुनिश्चितताको लागि मन्त्री पोखरेल समक्ष ध्यानाकर्षण पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै मानव अधिकार रक्षक सञ्जालका संयोजक पीताम्बर ढकालले संविधान प्रदत्त अधिकारहरुको सुनिश्चितता गर्न प्रदेश सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले स्थानीय तहमा शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको अधिकारमा देखिएका समस्याहरु समाधान गर्ने प्रमुख दायित्व प्रदेश सरकारको भएको भन्दै उक्त समस्या समाधान गर्न यथासिघ्र कदम चाल्न अनुरोध गरे ।
ध्यानाकर्षण पत्र बुझ्दै सामाजिक विकास मन्त्री पोखरेलले प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने विषयहरुमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताए । उनले शिक्षा, स्वास्थ्य लगायतका विषयमा स्थानीय तहसँग समन्वय गरेर नीति तथा कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा इन्सेकद्वारा गठित प्रदेश स्तरीय मानव अधिकार समूहका पदाधिकारी, इन्सेकका फोकल पर्सन दुर्गा थापा र जिल्ला सहजकर्ता ललिता विकको सहभागिता रहेको थियो ।