सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री बेदराज सिंहले योजना तर्जुमा हुने तर, ती योजना कार्यान्वयन नभएर रकमलाई रकमान्तर गर्नुे कुराकाे अन्त्य गर्ने बताएका छन् ।बुधबार ऋति फाउन्डेसनले कर्णाली प्रदेश सरकारले ल्याउने आगामी बजेलाई लक्षित गर्दै आयोजना गरेकाे प्रि-बजेटमा छलफल कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।
`काम नभएका याेजनाका रकमलाई अब रकमान्तर गरिने छैन । यसअघि याे प्रकिया रहेछ । सम्पन्न हुनेगरी, बस्तुगत रुपमा पहिचान हुने गरी योजना तर्जुमा हुन्छन् ,`उनले भने, `अप्राकृतिक तरिकाले योजना बनाउने, बजेट तर्जुमा गर्ने कुरा मेराे कार्यकालमा हुँदैन ।`

सम्पन्न गर्न नसक्ने योजनाहरु नयाँ बजेटमा समावेश नगर्ने प्रयास रहने उनले बताए । निजी क्षेत्र, सांसदहरु र स्थानीय तहले महत्त्वका साथ प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने गर्नुपर्ने आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखिने उनकाे भनाइ छ ।
यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले निजी क्षेत्रलाई प्राेत्साहन दिने गरि बजेट ल्याउन सुझाव दिए ।
प्रदेश सभा सांसद रणसिंह परियारले सबै क्षेत्रलाई समेट्नेगरी बजेट ल्याउन सके सबैकाे अपनत्व हुने बताए ।
त्यस्तै प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले सरकारले नीतिगत रुपमा कार्यान्वयन गर्न सक्ने याेजना सरकारले ल्याउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा सञ्चार, शिक्षा, स्वास्थ्य र लक्षित समुदायका सहभागीहरुले नागरिक केन्दीत बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
कार्यक्रमकाे सहजिकरण फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गाैतमले गरेका थिए भने अध्यक्षता संस्थाका अध्यक्ष कमलप्रसाद लम्सालले गरेका थिए ।

खुलानजर । १७ जेष्ठ २०८०, बुधबार २१:५२