भ्रष्टाचार विरुद्धको युवा सम्मेलन हुने

सुर्खेत : सोमबार भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेशस्तरीय युवा सम्मेलन आयोजना गर्न थालिएको छ । बास नेपाल कर्णाली प्रदेश समितिले सुर्खेतमा सम्मेलनको आयोजना गरेको हो । यो सम्मेलनलाई ऐतिहासिक युवा सम्मेलन भनिएको छ ।

मुलुकमा भ्रष्टाचारजन्य गतिविधि विकराल बनेको भन्दै यसका विरुद्ध जनचेतना जगाउन सम्मेलन आयोजना गरिएको बास नेपालले जनाएको छ ।

बासका अनुसार कर्णालीका १० जिल्लाबाट पाँच सय बढी युवाहरुको सहभागितामा सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनको प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री जीवन बहादुर शाही, अन्य अतिथिहरु नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटो लगायतको समुपस्थित रहने बासका प्रदेश संयोजक धीरेन्द्रकुमार शाहीले जनाए । सम्मेलनमा कर्णाली प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्थाका प्रमुख एवंम् प्रतिनिधिहरुको सहभागिता हुने छ । सम्मेलनले भ्रष्टाचार विरुद्ध कर्णाली प्रदेश घोषणा पत्र २०७९ जारी गर्नेछ ।

सम्मेलन आयोजनाको व्यवस्थापन खर्च चार लाख २३ हजार हुने अनुमान गरिएको छ । यसका लागि बास नेपालले विभिन्न निकाय र संघसंस्थासँग समन्वय तथा सहकार्य गरी खर्च जुटाएको हो ।

पत्रकार सम्मेलनमा बासका निर्देशक हेमराज भट्टले बासले देश ब्यापी रुपमा गरिरहेको काम, युवा अभियान र कर्णाली प्रदेश सम्मेलनको उद्धेश्यका बिषयमा प्रकाश पारेका थिए । बास सुर्खेत शाखाका निर्वतमान अध्यक्ष जगत जनाला बिकले सहजिकरण गरेको पत्रकार सम्मेलनमा बासका पूर्ब सुर्खेत शाखा अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सचिब दिपक बुढा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, सचिब ललित बुढा लगायत दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।